जेनजी आन्दोलनमा बाल सुधार गृहबाट भागेका युवकले गरे आत्महत्या, बाँधेर बुझाएका थिए आफन्तहरूले

भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २४ गते राती डोटी जिल्लामा रहेको बाल सुधार गृहबाट ५२ जना भागेका थिए । उनीहरु मध्ये एक थिए डोटी बोगटान फुड्सिल गाउँपालिका–७ खतेडीका १८ वर्षीय श्याम बिक ।

श्यामलाई उनका बुवा लालबहादुर , दाइ नाता पर्ने व्यक्ति र अन्य केही आफन्तहरूले शनिवार राती करिब १० बजेतिर प्रहरीको जिम्मा लगाएका थिए ।

गाउँमा हुँदा आफन्तहरूलाई पनि मार्ने धम्की दिने, पटक पटक आत्महत्याको प्रयास गर्न थालेपछि उनलाई आफन्तहरूले छोपी बाँधेर जिल्ला प्रहरी कार्यालय पुराएका थिए । ‘घरमा हुँदा हतियार बोकेर हिँड्ने, परिवारका सदस्यहरू र गाउँलेलाई काटिदिन्छु भन्दै हिँडेका रहेछन्’, बाल सुधार केन्द्रका प्रमुख सानुमाया लिम्बुले भनिन् ‘गाउँमा त्रास फैलिएको रहेछ, त्यसैले आफन्तहरूले छोपेर ल्याए।’

शनिवार अबेर राती भइसकेकाले उनलाई राती प्रहरी कार्यालयकै हिरासतमा राखिएको थियो । आइतबार बिहान करिब ८:३० बजे प्रहरीले उनलाई बाल सुधार गृहमा पु¥याएको सुधार गृह प्रमुख लिम्बु बताउँछिन् । सुधार गृहमा बुझाइएको एक घण्टाकै अवधिमा  श्यामले झुन्डिएर आत्महत्या गरेको लिम्बुले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार श्यामले आफू सुत्ने कोठाको पङ्खा झुन्ड्याउन राखिएको हुकमा डोरीले पासो लगाएका हुन् । सुधार केन्द्रमा डिउटीमा रहेका प्रहरी हवल्दार बिर्ख रोकायाले श्यामलाई झुन्डिएको अवस्थामा भेटेपछि तत्काल पासो काटी उपचारका लागि जिल्ला अस्पताल डोटी पुराएका थिए। चेकजाँच गर्दा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

बाल सुधार गृहकी प्रमुख लिम्बुका अनुसार मृतक श्याममाथी स्थानीय एक किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा एक वर्ष देखि बाल सुधार गृहमा राखिएको थियो । जिल्ला अदालत डोटीले उनीमाथि लागेको कसुर प्रमाणित गर्दै आठ वर्ष सुधार गृहमा राख्न आदेश दिएको थियो ।

५३ जना बालबिज्याइँकर्ता रहेको उक्त बाल सुधार गृहबाट भदौ २४ गते ५२ जना बालबिज्याइँकर्ता भागेका थिए । जसमध्ये पटक–पटक गरेर विक लगायत ३६ जना सुधार गृहमा फर्किएका थिए भने बाँकी १६ जना अझै फरार छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *