
काठमाडौं । जेनजी आन्दोलनका क्रममा केही यस्ता नेताहरूको घर पनि ध्वस्त पारिए, जसले कहिल्यै सत्ताको स्वाद चाखेका छैनन् र भ्रष्टाचारमा मुछिएका छैनन् । तीमध्ये एक हुन् नेकपा माओवादी केन्द्रमा आवद्ध रामनारायण बिडारी ।
रूपचन्द्र विष्टको ‘थाहा’ आन्दोलनका एक उत्पादन हुन् बिडारी, जो ५० वर्षदेखि राजनीतिमा सक्रिय छन् । तर, अहिलेसम्म मन्त्री बनेका छैनन् । मुलत कानुन व्यवसायी हुन् उनी । आफ्नो स्पष्टवादीता र रोचक अभिव्यक्ति शैलीका कारण बेलाबेला चर्चामा आउँछन् । उनका थुप्रै भाषणहरू सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् ।
बिडारी हेटौंडामा रहेको पुख्र्यौली घर बेचेपश्चात काठमाडौंको ढुंगेअड्डामा ०६२ सालमा घर बनाएका थिए । साढे दुई तल्लाको उक्त घर अहिले खण्डहर बनेको छ । अकल्पनीय घटनापछि बिडारीका परिवार तितरबितर भएका छन् । दशैं आएको र गएको उनीहरूलाई मतलब भएन । परिवारका ५ जना सदस्यहरूले लगाएको एकसरो लुगाबाहेक केही पनि बाँकी रहेन ।
जेठ २४ को त्राशदीपूर्ण घटनाक्रम र त्यसपछि सामना गरिरहेको परिस्थितिलाई बिडारीले नेपाल प्रेससँग यसरी वर्णन गरे-
म मकवानपुरको थाहा नगरपालिकास्थित टिस्टुङमा जन्मेको मान्छे । त्यहाँको सबै बेचविखन गरेर पछि हेटौंडामा घर बनाएका थियौं । त्यो घर पनि बेचेर चन्द्रागिरी नगरपालिकाको ढुंगेअड्डामा ०६४ सालमा घर बनायौं । पटकपटक गरेर तला थप्दै साढे दुई तल्ला फिनिसिङ गरिएको हो । जग्गा चाहिँ ५० सालमा नै किनेका थियौं ५० हजार रूपैयाँ आनाको दरले । पुख्र्यौली सम्पत्ति बेचविखन, मेरो लाइफ इन्स्योरेन्सबाट आएको पैसा र मैले वकालत पेशाबाट भएको कमाइ घरमा लगानी भएको छ ।
घरका सरसमान र फर्निचरहरू एक-एक गरी जोड्दै गएको थिएँ । कुनै वर्ष सोफा किनियो, कुनै वर्ष दराज, कुनै वर्ष टिभी किनियो । एउटा लाइब्रेरी पनि बनाएको थियो, जसमा कयौं दुर्लभ किताबहरू थिए । सारा चिज भष्म भए । उनीहरूले ३ घन्टासम्म दनदनी घर जलाउँदा मैले एउटा सियो पनि झिक्न पाइनँ ।

अहिले मेरो देशभरि अन्यत्र कतै पनि घर-जग्गा छैन, यही नै हो । देशभरि के भन्नु, पृथ्वीभरि नै यही हो । आठ कोठाको घरमा म, श्रीमती, छोरा, बुहारी र छोरी गरी ५ जनाको परिवार बस्दै आएका थियौँ । मैले भ्रष्टाचार गरेर घर बनाएको भन्ने ठाउँ नै छैन किनभने म सांसद बनेको ७० सालमा हो । त्योभन्दा ६ वर्ष अगाडि नै घर बनाइसकेको थियौं ।
म कहिल्यै मन्त्री भएको छैन । एउटा सांसदसँग के नै पावर हुन्छ र भ्रष्टाचार गर्न । त्यसमाथि मेरो चरित्र सबैलाई थाहै छ । भ्रष्टाचार गर्न त के सोच्न पनि सक्दिनँ । म सधैँ जनताको मुद्दा बोक्ने, जनमुखी कुरा गर्ने मान्छे हुँ । पार्टीकै कतिपय गलत नीति निर्णयहरूको पनि खुलेर आलोचना गर्न हिच्किचाउँदिन । आवश्यक पर्दा प्रचण्डकै पनि विरोध गरेको छु ।
गलत प्रवृत्तिको विरोध गर्ने क्रममा रवि लामिछानेको पनि विरोध गरेको हो । मैले उहाँलाई कुनै नचाहिँदो लान्छना लगाएको थिइनँ । उहाँमाथि भएको कारवाही राजनीतिक प्रतिसोध वा पूर्वाग्रह होइन भन्ने कुरा मात्रै राखेको थिएँ । पत्रकारले सोध्दा आफ्नो धारणा व्यक्त गरेको न हो । उहाँलाई मैले मुद्दा हालेको होइन । मैले थुनेको होइन । बोलेकै आधारमा ममाथि यसरी हमला हुन सक्छ भन्ने त कल्पना पनि थिएन ।
रास्वपाकै उपसभामुख इन्दिरा रानामगरको विवाद आउँदा मैले उहाँको पक्षमा बोलेको थिएँ । म रास्वपाप्रति पूर्वाग्रही होइन ।
त्यस दिन जे भयो…
त्यस दिन म घरमै थिएँ । हामी ५ जनाको परिवार र एकजना महिला आफन्त पनि हुनुहुन्थ्यो । बिहानै कर्फ्यू लागेपछि बाहिर निस्किने कुरा आएन । मेरो रिङरोड बाहिरको घर भएको हुनाले घरैमा बसिरहेको थिएँ ।
मेरोभन्दा २०० मिटर माथि रमेश लेखकको घर छ । लेखकको घरमा नारा-जुलुस सुरू भयो भन्ने हल्ला आयो । मैले के सोचेँ भने रमेश लेखक त गृहमन्त्री, त्यत्रो बच्चाहरू हिजो मारिएका थिए, उसकोमा नारा लाग्नु ठूलो कुरा होइन । तर, त्यो भिड मेरो घरसम्म आउला भन्ने त कल्पनै थिएन ।
त्यसको पाँच मिनेटपछि नै ५०-६० जनाको एउटा हुल मेरो घरतिर आयो । त्यो हुल थानकोटबाटै बिडारीकहाँ जाने भनेर हिँडेको थियो भन्छन् अहिले मान्छेहरू । बाहिर हल्लाखल्ला भइसकेपछि म उनीहरूसँग बहस नै गर्छु भनेर तल झरेँ । हाफ पाइन्ट र गन्जी मात्रै लगाएको थिएँ । उनीहरूले गेटमा आएर ड्याङ-ड्याङ, डुङडुङ गर्न थाले ।
मेरो श्रीमती, छोरा र छोरीहरूले तपाईं बाहिर नजानुस् भनेर रोके । त्यसपछि घरभित्र मान्छेहरू पसे । एकजना मान्छेले मलाई पाखुरा समातेर ढोकाबाट बाहिर ल्याए र त्यहाँबाट निस्किहाल्न आदेश दिए । तर मसँग आदेश मान्नेबाहेक अरु विकल्प भएन । म हाफपाइन्ट, गन्जी र चप्पल लगाएरै हिँडेँ । मोबाइल पनि बोकेको थिइनँ । अकल्पनीय घटनाले दिमाग नै शून्यजस्तो भएको थियो ।
म गएपछि परिवारका सदस्यलाई पनि पालैपालो बाहिर निकालेछन् । सबैजना तितरबितर भइयो । पाँचजना पाँचतिर । को कता गए भन्ने पत्तो भएन । मैले चाहिँ त्यही टोलमा केही घर पर एकजना छिमेकीकोमा शरण लिएँ । एकछिनपछि घरमा आगो लगाइदिए रे भन्ने सुनेँ । माथि गएर हेर्दा मेरो घरबाट कालो धुवाँको मुस्लो निस्किरहेको देखेँ । एकदम सपनाजस्तो लागिरहेको थियो ।
हामीलाई निकालेर सुरूमा लुटपाट मच्चाएछन् । मेरो, छोरीको, छोराको, बुहारीको ४ वटा ल्यापटपहरू चोरे । मेरो र श्रीमतीको मोबाइल पनि घरमै छुटेको थियो । त्यो पनि लगे । सामान त केही पनि बाँकी राखेनन् । कि लुटे, कि तोडफोड र आगजनी गरेर ध्वस्त पारे । टिभी, वासिङ मेसिन सबै जलाइदिएका छन् । घरको छतमा रहेको पानी ट्यांकीसमेत खसाइदिएछन् ।

घरबाहिर तीनवटा सवारीसधान थिए । एउटा जीप थियो, जुन ऐतिहासिक महत्वको हो । मलाई यो जिप रूपचन्द्र विष्टले दिनुभएको थियो, बनाएर चढ्नु भनेर । तीन चार लाख रूपैयाँ खर्च गरेर बनाएको थिएँ र अहिलेसम्म चढिरहेको थिएँ । अर्को प्राइभेट कार थियो छोराले चढ्ने । छोरा एउटा निजी कम्पनीमा काम गर्छ । उसले किस्ताबन्दीमा विद्युतीय कार किनेको थियो, जुन ध्वस्त भयो । यस्तै, छोरी चढ्ने स्कुटर पनि बाँकी रहेन ।
घरमा एकपटक होइन, तीन-चारपटक फर्की-फर्की आएछन् आक्रमणकारीहरू । मलाई पाखुरामा समातेर निकाल्ने मान्छेलाई चिनेको छु । उनी हाम्रो टोलमा भाडामा बस्ने व्यक्ति रहेछन् । अरु कोही पनि चिनेको छैन । प्रहरीमा कुनै उजुरबाजुर पनि गरिनँ । मेरोमा मात्रै क्षति पुर्याएको भए पो प्रहरी गुहार्नु । मेरो घरलाई किन निशाना बनाएर भनेर अहिलेसम्म पनि अचम्भित छु । आक्रमणकारीले घरमा आएर नारा लगाएको चाहिँ ‘प्रचण्डको दलाल रामनारायण बिडारी मुर्दावाद’ भनेका थिए । अरु केही थिएन ।
त्यस दिन लखेटिएपछि म एक हप्तासम्म बाहिरै लुकेर बसेँ । सुरूमा त परिवारका सदस्यहरू को कता छन् भन्ने पनि थाहा थिएन । मलाई श्रीमतीको नम्बर कन्ठ थियो, तर उनको पनि मोबाइल घरमै छुटेछ । हामी पाँच जना परिवार पाँच आफन्तकहाँ बाँडिएर बसेका थियौँ । धन्न छोराले चैँ मोबाइल बोकेको रहेछ । भोलिपल्ट छोरासँग कुरा भयो । कसैलाई पनि कुटपिट नभएको एकिन भएपछि अलिकति राहत मिल्यो ।
अवस्था साम्य भएसँगै एक हप्तापछि इन्जिनियर पनि लिएर घर हेर्न गएँ । साह्रै विरक्त लाग्यो । इन्जिनियरले रेट्रोफिट गरेर बस्न सकिन्छ भन्नुभएको छ । तर, त्यसको लागि ८० लाखदेखि एक करोड रूपैयाँ लाग्छ रे । प्लास्टर फोरेर वायरिङ गर्नुपर्यो, चौकोस फेर्नुपर्यो, सिसा हाल्नुपर्यो, पल्ला हाल्नुपर्यो, फेरि प्लास्टर गर्नुपर्यो, रङ लाउनुपर्यो । कहिले कसरी गर्ने भनेर सोचेकै छैन ।
दसैँ यत्तिकै बित्यो । टीकाको दिनसम्म म काठमाडौंमै आफन्तकोमा थिएँ । टीका लगाइनँ । त्यही दिन साथीहरूले बरु हेटौंडा जाउँ भने । उनीहरूसित हेटौंडा आइयो । अहिलेसम्म यही एकजना आफन्तकहाँ बसेको छु । छोरी मसितै छिन् । श्रीमती पनि हेटौंडामा आफ्नो माइतीमा छिन् । छोरा-बुहारी र छोरी अर्को आफन्तकहाँ छन् । अब तत्काललाई काठमाडौंमा डेरा खोज्नुपर्ने छ ।
लगाएको गन्जी र हाफपाइन्ट बाहेक केही पनि थिएन । आफन्त र साथीभाइले दिएका लुगाले चलाइएको छ । अहिले दुई जोर लुगा छन् । एउटा सुट पनि आएको छ । अफिसमा एउटा कोट छोडेको रहेछु, त्यो सुरक्षित छ । श्रीमती, छोराछोरीहरूलाई पनि आफन्त र साथीभाइले दिएर चलाइरहेका छन् । के गर्ने, नाङ्गै हिँड्ने कुरो भएन क्यारे।
मलाई एकजना साथीले मोबाइल किनेर दिए, २० हजार रूपैयाँजतिको । पुरानै नम्बरको सिम लिएर चलाउन थालेको छु । दुईवटा मिडियामा अन्तर्वार्ता पनि दिएँ । पत्रकारसित पनि मेरो गुनासो छ । उनीहरूले मसित अन्तर्वार्तामा अनेक अनेक प्रश्न सोध्छन्, जबकि म आफैँ यो आन्दोलनको पीडित हुँ । मैले के अपराध गरेको थिएँ र मेरो घर जल्नुपर्ने ? पत्रकारले यो विषयमा चासो नै दिएनन् ।
घरमा एउटा लाइब्रेरी बनाएको थिएँ । एउटा कोठा पूरै र अर्को कोठामा आधि थियो । त्यो खरानी भयो । सबैभन्दा विरक्त यसमै लागेको छ । धेरै दुर्लभ किताबहरू जम्मा गरेको थिएँ ।
मैले त खासमा जेनजी आन्दोलनलाई समर्थन गरेको थिएँ । २३ गते जुन घटना घट्यो नि बानेश्वरमा, १९ जना निर्दोष बाबुहरू मारिए । त्यसको विरोधमा मैले २३ गते बेलुकै स्टेटमेन्ट दिएको थिएँ । जाँचबुझ आयोग गठन गरेर तत्काल यिनीहरूमाथि कारबाही गरियोस् भनेको हो । अहिलेको सरकारले आयोग गठन गर्ने, छानबिन गर्ने भनेको छ । त्यो मैले २३ गते नै भनेको हो । र, पनि मलाई टार्गेट गरे ।
पञ्चायतकालदेखि संविधानसभासम्म
म पञ्चायतकालदेखि राजनीति गरेर आएको मान्छे हो । २०३१ सालबाट मैले राजनीति सुरू गरेँ । ०३८ सालमा म रूपचन्द्र विष्टलाई समर्थन गर्दै पञ्चायती संविधान बदल्नुपर्छ, संविधान सभाबाट संविधान बन्नुपर्छ भनेर नारा लगाएँ । ४० सालमा थाहा आन्दोलनका तर्फबाट आफैँ चुनाव लडेँ, मकवानपुरबाट राष्ट्रिय पञ्चायत सभामा । म दोस्रो भएँ, त्यो हिरण्यलाल श्रेष्ठले जिते ।
४८ सालमा एकता केन्द्रमा ज्वाइन भएँ, जतिबेला प्रचण्ड महासचिव थिए । ५१ सालमा महोत्तरीको क्षेत्र नम्बर १, अहिले गिरिराजमणिले चुनाव जित्ने ठाउँबाट लडेँ । माओवादी जनयुद्ध सुरू भएपछि मैले त्यसलाई समर्थन र सहयोग गरेँ । म जनयुद्धमा प्रत्येक्ष लागिनँ, तर मानवअधिकारवादीको रूपमा सहयोग गरेँ । मेरो सक्रियता चाहिँ कानून व्यवसायमै थियो । ६४ सालमा आएर म औपचारिकरूपमा माओवादीमा ज्वाइन भएको हो ।
७० सालमा म माओवादीबाट संविधान सभाको सदस्य भएँ । ७४ सालमा राष्ट्रियसभाको सदस्य भएँ, राष्ट्रपतिबाट मनोनीत भएर । २०७८ सालमा मेरो कार्यकाल सकियो । त्यसपछि कुनै पनि पदमा छैन ।
मलाई लागेको चाहिँ अपराध सत्तामा बस्ने, ठूला नेताले गरे होलान् । हामीजस्ता इमान्दार मान्छे पनि पीडित भयौँ । राम नारायण बिडारीलाई यस्तो गर्नुपर्ने कारण के हो त भन्ने भन्ने प्रश्नको उत्तर पाएको छैन ।
अब चाँडै डेरामा सर्नुपर्ला । धेरै भाडा तिर्न सक्दिनँ, ठिक्कको । खोजी पनि रहेका छन् ।
मेरो घरसँगै सानो दुई कोठाको घर पनि थियो, जहाँ सहयोगीहरू बस्थे । त्यसमा चाहिँ कम क्षति भएको रहेछ । तीन चार लाख खर्च गरेर बस्नयोग्य बनाउन सकिने रहेछ । त्यही दुई कोठामा बस्ने कि भन्ने कुरा पनि भइरहेको छ । कतैबाट क्षतिपूर्तिको आशा छैन । दुई चार लाख जुगाड होला बैंकमा । त्यसैले काम चलाउँदै गर्छु ।
मलाई पार्टीसित पनि गुनासो छ । पार्टीबाट अहिलेसम्म कसैले पनि एक शब्द सोधेको छैन, के कति क्षति भयो भनेर प्रचण्डले एकपटक फोन गर्नुभएको थियो, तर अर्कै कामले । उहाँले लगाउनुभएको काम मैले गर्दिनँ भनिदिएँ । अहिलेको सरकारका सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङ सबैसँग राम्रो सम्बन्ध थियो । कुलमानको त म वकिलै हो । उहाँहरूले पनि कुनै खोजीनिती गर्नुभएको छैन ।

Leave a Reply