Gen-Z मुभमेन्ट अलायन्सका नाममा अख्तियारमा दबाब पत्रः राजीनामा दिइहाल्नू

काठमाडौं । जेन-जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूलाई तत्काल राजीनामा दिन भनेको छ । राईको निष्पक्षतामाथि प्रश्न उठाउँदै इमेलमार्फत् राजीनामाका लागि दबाबमूलक पत्र पठाइएको हो ।

जेनजी मुभमेन्ट अलायन्सले सार्वजनिक गरेको विज्ञाप्तिमा भनिएको छ, ‘हाम्रो प्रारम्भिक अध्ययनमा देखिए अनुसार माननीय प्रेमकुमार ज्युका निम्नलिखित प्रकरणमा प्रत्यक्ष वा नियमाकीय अधिकारीको रूपमा संलग्नताका कारण हाम्रो राजीनामाको मागलाई अझै गम्भीर बनाएको छ- नेपाल आयल निगमको जग्गा खरीद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरीद प्रकरण ।’

साथै आयोगका प्रमुख लगायत आयुक्तहरूलाई निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर संघीय सांसद नभएका कारण सम्पूर्ण आयुक्तको पदलाई रिक्त बनाउन राजीनामा अति आवश्यक रहेको जनाइएको छ ।

‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन्,’ पत्रमा भनिएको छ ।

आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइबिना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको उनीहरूमाथि आरोप छ ।

नयाँ नियुक्तिहरू पहुँचवालाको बन्द सूचीबाट होइन, सबै योग्य र सक्षम नागरिकको खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने पनि उल्लेख गरिएको छ ।

जेन-जी मुभमेन्ट अलायन्सले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरेको राजीनामा माग पूरा नभए भोलि असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे अन्य कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी समेत दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *