
काठमाडौं । आज रिपोर्टस क्लब नेपालमा जेनजी आन्दोलनका घाइतेहरूले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा बोलेकाहरूको एउटै माग थियो- आफूहरूले न्याय पाउनुपर्ने, छाती र टाउकोमा ताकी ताकी गोली हान्नेहरूलाई कारबाहीको दायरामा आउनुपर्ने ।
पत्रकार सम्मेलनमा छातीमा गोली खाएका दोलखा, जिरीका समीर खत्रीले आफ्नो माग खुलस्त रूपले राखे । उनले भने, ‘हामी मर्नलाई मात्रै आन्दोलनमा होमिएका थिएनौं । हामी यो अन्तरिम सरकार बनाउनलाई मात्रै आन्दोलनमा होमिएका थिएनौं । हामी त भ्रष्टाचार जरैदेखि अन्त्य होस् भनेर गएका थियौं ।’
खत्री यतिमा मात्रै रोकिएनन् । छातीमा गोलीले बनाएको घाउ देखाउँदै आक्रोशित बनेका खत्रीले सरकारले गोली हान्नेहरुलाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
खत्रीले बोलेलगत्तै पोडिएममा आइपुगेकी उनकी आमा एकछिन भावुक बनिन् । आफूले ज्यामी काम गरेर, महिनाको सात हजार भाडा तिरिदिएर छोरालाई काठमाडौंमा साइन्स पढाएको बताइन् । छोरा घाइते भएपछि छोराको साथीहरुबाट पाएको दुई पाँच हजार पैसाले उपचार गरेको बताइन् । जोरपाटी, नारायणटारस्थित अपांग अस्पतालले १५ हजार बुझाए पनि ४५ रूपैयाँ तिर्न नसक्दा बील नबनाइदिइको बताइन् । यसपछि केएमसी अस्पतालमा समीर खत्रीलाई लग्दा त्यहाँ अप्रेसन गर्न ९० हजार जम्मा गर्न नसकेपछि ट्रमा सेन्टर लगेको बताइन् । ट्रमा सेन्टरमा भने नि:शुल्क उपचार भएको बताइन् ।

‘सबैलाई छाती र टाउकोमा गोली हानिएको छ । त्यतातिर गोली नहानेर खुट्टातिर हानिदिएको भए धेरै बा-आमाले आफ्नो सन्तानको मुख हेर्न पाउँथे । मेरो छोराको छातीमा स्टिल राखिएको छ । तर अझै पनि आन्दोलनमा जान्छु भन्दैछ,’ खत्रीकी आमाले भनिन्, ‘उसले त्यसै गोली खाएको होइन । गोली हान्नेलाई कारबाही हुनुपर्यो । देश बन्नुपर्यो । मेरा छोराहरूले त्यसै रगत बगाएका होइनन् । यदि न्याय मिलेन भने म पनि लड्नेछु । लड्न जानेछु । कसैलाई छाड्ने छैन ।’
टाउकोमा गोलीका छर्रा लागेका अर्का घाइते (नाम चाहिँ भनेनन्) ले यो पुरानै व्यवस्था भयो, टाउको मात्रै चेन्ज भएको बताए । उनले भने, ‘घाइतेहरूलाई प्रयोग गरेर अवसर खोज्नेहरू खबरदार ! हामी आफ्नै समिति बनाउँछौं । हामी आफ्नै सल्लाहकार राख्छौं ।’
प्रहरीको गोलीले एउटा आँखा नै गुमाएका सुयोग राईले पनि गोली हान्नेहरुलाई चाँडोभन्दा चाँडो कारबाही हुनुपर्ने बताए । कसले टाउकोमा ताकेर गोली हानेको हो, उसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने राईको माग छ । उनी वैदेशिक रोजगारीका लागि विदेश गएर आएका थिए । र, फेरि जान लागेका थिए ।
त्यस्तै संसद भवन अगाडि चारवटा गोली लागेका सर्लाहीको सन्जय पौडेलले भने, ‘सबैले धमिलो पानीमा माछा मार्न खोजिरहेका छन् । यो कुराले एकदमै निराश बनाउँछ । हाम्रो त बोनसको जिन्दगी हो यो । आज हामीलाई नै सबैतिरबाट बेवास्ता गरिँदैछ ।’
गत भदौ २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा ७६ जना शहीद भएका थिए भने सयौँ घाइते भएका थिए । उक्त आन्दोलनको जगमा अहिलेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको छ । यो सरकराले फागुन २१ गते चुनाव घोषणा गरेको छ ।

Leave a Reply