पहिराले कारागार सहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा

किमाथाङ्का । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछि को बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ ।

शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले जोखिम बनाएको उनले बताए ।

पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उनको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ । पहिरोका कारण चैनपुर नगरपालिका-६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

त्यस्तैगरी चैनपुर-३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ । आइतबार दिउँसो आएको वर्षाका कारण ढुङ्गामाटोले बनेको तेञ्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको उनले बताए । ती परिवारलाई अन्यत्र सारिएको छ ।

भोटखोला सडक अवरुद्ध

पहिरोका कारण सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर-दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । उत्तर-दक्षिण सडक खण्डको मकालु गाउँपालिका-३ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगसम्बन्ध सम्पर्क टुटेको छ ।

त्यस्तैगरी पहिरोका कारण उत्तर दक्षिण कोशी सडक खण्डका केही स्थानमा अझै पहिरोले अवरोध भएका कारण जिल्ला बाहिर जाने लामो दुरीका यातायात सञ्चालनमा रोक लगाइएको छ ।

माथिल्लो क्षेत्रमा लगातर ठूलो वर्षा भइरहेको र अरुण नदीका बेसिन खतराको तहपार गरेको अवस्था रहेको र अझै बढ्ने खतरा भएका कारण जिल्ला बाहिर तथा जिल्लाभित्रका ग्रामीण सडक खण्डमा यातायात सञ्चालनमा रोकलगाइएको निमित्त प्रहरी प्रमुख लामिछानले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *