
रुपन्देही । बाँकेका विभिन्न स्थानमा हिजोदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी रहेको छ । बडादशैँको दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले बाँकेमा निषेधाज्ञा जारी गरेको थियो ।
स्थानीय प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ। शान्ति, सुरक्षा र धार्मिक सद्भाव कायम गर्न सहयोग गर्न समेत कार्यालयले अनुरोध गरेको छ । विगतका वर्षहरूमा पनि दुर्गा मूर्ति विसर्जन गर्दा झडपको अवस्था सृजना हुने गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार साँझ ७ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जारी सूचनामा उल्लेख छ । जोशीले दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा हिन्दू र मुस्लिम समुदायबीच झैझगडा भएका कारण निषेधाज्ञा जारी गर्नुपरेको बताएका छन् ।
स्थानीय प्रशासनले डुडुवा गाउँपालिका–६, नेपालगञ्ज उपमहानगरपालिका १४, १५ र २३ तथा नरैनापुर गाउँपालिका ५ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा लागू भएका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, जुलुस वा र्याली गर्न, धर्ना, सभासमारोह गर्न, हतियार बोक्न र उच्छृङ्खल गतिविधि गर्न निषेध गरिएको छ ।

Leave a Reply