
विराटनगर । लगातारको वर्षासँगै सुनसरी, मोरङ र झापामा सयौँ परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण स्थानीय खोलाहरूमा आएको बाढी र कटानका कारण जनजीवन प्रभावित बनेको छ।
मोरङको विराटनगर-१२ स्थित सम्पन्न बस्तीका ७५ घरका करिब ३५० जना बासिन्दा बखरी आ वि दरैया आ वि तथा नयाँ फ्याक्ट्री क्षेत्रमा स्थानान्तरण गरिएको छ। यस्तै, विराटनगर-२ पूर्व सिङ्गिया खोलाको पानी पस्दा ३० देखि ३५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै, विराटनगर-५ केशलिया ढाट सङ्करवारि टोलमा केशलिया खोलाको पानी पस्दा २० देखि २५ घरधुरी प्रभावित भई स्थानान्तरणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
उनका अनुसार, सुनवर्षी-६ मा बक्राहा खोलाको तटबन्ध मर्मत कार्य जारी रहेको छ भने, सुनवर्शी-३ बाहुनटोलमा सोही खोलाको बाँध कटान हुँदा-६० घरधुरीमा पानी पसेको जानकारी प्राप्त भएको छ।
उर्लाबारी-९ बोर्डर लाइन क्षेत्रमा रतुवा खोलाको पानी पस्दा २० घरका बासिन्दा नजिकैका छिमेकीका घरमा अस्थायी रूपमा स्थानान्तरण गरिएको छ।स्थानीय प्रशासन र विपद् व्यवस्थापन समिति प्रभावित क्षेत्रमा राहत, उद्धार र मर्मत कार्यमा जुटिरहेको जनाएको उनले जानकारी दिए।
झापामा ५ सय विस्थापित
अविरल वर्षाको कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माई खोला पसेको छ । बाढी गाउँ पस्दा दुई पालिकाका करिब ५ सय विस्थापित भएको प्रहरीले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर २ सुगा बथानमा बाढी गाउँ पसेको छ। माई खोला गाउँ पस्दा ५६ घर विस्थापित भएका छन् ।
उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा स्थानान्तरण गरी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर १, ६ र ७ मा बाढी गाउँ पसेको छ । दर्जनौँ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ मा समेत करिब ३५० घरमा बाढी पसेको छ । प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै भद्रपुर नगरपालिका वडा नम्बर ६ मा २५ घर डुबानमा परेकाहरूलाई आफन्तहरूले सुरक्षित सारेका छन् ।
सुनसरीमा पनि बाढी र कटानका कारण सयौँ परिवार प्रभावित भएका छन् । भोक्राह नरसिंह गाउँपालिकामा सुनसरी खोला गाउँ पसेको छ । तटबन्ध भत्काएर खोला गाउँ पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका छन् । यस्तै इटहरी उप महानगर क्षेत्रमा पनि ठाउँ ठाउँमा ट्याङ्ग्रा खोलाको पानी घरमा पसेको छ ।

Leave a Reply