
विराटनगर । अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर खण्डमा सडक अवरुद्ध भएको छ । मूल सडकमा रहेको डाइभर्सन बगाएपछि सवारी साधनहरू वैकल्पिक मार्गबाट सञ्चालन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, असोज १९ गते राति परेको अविरल वर्षाका कारण सडकमा ठाउँ ठाउँमा क्षति पुगेको छ ।
मेचीनगर नगरपालिका वडा नं ६, स्थित कालिखोलामा रहेको कल्भर्टको ह्युम पाइपमाथि सडकसम्म बाढी पसेका कारण बाटो बन्द भएको छ । यस रुटबाट सञ्चालन हुने सवारी साधनहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।
अब सवारी साधनहरू मेचीनगर नगरपालिका वडा नं ७, इट्टा भट्टा, भृकुटी हुँदै वडा नं ५ को नकलबन्दा तथा इट्टा भट्टा हुँदै सोही वडाको ७ नम्बर वडामा पर्ने ज्यामिरगढीको रुटबाट गरिएको छ ।
त्यसै गरी शिवसताक्षी नगरपालिका वडा नं १० स्थित सुकुना खोलामा राखिएको ह्युम पाइपलाई खोलामा आएको पानीले कटान गरी बाटो बन्द गरेको छ । यस रुटमा चल्ने सवारी साधनहरूलाई शिवसताक्षी नगरपालिका वडा नं ९ हुँदै वडा नं १० माइधार निस्किने गरी वैकल्पिक बाटोबाट सञ्चालन गरिएको छ ।
यसैगरी ठाउँ ठाउँमा खसेका पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । यस्तै धरान धनकुटा सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । सो सडकको ठाउँ ठाउँमा सडक परिएको छ ।

Leave a Reply