ओली परिवारका ८ घर जलाइएको विवरण दिँदै सूर्य थापाको टिप्पणी : जल्लादले राष्ट्रिय सम्पत्ति खरानी पारे

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले जेनजी आन्दोलनका क्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित ८ वटा घर जलाइएको बिवरण दिएका छन् । आततायी जल्लादहरूले राष्ट्रिय सम्पत्ति खरानी पारेको उनको टिप्पणी छ।

आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उनले ओली र उनकी पत्नी राधिका शाक्यको पदचापसम्म मेटाउन खोजिएको बताएका छन् ।

ओलीको घरमा आगजनी गर्न नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा स्वयं बालकोटस्थित निवासमा पुगेको उल्लेख गर्दै उनले क्षति ओलीको निजी सम्पत्तिमा भयो कि राष्ट्रिय सम्पत्ति ? भन्दै प्रश्न गरेका छन् ।

यी हुन् थापाले सार्वजनिक गरेका विवरण :

१) आठराई गाउँपालिका -४ ईवा, तेह्रथुमस्थित जन्मघर, जो उहाँले बिक्री भएको लामो समयपछि फिर्ता गरेर ट्रष्टअन्तर्गत रख्नुभएको थियो ।

२) दमक-५ स्थित रोमनाथ ओलीको घर, जहाँ उहाँ झापा आउजाउ गर्दा बस्नुहुन्थ्यो, एउटा कोठा उहाँको लागि थियो, पछिल्लो समय त्यहाँ ठाउँ अपुग भएर बस्नुहुन्नथ्यो ।

३) दमक-९ स्थित भाडामा लिएको घर, जहाँ उहाँ पछिल्लो समय झापा जाँदा बस्ने गर्नुहुन्थ्यो ।

४) कचनकेचल गाउँपालिका, पृथ्वीनगर हिमालीस्थित भाइको घर, जहाँ उहाँ अहिलेसम्म एक रात पनि बस्नुभएको छैन, ९६ बर्षीय बुबा प्रायस त्यहाँ भाइसँग बस्नुहुन्थ्यो ।

५) सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित मूलघर, जो उहाँकी श्रीमती राधिका शाक्यले जीवनभरिको कमाइ लगाएर बनाउनुभएको थियो ।

६) बालकोटस्थित भेटघाट घर, जो उहाँ पार्टी अध्यक्ष हुनुभएपछि भेटघाट व्यवस्थित गर्न बनाउनुभएको थियो ।

७) बालकोटस्थित पुस्तकालय घर, जो उहाँकी श्रीमती राधिका शाक्यले ठूलो मेहेनतका साथ बनाउनुभएको थियो ।

८) बालकोटस्थित सुरक्षाकर्मी बस्ने घर, जो उहाँ प्रधानमन्त्री भएर घर फर्किनुभएपछि बनाउनुभएको थियो।

क्रमसंख्या १, ६, ७ र ८ का घर र जग्गा सबै केपी शर्मा ओलीले नेपाल ट्रस्टलाई प्रदान गरी आफ्नो शेषपछि राष्ट्रको सम्पत्ति हुने कुरा समेत उनले स्टाटसमा उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *