दशैं मनाउन गाउँ गएकाहरूको घरमा श्रृंखलावद्ध चोरी

रुपन्देही । दशैंको मौकाछोपी बुटवलमा दिनहुँजसो घर तोडफोड गरी चोरी भइरहेपछि बिदामा परिवारसहित गाउँमा बस्न गएका स्थानीयहरु छिटो फर्कन बाध्य भएका छन्। दशैं मनाउन बजारको घरमा ताला लगाएर हिँडेका घरहरुको पहिचान गरेर चोरी भएकाले उनीहरु केही टीका नै नलगाई फर्किए भने केही टीकाकै दिन फर्केका छन्। परिवारसहित जन्मगाउँ गएकाहरुको घरमा चोर पसेर तोडफोड गरेपछि उनीहरुको लाखौँको क्षति त भएको छ नै अब सुरक्षा कसरी भन्नेमा त्रसित छन् । तोडफोड गरेर घरभित्र भएका सुनका गरगहना, नगद, ल्यापटप र अन्य जिन्सी सामानहरु चोरी भएको पीडितहरुले बताएका छन् ।

बुटवल १९ मिलन टोल घर भएका केशरराज क्षेत्री दशैं अगाडि नै पूर्णिमासम्म बस्नेगरी प्यूठान घर गएका थिए तर उनको घरमा अष्टमीकै दिनमा चोरी भयो । भाडामा बस्नेहरु पनि गाउँमा गएका थिए । तीन तलाको घरमा कोही थिएनन् ।  उनको घर फोडेर तेस्रो तलामा रहेको दुई ल्यापटप र केही नगद चोरी भयो । घरमा रहेका सबै कोठाको ताला फोडिएको अवस्थामा छिमेकीले सूचना दिएपछि उनी तत्काल बुटवल फर्केका छन् ।

‘गाउँमा पूर्णिमासम्म बस्ने भनेर गएको थिएँ तर चोरी भएपछि तत्काल फर्किनुपर्‍यो, यो पेशेबर लुटेरा नै हो, प्रहरीलाई सूचना दिन सक्नेगरी अब सबै घरमा क्यामेरा राख्ने र टोल समिति सक्रिय हुनुको विकल्प छैन’ उनले भने ।

बुटवल उपमहानगरपालिका–१४ स्थित मोतीगञ्जका ५२ वर्षीय डिल्ली पोख्रेल पनि परिवारसहित अर्घाखाँचीको मालारानी गाउँपालिका–४ खनस्थित पुर्ख्यौली घरमा पुगेका थिए । उनको घरमा दशैँको दिन चोरी भएको सूचना छिमेकीले सुनाए । तोडफोड गरेर सुनका गहना र नगद चोरी भएपछि उनी अर्को दिन नै बुटवल फर्केका छन् ।

‘टिका लगाउन सपरिवार पहाड गएका थियौँ, राम्रोसंग दशैँ मनाउन नपाउँदै घरमा चोरी भएको खबर आएपछि बुटवल फर्किएँ ।’ उनले भने ‘घर तोडफोड गरी औँठी र तिलहरी गरी ढाई तोला सुन र बुवाले बाकसमा बचत गरेर राखेको दुई लाख ३५ हजार रुपैयाँ नगद चोरी भएको छ, समान चोरीसँगै अब सुरक्षाको चिन्ता बढायो ।’

पोखरेल घरको तल्लो तलामा फ्ल्याट भाडा लिएर बस्दै आएका पर्वतको पैँयु गाउँपालिका–१ का सन्तु भुसालको कोठाबाट पनि ४० हजार रुपैयाँ नगद चोरी भएको छ । पोख्रेलकी छिमेकी ज्ञानु गौतमको घरबाट पनि नगद ४० हजार रुपैयाँ घर तोडफोड गरेर चोरी भएको पीडित गौतमले गुनासो गरिन् ।  बुटवल उपमहानगरपालिका–१२ ढवाह निवासी रिता पौडेल अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित किमडाँडा पकलेमा दशैंको टिका लगाउन गएकी थिइन् । उनी गाउँमा भएको समयमा यता घरमा चोरी भएको छ।

उनको घरबाट ९ तोला सुन चोरी भएको छ । पौडेल सुत्ने कोठामा रहेको दराज फोरेर सुन चोरी भएको सतगढी टोल विकास संस्था ढवाहका अध्यक्ष योगेन्द्र छन्त्यालले जानकारी दिए । उनका अनुसार त्यो टोलमा एकै दिन चारवटा घर तोडफोड गरेर चोरी भएकाले एउटै चोरले चोरेको आशङ्का भएपनि पहिचान भएको छैन ।

छन्त्यालका अनुसार बुटवल १२ ढवाहकै मनु पाण्डेको घर तोडफोड गरेर १५ हजार नगद चोरी भएको छ । डेढ तलाको उनको घरको ढोकाको सवै चाबी फोरिएका छन् । दशैँको टिका लगाउन अर्घाखाँची गएका सोही ठाउँका स्थानीय टोपलाल भुसालको घरमा पनि तोडफोड भएको छ ।

ढवाहकै स्थानीय पंकज चुँदालीको घरमा तोडफोड भएको छ । नेपाल प्रहरीका प्रहरी निरीक्षकसमेत रहेका चुँदालीको परिवार दशैँ मनाउन पहाड घर अर्घाखाँची सन्धिखर्क गएका थिए । उनी कपिलवस्तुको गोरुसिंगेस्थित ट्राफिक प्रहरी कार्यालयमा ड्युटीमा भएको मौका छोपेर घर तोडफोड भएको छ । दिनहुँजसो भइरहेको चोरीका घटनाले समुदायमा त्रास फैलिएको स्थानीयले जनाएका छन् ।

बुटवल क्षेत्रमा चोरीका घटना दिनहुँ बढेपछि  इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राना आफै चोरी भएका घरहरुको अवस्था बुझ्न शनिबार पुगेर स्थानीयसँग त्यसको अवस्थाबारे जानकारी लिए । उनले प्रहरी एक्लैले सबै चोरीका घटना रोक्न नसक्ने तर यी घटनाको गहिरो अनुसन्धान भइरहेको भन्दै पीडित परिवारलाई आश्वस्त पारिरहेका थिए ।

‘प्रहरीको जनशक्ति निकै कम छ, क्षेत्र ठूलो छ, तर जतिसक्यो खटिएका छौं, लाखौ करोडौं खर्च गरेर बनाइने घरमा अनिवार्य सिसिटिभी क्यामेरा राख्ने गरौं, टोल समिति सक्रिय भएर शङ्का लागेका व्यक्तिको सूचना प्रहरीलाई दिऔं, स्थानीयको सूचना हामीले गोप्य राख्नेछौं’ उनले भने–‘सबै मिलेर नै यस्ता अपराधको कमी गर्ने हो, चोरीका घटनाको प्रकृति हेर्दा सबै स्थानमा उस्तै उस्तै तरिकाले पूर्व सूचना लिएर चोरी भएको देखिन्छ, सकेसम्म घरमा खाली नहुनेगरी टोलमा व्यवस्था मिलाउन सके प्रहरीले त्यसको सुरक्षा गरिरहन्छ, भएका घटनाहरु समयमा प्रहरीलाई दिने गरौं ।’

बुटवलको नहरपुर, पत्थरगंज, मोतिगंज, ढवाह, नयाँगाउँ, देविनगर लगायत ठाउँमा चोरीका घटनाहरु भइरहेको प्रहरीमा निवेदन पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *