
डोटी। जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा ६५ वडाहरूमा आगजनी र तोडफोड भएको छ ।
प्रहरीका अनुसार आगजनी र तोडफोडमा सबैभन्दा बढी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ७ र ८ का कार्यालयहरूमा क्षति भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार शुक्लाफाँटा नगरपालिका—७ को कार्यालय पूर्ण रूपमा क्षति भएको छ भने वडा नं.८ को कार्यालयमा करिब ५० लाखको क्षति भएको छ ।
आन्दोलनका क्रममा शुक्लाफाँटा नगरपालिका वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का कार्यालयहरूमा पनि आगजनी र तोडफोड भएको छ ।
कञ्चनपुरकै कृष्णपुर नगरपालिका—१, २, ५ र ७ को कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नंं. ४, ८ र १३ का वडा कार्यालयहरूमा पनि आगजनी तथा तोडफोड भएको छ । यस्तै, कैलालीकै लम्कीचुहा नगरपालिका—१ को कार्यालयमा आगजनी र तोडफोड भएको छ ।
घोडाघोडी नगरपालिकाका सबै वडा कार्यालयहरूमा तोडफोड र आगजनी भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यस नगरपालिकामा १२ वटा वडाहरू रहेका छन् । कैलालीकै बर्दगोरीया गाउँपालिका वडा नं. १, २, ३, ५ र ६ आगलागी र तोडफोड भएको छ ।
टिकापुर नगरपालिकाको ७ नं। वडा कार्यालयमा आन्दोलनकारीहरूले आगजनी र तोडफोड गरेका थिए । कैलारी गाउँपालिकामा पनि सबै वडा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ । यस गाउँपालिकामा नौ वडा रहेका छन् । कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नं। ५ र ७ पनि तोडफोड भएको थियो ।
गौरीगङ्गा नगरपालिकाका सबै ११ वटा वडा कार्यालयहरूमा पनि आगलागी र तोडफोड भयो ।
आन्दोलनकारीहरूले बझाङको तलकोट गाउँपालिका वडा नं. १ को वडा कार्यालयमा रहेका सामानहरू बाहिर निकाली जलाएका थिए । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं. ५ र अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ३ तोडफोड गरेका थिए ।
आन्दोलनपछि पनि प्रदेशका दुई वडा कार्यालयहरूमा आगजनी र तोडफोड भएको छ । भाद्र २६ गते राती अज्ञात समूहले दार्चुलाको दुहु गाउँपालिका—३ को
कार्यालयमा आगजनी गर्दा कुर्ची, टेबल दराज, ल्यापटप जलेको प्रहरीले जानकारी दिएको छ । यस्तै, भाद्र २८ गते राती अज्ञात समूहले दार्चुलाकै शैल्यशिखर नगरपालिका—२ को कार्यालयको ढोका फोडी भित्र पसेर कार्यालयमा रहेका कागजातहरू च्यातेका थिए ।
जेनजी आन्दोलनका क्रममा कञ्चनपुरका शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर, भीमदत्त नगरपालिकाका कार्यालयहरूमा र बेल्डाँडी गाउँपालिकाको कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो । यस्तै, डोटी दिपायल सिलगढी नगरपालिकाको कार्यालयमा तोडफोड र नगर बसमा आगजनी भएको थियो ।
कैलालीको लम्कीचुहा, घोडाघोडी, टिकापुर, गोदावरी र गौरीगङ्गा नगरपालिकाका कार्यालयहरूमा आगजनी र तोडफोड भएको थियो । यस्तै, कैलालीकै कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरीया गाउँपालिकाका कार्यालयहरूमा पनि आगजनी र तोडफोड भएको थियो ।
डडेल्धुराको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएको थियो । यस्तै, अछामको मंगलसैन नगरपालिकाको कार्यालयमा तोडफोड भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply