
एउटा पहाडी गाउँ छ । जहाँ तामाङहरु बहुल संख्यामा छन् । वल्लो, पल्लो डाँडातिर पनि तामाङ गाउँ नै छन् । यी तामाङहरु परापूर्वकालदेखि चलिआएको संस्कृति, परम्परा, रीतिरिवाजप्रति कटिबद्ध छन् ।
यी तामाङ गाउँहरुको बीचमा एउटा बाहुन (माग्ने बूढा, केदारप्रसाद घिमिरे) छ । उछिट्टिएर तामाङ वस्तीमा आइपुगेको एक्लो बाहुन समयान्तरमा व्यवहारले तामाङजस्तै बनिसकेको छ । जाँडको डबका उठाउँछ, टनाटन जाँड पिउँछ । तामाङले भन्दा राम्रोसँग रक्सीको बोतललाई ठाडो घाँटी लगाउँछ । उसको मुख्य काम भनेको लमीको हो । यही काम गरेरै उसले एक्लो पेट पालिरहेको छ ।
यही मेसोमा एक दिन लमी बाहुनको काँधमा एउटा जिम्मेवारी आइलाग्छ, ब्रुनाइको लाहुरे बिनय (धिरज मगर) लाई केटी खोजिदिनुपर्ने । सानैमा आमाको मृत्यु भए पनि बिनयकै अनुहार हेरेर अर्को बिहे गरेनन् बुद्धबीर (शिशिर बाङ्देल)ले । बुद्धबीरकै इच्छा अनुसार बिनयले मागी बिहे गर्ने चाहना राख्छन् । केटी खोज्ने जिम्मेवारी बाहुनको काँधमा आइलाग्छ।
यही सिलसिलामा लमी बाहुन वीरबहादुर (बुद्धि तामाङ) को घर पुग्छ । वीरबहादुरका दुई छोरी छन्, पूर्णिमा र कुसुम । टुहुरी पूर्णिमा दाइकी छोरी हो भने कुसुम आफ्नै छोरी हो । कुसुमभन्दा एक महिनाले जेठी पूर्णिमाको भने गाउँकै सोनाम (प्रकाश सपूत) सँग मन गाँसिएको छ । सोनाम उनै हो, जसलाई पूर्णिमाको फुपूको श्रीमानले बाटोमा भेटाएर हुर्काएका हुन्।
वीरबहादुरले पूर्णिमाको बिहे बिनयसँग गरिदिने वचन दिन्छ । बिहेको तयारी पनि सुरु हुन्छ । तर, आजका दिनसम्म वीरबहादुरको एक बचन समेत नकाटेकी पूर्णिमाले के वीरबहादुरको बचन काट्न सक्छिन् त ? वीरबहादुरको बचनलाई कुल्चिएर सोनामसँग भाग्न सक्छिन् त ? वा वीरबहादुरलाई सोनामसँगको सम्बन्धबारे बताउन सक्छिन् त ? जब कि वीरबहादुरले सोनामको परिवारलाई हेर्नै सक्दैन । सोनामको बुवा वीरबहादुरको भिनाजु हो, तर भिनाजुले नै दिदीलाई बेपत्ता पारेको ठहर छ उसको।
कथाको यस्तो परिवेशबाट कस्तो निचोड निस्केला त ? हलमा चलिरहेको ‘माइतीघर’ले यिनै प्रश्नहरुको उत्तर दिने कोसिस गरेको छ । एकातिर पूर्णिमाका लागि सोनाम जे पनि गर्न तयार छ, अर्कातिर आपाको इज्जतका लागि बिनय जेसुकै गर्न तयार छ । अनि कथाको गाँठो गएर अड्किन्छ पूर्णिमा र वीरबहादुरमा । कथाको त्यो गाँठो कसरी फुकिएला त ? चलचित्रले सविस्तारमा बताएको छ।
सोनामको भूमिकामा प्रकाश सपूतले ठिकठाकै अभिनय गरेका छन् । शाहरुख खानले जसरी घुच्चुकको अलिकति कपाललाई बाँधेका उनको चरीत्रलाई दुईवटा कोणबाट हेर्न सकिन्छ । उनको एउटा चरीत्र छ, जुन चरीत्र पूर्णिमा पाउनलाई जुनसुकै हदसम्म पनि जान तयार । अर्को चरीत्र छ, जुन चरीत्रले मामा पर्ने वीरबहादुरको इज्जत र प्रतिष्ठालाई ठ्याक्कै कुल्चिएर हिँड्ने दुस्साहस गरिहाल्न सक्दैन । यी दुई परिस्थितिसँग गुज्रिने पात्र निर्वाह गरेका छन् प्रकाश सपूतले।
सोनाम नामक पात्रलाई अभिनयमार्फत् सपूतले जुन हदसम्म लैजानु पथ्र्यो, त्यो हदसम्म लैजान सकेका छैनन् । उनको अभिनय निकै लाउड भयो । सबैथोक हुँदाहुँदै परिस्थितिले निम्छरो बनाएको पात्र हो सोनाम । ऊ मायाका लागि जे पनि गर्न सक्ने भए पनि वीरबहादुरले उसको आँटको ज्वालालाई निभाइदिएको छ । यसरी समयले निम्छरो बनाएको पात्र, जितेर पनि हारेको महसुस गरिरहेको पात्र लाउड बन्नु हुन्थेन ।
केटाहरुसँग बाइकमा गाउँको रेकी गर्नु, गुलेलीले ड्रोन खसाल्नु, गौंडा गौंडामा चेकजाँच गर्नु बाहेक ऊसँग माया पाउने अर्को विकल्प थिएन । तर, ऊ भित्रभित्रै हार्दै गइरहेको पात्र हो । यही चिज चाहिँ सपूतको अभिनयमा भेटिन्न।
बरु बिनयको भूमिकामा धिरज मगरले ठिकठाक अभिनय गरेका छन् । उनको अभिनय ‘वाउ’ भन्ने तहको छैन, तर ‘छ्या’ भन्ने तहको पनि छैन। तथापि माग्ने बूढाले धिरजको मिहेनतलाई छपक्कै छोपिदिएका छन् ।
हो, माग्ने बूढाले मेरी बास्सेको ‘माग्ने’को लवजलाई छाड्न सकेका छैनन् । छाड्न कोसिस गरे पनि निर्माता/निर्देशकले छाड्न नदिएको बताइसकेका छन् । ‘माइतीघर’मा पनि त्यही माग्ने हो, तर माग्नेबूढा बिनाको ‘माइतीघर’ कल्पनै गर्न सकिँदैन । ‘हल्का रमाइलो’ भन्नु, नचाहिने ठाउँमा असान्दर्भिक संवादहरु पनि बोल्नुले दर्शकलाई अलिअलि झिँजो लगाउन सक्छ । तर, सिंगो ‘माइतीघर’ माग्ने बूढा एक्लैले सम्हालेका छन् ।
केटी पक्षले बेहुलीको अनुहार नदेखाउने, बिहेकै दिन चिन्नुपर्ने सर्त राख्छ । यसपछि केटी चिन्नलाई माग्ने बूढा र धिरजले अनेक कोसिस गर्छन् । यहाँ मूल पात्र धिरज हुन्, जसलाई आफ्नी बेहुलीको अनुहार हेर्नु छ । तर, मेहफिल लुट्छन् माग्ने बूढाले । बिनय र सोनामबीच पुलको बीचमा भएको फाइटको दृश्यको माहौल समेत माग्ने बूढाले कब्जा गर्छन् ।
कतिसम्म भने धिरज र माग्ने बूढा एउटै फ्रेममा हुँदा दर्शकको ध्यान माग्ने बूढातिर हुन्छ । शरीरको उचाइले धिरजको काखीकाखी आएका माग्ने बूढाका कमसल संवादहरुमा पनि दर्शकले रमाइलो मान्छन् । धिरजको त संवाद नै कम छ । यसको मतलव धिरजको अभिनय कमजोर भयो भन्न खोजिएको होइन, माग्ने बूढाको अगाडि फितलो भयो भन्न मात्रै खोजिएको हो । सायद निर्देशक मिलन तामाङ र लेखक रामशरण पाठकले पटकथाको डिजाइन नै यसरी गरेका थिए ।
चलचित्रमा माग्ने बूढाले बिनयको बुवासँग ‘त्यति गरिदिन पर्छ है महाराज’ भनेर हात जोडेको जोड्यै गर्छ । के गरिदिनुपर्ने हो, त्यो चलचित्रको कुनै मोडमा खुलाउनुपथ्र्यो । दुर्भाग्य, खुलाइएको छैन ।
बिनय र सोनामबीच पुलको बीचमा भएको फाइटमा एउटा गज्जबको दृश्य छ, जहाँ लामाको भेषमा केटी हेर्न गाउँ छिरेका उनीहरुबीच फाइट हुन्छ । यहाँ लाप्पा हान्नुअघि बिनयले लामाको एक एक ड्रेस पालैपालो झिकेर माग्ने बूढाको हातमा थमाउँछ । अनि मात्रै लाप्पा खेल्छ । बुद्धिजमप्रतिको बिनयको आस्था बडो गज्जबले देखाइएको छ ।
चलचित्रको सुरुवाततिरै बिनयले दुरबीनले गाउँघर हेरिरहँदा केही घाँसे युवतीहरुमध्ये एकजनाले गुराँसको फूलले हिर्काउँछिन् । त्यहाँ घाँसे महिलाको एउटा संवाद पनि छ । खासमा त्यो घाँसे महिला को हो त ? त्यो घाँसे महिला चाहिँ कुसुम हो भन्ने देखाउन सकेको भए कस्तो गज्जब हुन्थ्यो ।
अनि साँच्चिकै प्रशंसालायक अभिनय चाहिँ उपासनासिंह ठकुरीले गरेकी छन्। उनको अभिनयले दर्शकलाई साँच्चिकै गज्जबको अनुभूति दिन्छ। साँच्चिकै निखारिएको अभिनय गरेकी छन् । कुसुमको भूमिकामा रहेकी श्यामाश्री शेर्पाको अभिनय ठिकठाक छ । एउटा दृश्यमा पूर्णिमालाई सोनामले गाली गरेपछि कुसुमले ढुंगा टिपेर हान्न खोज्छिन् । यहाँ उनले ढु्ंगाले हान्ने खोजेको हाउभाउ र रसहीन संवाद बकवास लाग्छ । ‘मेरो प्यारो माइतीघर’को कोरसमा नाच्दाखेरि मात्रै कुसुमलाई सुहाएको देखिन्छ ।
वीरबहादुरको भूमिकामा बुद्धि तामाङले गज्जबले काम गरेका छन् । चलचित्रमा उसको पात्र कठोर छ, तर मन कोमल छ । अलिकति लाउड चाहिँ छ । धेरैपछि देखिएका युवराज लामाले पनि चलचित्रमा मिठास थपेका छन् ।
चलचित्रको कथा सिम्पल छ, प्रस्तुति सरल छ । हरियो पृष्ठभूमिमा सिनेम्याटोग्राफी ठिकठाक छ । सबैभन्दा राम्रो चाहिँ चलचित्रको सम्पादन हो। चलचित्रलाई यसरी काटकुट गरिएको छ कि इन्टरभल आएकै थाहा हुँदैन । माग्ने बूढाको रमाइलो प्रस्तुतिले दर्शकलाई यसै भुलाइदिन्छ-झुलाइदिन्छ ।
चलचित्रको अर्को तागत हो, क्लाइमेक्स । क्लाइमेक्सको पृष्ठभूमि यसरी तयार गरिएको छ कि दर्शकहरुलाई निकै नै भावुक बनाउँछ । दर्शकलाई भावुक बनाउन सक्ने गरी उपासनाले अभिनय गरेकी छन् । चलचित्रको अन्तिम अस्त्र चाहिँ ‘मेरो प्यारो माइतीघर’ गीत हो । यो गीतले सिंगै चलचित्रको मर्म बोकेको छ । चलचित्र औसत छ, तर सरल प्रस्तुति भएकाले दशैंको बिदाको राम्रो सदुपयोग हुनसक्छ ।

Leave a Reply