
रूपन्देही । दशैं केवल धार्मिक पर्व होइन, सामूहिक जीवनशैली, मौलिक संस्कृति र गाउँघरको चहलपहलसँग जोडिएको ठूलो उत्सव हो। तर पछिल्ला वर्षहरूमा गाउँको स्वरूप बदलिँदै जाँदा दशैंसँगै जोडिएका धेरै मौलिक अभ्यास हराउँदै गएका छन्।
विशेषगरी सेतो–रातो माटोले घर पोत्ने, पिङ बनाउने चलन, सामुहिक रूपमा बाटो बनाउने कामहरू हराउँदै जान थालेका छन् । पाकापुस्ताले बसाइँसराइ र आधुनिकीकरणले महत्त्वपूर्ण यस्ता परम्परा हराउँदै गएको र यसले गाउँको सामूहिक जीवनमा असर पारेको भन्दै संरक्षणका लागि योजना बनाउन आग्रह गरेका छन् ।
उनीहरूको अनुभवमा दशैं भनेकै माटोले घर पोत्ने र पिङ बनाउने बाटै सुरू हुने भएकोले अहिले त्यो एकादेशको कथा बन्दै गएको छ ।गुल्मी रूरूका ८३ वर्षीय दिनामणी ज्ञवाली पहिलेका दशैंको शुरूवात नै बाटो बनाउने, घर पोत्न माटो लिन जाने, पिङ बनाउने कामबाट सुरू हुने स्मरण गर्दछन् ।
‘हामी सानामा दशैं भन्नासाथ दुईवटा कुरा सम्झिन्थ्यौँ—घर पोत्ने काम र पिङ। दशैं आउनु अघिल्लो हप्तादेखि आमा–काकीहरू बिहानै उठेर आँगन सफा गरेर रातो माटो घोल्थे। हामी साना–ठूला सबै मिलेर भित्तामा सेतो माटो लगाउँथ्यौँ। पोतेपछि घर चम्किलाको चम्किलो देखिन्थ्यो। अनि गाउँकै युवाले बाँस काटेर ठूलो पिङ हाल्थे। बिहान–साँझ पिङमा उड्दा दशैं आएको स्वाद अर्कै हुन्थ्यो।’
अहिले गाउँमा धेरै बस्ती नै बसाइँसराइले हराएको छ । अधिकांश युवा पिँढी नै छैनन् गाउँमा । तराईमा थोरै ठाउँमा पक्की घर बनाएर बस्न थालेकाले पनि यो संस्कृति हराउन थालेको संस्कृतिविद् झपेन्द्र जिसी बताउँछन् ।
उनी भन्छन्, ‘गाउँमा बस्ती नै रित्तो छ भएको पनि बुढापाका मात्रै छन् , कसैलाई माटो पोत्ने फुर्सद छैन। बजारको पेन्ट किनेर लगाइन्छ। पिङ बनाउने ठाउँ पनि छैन। खेतबारीमा घर बने, बाँस काट्ने जङ्गल छैन। हामीले बाँच्दाबाच्दै त्यो रमाइलो हराउँछ भन्ने सोचेका थिएनौँ।’
प्यूठानका युवा पदम केसीका अनुसार गाउँमा निकै कम युवा रहेकाले यस्ता संस्कृति हराउँदै गएको तर आफूले भने निरन्तरता दिएको बताउँछन् ।
गुल्मी कै ८३ वर्षीया इन्दिरा ज्ञवाली दशैं नजिकिँदा अझै पनि पुरानै शैली सम्झेर घर सफा गर्छिन्। उनी भन्छिन्, ‘माटो पोत्नु भनेको केवल सजावट होइन, त्यो पवित्रता हो। पुरानो पुस्ताले भन्थे, देवीदेवता माटोले पोतेको घरमै खुसी हुन्छन्। खासगरी रातो माटोले भुइँ पोत्दा किरा–फट्याङ्ग्रा मर्ने, धुलो कम हुने, र स्वास्थ्यका लागि पनि राम्रो हुने मान्यता थियो। अहिले त सिमेन्टको फ्लोर भएको घरमा माटो कसरी पोत्ने ?’
२५ वर्षीय अर्जुन केसी काठमाडौंमा पढाइ सकेर दशैंका लागि अर्घाखाँचीमा रहेको घरमा फर्किएका छन्। उनी भन्छन्, ‘सानोमा हामीले पिङ खेल्दा आमा–बुबाले ‘पिङ नखेल्दा दशैं अधुरो हुन्छ’ भन्थे। तर अहिले त गाउँमा पिङै छैन। साथीहरू भेट्दा मोबाइलमा फोटो खिच्ने, टिभी हेर्ने मात्र काम हुन्छ। पुरानो रमाइलो छैन।’
अर्जुनले अझै थपे,‘मैले सहरमा हुर्केका साथीहरूलाई गाउँमा पिङको कथा सुनाउँदा उनीहरूलाई अचम्म लाग्छ। उनीहरूलाई पिङ भनेको मनोरञ्जनको साधन मात्र लाग्छ, तर हामीलाई त्यो सामूहिक मेलमिलापको अवसर थियो।”
सेवानिवृत्त शिक्षक कृष्ण भुसाल संस्कृति बिर्सिँदा पहिचान हराउने बताउँछन् । ‘आजको पुस्ताले माटो पोत्ने कामलाई झन्झट ठान्छ। तर शिक्षाले पनि यसको महत्व बुझाउन सकेको छैन। विद्यालयमा ‘संस्कृति अध्ययन’ भन्ने विषय त छ तर व्यावहारिक अभ्यास छैन। यदि विद्यार्थीलाई दशैं अघि घर पोत्ने, पिङ हाल्ने परियोजना कार्य दिन सकियो भने यो परम्परा पुनर्जीवित गर्न सकिन्छ।’
दशैं भनेको केवल पशुपक्षी बलि चढाउने वा नयाँ लुगा किन्नेमात्र नभई गाउँघरको आत्मा, सामूहिक मिलन र मौलिक संस्कृतिको परिचायक हो भनेर चिनाउनुपर्ने बताउँदै उनीहरूले आजैदेखि सचेत नभए सेतो–रातो माटोले पोतिएको घर र बाँसको पिङ केवल पुराना तस्बिर र कथामा सीमित हुने चिन्ता व्यक्त गरेका छन् ।
अर्घाखाँची मालारानीका युवा उमेश कुँवर भन्छन्, ‘दशैंको स्वाद पिङमा उड्दा र माटोले पोतिएको घरमा टीका लगाउँदा आउँथ्यो। त्यो स्वाद अब हराउँदै गएको छ। तर यदि नयाँ पुस्ताले चासो देखायो भने अझै पनि बचाउन सकिन्छ।’
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे संस्कृति जोगाउन अभियान चलाउनुपर्ने बताए । उनले भने,‘हामीले गाउँमै ‘दशैं पिङ उत्सव’ गर्ने योजना बनाएका छौँ। स्थानीय क्लबलाई सहयोग गरेर बाँस र डोरी उपलब्ध गराउने तयारी छ। साथै, परम्परागत घर सजाउने प्रतियोगिता पनि आयोजना गर्ने सोच छ। यसरी मात्रै नयाँ पुस्ताले पुरानो संस्कृति अनुभव गर्न सक्छ।’
विश्लेषक गणेश घिमिरेका अनुसार आधुनिकीकरण र पेन्टको चलनले गर्दा बजारमा सजिलै पेन्ट पाइने हुँदा माटो पोत्ने चलन कमजोर भएको छ भने बाँस काट्ने जंगल घटेका छन्, खुला आँगन मासिएका कारण पनि यस्तो भएको छ । त्यसैगरी रोजगारी र बसाइँसराइले धेरै परिवारका सदस्य विदेश वा शहरमा भएकाले गाउँमा सामूहिक काम गर्ने मान्छे नै घटेका छन् भने सांस्कृतिक शिक्षा कमजोर भएकोले विद्यालयले परम्परा सिकाउने काम नगर्दा नयाँ पुस्ता संस्कृतिबाट टाढा भएको छ।
पाकापुस्ता र संस्कृतिविदहरूका अनुसार यस्ता संस्कृतिक हराउँदै जाँदा सामाजिक सम्बन्ध कमजोर हुन थालेका छन् । पूर्वजनप्रतिनिधि चुराबहादुर बिकका अनुसार पहिले घर पोत्ने वा पिङ बनाउने बेला सबैले मिलेर काम गर्थे। अहिले व्यक्तिगत व्यस्तताले सामूहिकता हराएको छ भने यसले पुस्ताबीच दूरी बढेको छ । उदाहरणका लागि हजुरबुबा–बाजेले गर्ने कुरा नबुझ्दा युवा पुस्ताले पुरानो पुस्तासँग सम्बन्ध कम गरेको छ भने ।
संस्कृति–पर्यटनमा असर गर्दा गाउँमा मौलिकता हराउँदा बाहिरका मान्छेलाई आकर्षण गर्ने खुराक घटेको छ। यसको संरक्षणका लागि स्थानीय सरकारले माटो पोत्ने र पिङ बनाउने कार्यक्रमलाई बजेटसहित प्रोत्साहन गर्नुपर्ने,युवा क्लब र संघ–संस्थामा रहेकाहरू गाउँका युवाले पिङ बनाउन अग्रसर हुनुपर्ने, विद्यालयमा परम्परा संरक्षण परियोजनामार्फत विद्यार्थीलाई व्यावहारिक रूपमा सिकाउनुपर्ने सञ्चार माध्यमबाट यसको महत्त्वबारे जानकारी दिइरहनुपर्ने पूर्व शिक्षक टेमलाल अर्याल बताउँछन् ।

Leave a Reply