
काठमाडौं । पाकिस्तानका कप्तान सलमान आघाले एसिया कप फाइनलमा भारतले देखाएको अस्वाभाविक रवैयाको आलोचना गरेका छन् । भारतले आफूहरूको मात्र नभएर क्रिकेटकै अपमान गरेको उनको टिप्पणी छ ।
एसिया कपको फाइनलमा हिजो पाकिस्तान भारतसँग पराजित भएको थियो । फाइनलपछि भारतीय टिमले ट्रफी लिन अस्वीकार गरेपछि उत्पन्न विवादमा आघाले प्रतिक्रिया जनाएका हुन् ।
दुबईमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भारतले यो प्रतियोगितामा गरेको व्यवहार अत्यन्त निराशाजनक छ । उनीहरूले हात नमिलाएर हाम्रो अपमान गरेका होइनन्, क्रिकेटको अपमान गरेका छन् ।’
आफूहरूले जिम्मेवारी पूरा गर्न ट्रफीको साथमा फोटो खिच्न गएको र मेडल लिएर उभिएको उनले बताए । तर, भारतीय टिमले निकै अपमानजनक व्यवहार गरेको उनको भनाइ छ ।
फाइनलमा भारतले पाकिस्तानलाई हराएपछि पुरस्कार वितरण समारोह सुरु हुन ९० मिनेटभन्दा बढी ढिलाइ भएको थियो । भारतले एसीसी अध्यक्ष र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्षसमेत रहेका पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेको थियो । आघाले भारतका कप्तान सूर्यकुमार यादवसँग कुनै समस्या नरहेको बताए । सूर्यकुमारको व्यक्तिगत निर्णय भएको भए उनले टसअघि हात मिलाउने उनको दाबी छ ।
आघाले भने, ‘प्रतियोगिताको सुरुमा उनले मसँग व्यक्तिगत रूपमा हात मिलाए । प्रि-टूर्नामेन्ट पत्रकार सम्मेलन र रेफ्रीको बैठकमा पनि हात मिलाए । तर क्यामेरा र विश्वको अगाडि उनीहरू हात मिलाउँदैनन् । मलाई लाग्छ, उनले पाएको निर्देशन पालना गरेका छन् । तर यदि उनको आफ्नो इच्छा भएको भए, उनले मसँग हात मिलाउँथे ।’
आघाले फाइनल अघिको आफ्नो अडान दोहोर्याउँदै क्रिकेटमा हात नमिलाउने परम्परा नभएको र यो क्रिकेटको भावनाका लागि हानिकारक भएको बताए । भारतले पुरस्कार समारोहमा काल्पनिक ट्रफी उचालेर गरेको व्यवहार ‘उनीहरूले पहिले गरेका सबै कुराको परिणाम’ भएको आघाको टिप्पणी छ ।
उनले भने, ‘मैले यस्तो पहिलो पटक देखेँ । यो प्रतियोगितामा जे भयो, त्यो निकै खराब थियो । मलाई आशा छ, यो कुनै बिन्दुमा रोकिनेछ, किनभने यो क्रिकेटका लागि हानिकारक छ । आज भएको सबै कुरा पहिलेका घटनाहरूको परिणाम हो । स्वाभाविक रूपमा एसीसी अध्यक्षले विजेतालाई ट्रफी दिन्छन् । यदि तपाईँ उनबाट ट्रफी लिनुहुन्न भने, कसरी प्राप्त गर्नुहुन्छ ?’
प्रतियोगिताको अघिल्ला दुई भारत-पाकिस्तान खेलहरूमा जस्तै, फाइनलमा पनि टस र खेलपछि हात मिलाइएन । पुरस्कार समारोहको प्रतीक्षा गर्दा दुवै टिम अलग-अलग समूहमा उभिएका थिए । आघाले यस्ता घटनाहरूले भारत वा पाकिस्तानमा खेल हेर्नेहरूलाई राम्रो सन्देश नदिएको र यसको जिम्मेवारी भारतको रहेको बताए ।
उनले भने, ‘म केवल पाकिस्तानको कप्तान होइन, क्रिकेटको प्रशंसक पनि हुँ । यदि भारत वा पाकिस्तानमा कुनै बच्चाले यो हेरिरहेको छ भने, हामीले राम्रो सन्देश दिइरहेका छैनौँ । मानिसहरू हामीलाई रोल मोडेल मान्छन्, तर यस्तो व्यवहारले उनीहरूलाई प्रेरणा दिँदैन । यो हुनु हुँदैनथ्यो, तर यो किन भयो भन्ने प्रश्न मलाई होइन, जिम्मेवार व्यक्तिहरूलाई भारतले सोध्नुपर्छ ।’

Leave a Reply