सवारी परिक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल कारवाहीमा मन्त्रालय तानिए

विराटनगर । सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापालको जिम्मेवारी खोसिएको छ । अनियमिततामा मुछिएको आरोप लागेपछि सङ्घिय सरकारले कार्यालय प्रमुख रोशन कुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतको जिम्मेवारी खोस्दै मन्त्रालय तानेको हो ।

सेवाग्राहीसँग घुस माग्ने , अनावश्यक दुख र हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतवार मन्त्रालयमा तानेको हो ।

कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका काम हुँदै आएको छ ।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयमा उजुरी परेको थियो ।

मन्त्रालयले सो कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *