
काठमाडौं । जेनजीहरूको अगुवाइमा भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारले उपचार सहयोग उपलब्ध गराउने भएको छ ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज १२ गतेको निर्णयअनुसार घाइते व्यक्तिहरूको पहिचान र सहज उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आजैदेखि परिचयपत्र वितरणको काम सुरु गरिएको छ ।
साथै, तत्कालका लागि स्वास्थ्य मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइतेलाई भइपरी खर्चबापत प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।
यसैअनुसार प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेलाई रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

घाइते भई उपचारार्थ अस्पताल गएका व्यक्तिहरूले बिरामी टिकट र कार्डसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यले आज विज्ञप्ति जारी गर्दै सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply