
काठमाडौं । हिजोको दिन नेपाली क्रिकेटका लागि अविस्मरणीय बन्यो। वेस्ट इन्डिजलाई टि–२० अन्तर्राष्ट्रियमा हराउँदै नेपाली टीमले पहिलोपटक टेस्ट राष्ट्रविरुद्ध स्पष्ट जितको स्वाद चाखेको छ । देशभित्र भर्खरैको दुखद र विध्वंसकारी घटनाक्रमपछि स्तब्ध बनेका जनतालाई एकसाथ खुशी हुने बहाना खेलाडीहरुले दिएका छन् ।
दुईपटक टि–२० विश्वकप जितेको वेस्ट इन्डिजविरुद्ध नेपालले हासिल गरेको जित ऐतिहासिक हो, तर आश्चर्यजनक भने होइन । वेस्ट इन्डिजले नेपालसँग भिड्न पठाएको टीम उसको पहिलो रोजाइको थिएन । टिमका प्रमुख खेलाडीहरुलाई विश्राम दिएर थुप्रै अनुभवहीन र नयाँ अनुहारहरुलाई नेपालसँगको सिरिजमा अवसर दिइएको छ । १५ सदस्यीय स्क्वाडमा समावेश ५ जना खेलाडीहरुले त अहिलेसम्म अन्तर्राष्ट्रिय म्याच खेलेकै थिएनन् । उनीहरुमध्ये ४ जनाले हिजो डेब्यू गरे ।
नेपाललाई कमजोर आँकेर हुन सक्छ, टीमका स्टार खेलाडीहरुले यो सिरिजमा सहभागी हुन चाहेनन् । नियमित कप्तान साइ होप, फास्ट बलर अल्जारी जोसेफ, ब्याटर जोनाथन चाल्र्स यूएई आएनन् । यस्तै ब्रान्डोन किङ, एभिन लेविस, साइ होप, सरफेन रदरफोर्ड, रोस्टन चेज, जयाडन सिल्स लगायत पहिलो रोजाईका खेलाडीहरु पनि नेपालसँगको सिरिजमा उपलब्ध भएनन् । प्रमुख प्रशिक्षक ड्यारेन सामीले पनि हात झिके ।
साइ होपको अनुपस्थितमा कप्तानको जिम्मेवारी स्पिनर अकिल होसेनलाई दिइएको छ । फेबियन एलेन, जासोन होल्डर र किल मेयर्सजस्ता सीमित अनुभवी खेलाडीहरु टीममा छन् । भन्नैपर्दा गत वर्ष वैशाखमा नेपाल भ्रमणमा आएको ‘वेस्ट इन्डिज ए’ टिम योभन्दा बलियो थियो । नेपालको राष्ट्रिय टिमले घरेलु मैदानमा ‘वेस्ट इन्डिज ए’ सँग ५ म्याचको सिरिज खेल्दा २–३ ले हारेको थियो । वेस्ट इन्डिजको ए टीममा जोनाथन चाल्र्स, एन्ड्रे फ्लेचर, रोस्टन चेजजस्ता स्टार खेलाडीहरु थिए ।
जे भए पनि अहिले नेपालले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई पराजित गरेको गौरव हासिल गरेको छ । उसको टीममा खेलाडीहरु जोसुकै होउन्, नेपालको सरोकारको विषय होइन । बाँकी दुई खेलमा पनि नेपाली खेलाडीहरुले उच्च हौसलाका साथ खेल्नेछन् ।
हिजोको म्याचको कुरा गर्दा नेपालले ब्याटिङमा औसत र बलिङ–फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्यो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले दिएको १४८ रनको लक्ष्य त्यति ठूलो थिएन, तर नेपालको कसिलो बलिङमा वेस्ट इन्डिजका ब्याटरहरु डग्मगाए । खासगरि नेपालको स्पिन आक्रमण झेल्न वेस्ट इन्डिजका ब्याटरहरुलाई निकै सकस परेको थियो । परम्परागतरुपमा नै वेस्ट इन्डिजका ब्याटरहरु स्पिन बलर त्यति रुचाउँदैनन् ।
नेपालले ब्याटिङमा निकै कमजोर सुरुवात गरेको थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै चलेनन् । नेपालले ३.१ ओभरमा १२ रन मात्र जोड्दा दुवै ओपनर पेभिलियन फर्किसकेका थिए । त्यसपछि कप्तान रोहित कुमार पौडेलले जिम्मेवार ब्याटिङ गरे । उनले कुशल मल्लसँग मिलेर नेपालको इनिङलाई सम्हालेका थिए । राम्रो लयमा देखिएका कुशलले दुईवटा शानदार छक्का र दुई चौकासहित २१ बलमा ३० रन जोड्दै नेपाललाई उकासे ।
रोहितले संयमित ब्याटिङ गर्दै ३८ बलमा १ छक्का र तीन चौकासहित ३५ रन बनाए । यो जोडीको अर्धसतकीय साझेदारीले नेपाललाई १०.४ ओभरमा ७० रनको स्थितिमा पुर्याएको थियो । गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले पनि ब्याटबाट योगदान दिए । गुल्शनले १६ बलमा २ छक्कासहित २२ रन र दिपेन्द्रले १९ बलमा एक छक्कासहित १५ रन जोडे ।
एक समय नेपाल १६० रन सहजै कटाउने सक्ने अवस्थामा देखिएको थियो । तर, अनुभवी जेसन होल्डरले दुईवटा उत्कृष्ट ओभर फ्याक्दा नेपालको स्कोर अलिकति खुम्चियो । होल्डरले १६ औं ओभरमा ३ रन मात्रै खर्चिए भने १९ औं ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । डेब्यू म्याचमा नविन विदाइसीले २७ रन खर्चेर ३ विकेट हात पारे ।
वेस्ट इन्डिजका बलरहरुले थुप्रै फितला बलहरु पनि फ्याँकेका थिए, जसलाई नेपाली ब्याटरहरुले राम्ररी सदुपयोग गर्न सकेनन् । नेपालले १० रन वाइडका रुपमा पाएको थियो ।
वेस्ट इन्जिडको तुलनामा नेपालको बलिङ र फिल्डिङ धारिलो थियो । नेपालले वेस्ट इन्डिजका दुई प्रमुख ब्याटरलाई रनआउट गर्यो। खतरनाक बन्नसक्ने ओपनर काइल मेयर्सलाई कुशल भुर्तेलले ५ रनको स्थितिमा रनआउट गरेपछि वेस्ट इन्डिज सुरुवातमै दवावमा परेको थियो। स्पिनरहरुले लगातार प्रेसरमा राखेपछि वेस्ट इन्डिजले खेलमा फर्किने मौकै पाएन । नेपालका प्रमुख स्पिनर ललित राजवंशी घातक देखिए । तर, उनलाई कप्तान पौडेलले किन हो, २ ओभर मात्रै बल दिए । पार्ट टाइम स्पिनरहरु रोहित पौडेल, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले पनि शानदार बलिङ गरे ।
नेपालको जित खासमा योभन्दा निकै फराकिलो हुनुपथ्र्यो । १६.३ ओभरमा ९४ रन बनाउँदा वेस्ट इन्डिजले ७ विकेट गुमाइसकेको थियो। तर, फाबियन एलेन र अकिल हुसेनले केही ठूला सट खेल्दै नेपाली समर्थकको धड्कन बढाइदिए । नेपालले जित नजिक पुगेर हार स्वीकारेका थुप्रै क्षण व्यहोरेका दर्शक एकछिन ‘नर्भस’ बनेका थिए ।
सोमपाल कामीले फ्याँकेको १८ औं ओभरले कतै खेल वेस्ट इन्डिजको पक्षमा मोडिने त होइन भन्ने आशंका उब्जेको थियो । कामीले यो ओभरमा १९ रन खर्चेका थिए । तर १९ औं ओभरमा करण केसीले टाइट बलिङ गर्दै २ रन मात्रै खर्चिएर एक विकेट लिए । यही ओभरले नेपालको जित निश्चित गरेको थियो ।
हिजोको खेलमा नेपालका नयाँ स्टार बलर नन्दन यादव घाइते भएका छन् । उनले एक ओभर मात्रै बलिङ गरेर एक विकेट लिएका थिए । उत्कृष्ट बलिङ गरिरहेका नन्दन शरीर मर्किएपछि बाँकी ओभर फ्याँक्न सकेनन् । उनको अवस्थाका बारेमा आधिकारिक केही पनि जानकारी गराइएको छैन । यस्तै, स्टार स्पिनर सन्दीप लामिछाने हिजोको खेलमा अनुपस्थित रहे । उनको बारेमा पनि क्यानले केही बताएको छैन ।

Leave a Reply