एमाले सचिवालय बैठकमा बहस- नेतृत्व हस्तान्तरणका लागि महाधिवेशन कि कार्यवाहक ?

काठमाडौं । जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपटक नेकपा एमाले सचिवालय बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको डेरा रहेको भक्तपुरको गुण्डुमा बैठक डाकिएको हो ।

ओली सत्ताच्यूत भएपछिको एमालेको यो औपचारिक बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा जेन जी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ ।

आन्दोलनले जबर्जस्त स्थापित गरेको युवा नेतृत्वको आवाज, दलहरूमा सुरू भएको पुनर्गठन र रुपान्तरणको विषयले एमालेको बैठकमा पनि प्रवेश पाउने एक पदाधिकारीले बताए ।

पार्टीले विभिन्न कालखण्डमा भोग्दै आएका चुनौतीमध्ये यो निकै कठिनपूर्ण चुनौती रहेको निचोडसहित नेपाली कम्युनिष्ट आन्दोलन, देश र जनताकै भविष्य धरापमा पर्न सक्ने अवस्था देखिएकाले यसको सुझबुझपूर्ण अवतरणका लागि तत्काल कदम चाल्नुपर्ने ती पदाधिकारीले बताए ।

ओलीलाई नेतृत्व छाड्न दबाबको तयारी

आजको सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले ओलीलाई पद छाड्न स्पष्टरूपमा आग्रह गर्ने तयारी गरेको बताइएको छ । योबीचमा ओलीले नेताहरूलाई बोलाएर गरेको वान टू वान वार्तामा पनि केही पदाधिकारीले उनलाई संरक्षकको भूमिकामा रही नेतृत्व हस्तान्तरणका लागि सहजीकरण गर्न सुझाएका छन् ।

तर, ओली भने अहिले छाड्ने पक्षमा देखिँदैनन् । उनी अहिले नेतृत्व छाड्नु भनेको अपराधी करार हुने भएकाले कुनै हालतमा छाड्ने पक्षमा छैनन् । बरु महाधिवेशन चाँडो गरेर नेतृत्व चयनको विधिमा जान उनी सकारात्मक छन् ।

ओली उनीनिकटका नेताहरू विषम परिस्थितिमा नेतृत्वलाई संकटमा पार्ने गतिविधि गर्न नहुने भन्दै विधि प्रक्रियाअनुसार नै जानुपर्ने पक्षमा छन् । पछिल्लो घटनाक्रम आन्तरिक र वाह्य शक्तिको षड्यन्त्रमा भएको र एकजुट भएर प्रतिवाद गर्नुपर्ने उनीहरूको भनाइ छ ।

बिहीबार गुण्डुमा प्रेस चौतारीका पदाधिकारीसँग ओलीले केही कुरा भए पार्टीभित्रका फोरममा उठाउनुपर्ने बताएका थिए ।

उनको भनाइ थियो, ‘केही कुरा भए पार्टीभित्रका फोरममा उठाउनुहोस् । समस्याको समाधान दिन्छ, सडकमा कराउने हैन नि !’

ओलीसँगको भेटमा सचिव योगेश भट्टराईले पनि अहिलेलाई राजीनामा गरेर वरीयताको आधारमा कार्यवाहक छाड्दै ४/५ महिनाभित्रमा महाधिवेशनको वातावरण बनाउन सुझाएको स्रोतले बतायो ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, धेरैजसो उपाध्यक्षहरू समेत अध्यक्ष ओलीले आफैँले कार्यवाहक दिएर महाधिवेशनमा लैजाने र नेतृत्व हस्तान्तरणमा सहयोगी भूमिका खेल्नुपर्ने पक्षमा देखिएका छन् । त्यस्तै सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा पनि पार्टी पुनर्गठनको बहस उठाउने तयारीमा छन् ।

अहिले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक दिएर महाधिवेशनबाट जो जसरी आउँछ आउँछ त्यो ढंगले जानुपर्ने केहीको धारणा छ ।

एक पदाधिकारी भन्छन्, ‘अस्तिसम्म गोदावरीमा ओलीलाई हामीलाई अझै तपाईँले नै राज गर्नु भनेर अग्रिम बुकिङ गर्दैकै हो । तर, अहिले परिस्थिति धेरै जटिल बनिसक्यो । अब पनि हामी पनि नसुध्रिने हो भने, अहिलेका पुस्ताका लागि आशा देखाउन नसक्ने र परम्परागत सोचमै अघि बढ्ने हो भने पार्टीको ठूलो संख्या पलायन हुने स्थिति छ । हामीले नै हात उठाउनुपर्ने अवस्था आउँछ । अबको पापको भारी बोक्न सक्दैनौं, कम्तीमा मनमा शान्ति त मिल्छ ।’

तर, सचिवालय बैठकमा अनुकूल नदेखिए ओलीले केन्द्रीय कमिटी बैठकबाट आफ्नो पक्षमा निर्णय गराउने सम्भावना छ । ओली र ओली पक्षधर नेताहरू वैधानिक फोरमबाटमात्रै नेतृत्वको टुंगो लगाउने पक्षमा देखिन्छन् ।

ओलीसँग नियमित भेट गरिरहेका संगठन विभाग सचिव तथा युवा नेता माधव ढुंगेल भन्छन्-अहिले नै अध्यक्षले पद त्याग गर्नुपर्छ भनेर दबाब दिनु भनेको देशी विदेशी षडयन्त्रकारीहरूको चाहना पूरा गर्नुमात्र हो । यो विध्वंश, यो सत्ता विप्लव र यो खुलेआम षडयन्त्रको बेला नेतृत्वलाई अपराधी करार गर्ने हो कि नेतृत्व रक्षा गर्दै पार्टीको वैधानिक फोरमबाट नयाँ नेतृत्व निर्माण गर्ने हो ? बरु मंसिरसम्म महाधिवेशन गर्ने र नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण गर्नेतिर जानुपर्छ ।

आजको बैठकले भदौ १९-२१ मा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको एकसाथ समीक्षा गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । आज बस्ने सचिवालय बैठकका यी दुई प्रमुख एजेण्डामात्र रहेको उनको भनाइ छ ।

त्यसमध्ये जेनजी आन्दोलनपछि विकसित राजनीतिक सन्दर्भमा पार्टीको धारणा, भूमिका र कार्यदिशामाथि गम्भीर छलफल हुने उनले बताए । पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सुझाव, संशोधन र पारित भएका विभिन्न प्रतिवेदन समष्टीकरण गर्नुपर्ने जिम्मेवारी पनि आजकै बैठकको भए पनि मूलतः नयाँ परिस्थितिमाथि बैठक केन्द्रित हुने उनले बताए ।

सम्मानजनक विकल्पमा छलफल

अहिले गुण्डुमा भइरहेका गतिविधिहरूप्रति एमालेका धेरै पदाधिकारी सन्तुष्ट छैनन् । अराजनीतिक ढंगले अघि बढ्दा पार्टीलाई क्षति पुग्ने भन्दै नेताहरू परिस्थितिको विश्लेषण गरेर संयमका साथ पार्टी पंक्तिको रक्षा र आन्दोलन जोगाउँदै अघि बढ्नुपर्ने विषय आजको बैठकमा राखिने ती पदाधिकारीले बताए ।

हिजो ओलीको विकल्प खोज्न नहुने पक्षमा रहेको पार्टीको तलदेखि माथिको पंक्ति विकसित घटनाक्रम र आन्दोलन तथा विध्वंसपछिको स्थिति बुझेर सम्मानजनक बहिर्गमनको पक्षमा उभिएको उनीहरूको भनाइ छ ।

ती पदाधिकारीले भने-अहिले हामीले केपी शर्मा ओलीलाई सत्ताबाट हटाएजस्तो पार्टी नेतृत्वबाट जबर्जस्ती हटाउने होइन कि उहाँको सम्मान गर्ने र इतिहासमा उहाँले गरेका सबै योगदानको अपनत्व लिने हो । उहाँले नै सम्बोधन गरेर कार्यकारी नेतृत्वबाट विदा लिँदै कार्यवाहक तोकेर महाधिवेशनमा जाऊँ भन्दा पार्टी एकता मजबुत हुन्छ र उहाँ पार्टीको सर्वोच्च नेताकै भूमिकामा रहनुहुन्छ ।

सबै पार्टीमा भइरहेको उथलपुथल र युवा पुस्ताको भावना बुझ्न नसके पार्टीले अहिलेको भन्दा ठूलो र कहिल्यै उठ्न नसक्नेगरी क्षति भोग्ने चिन्ता रहेको नेताहरूको भनाइ छ । अहिले सचिवालयलाई ओलीको पक्ष र विपक्षमा विभाजन गर्ने भन्दा पनि पार्टी एकता जोगाएर नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणमा जाने मध्यमार्गी विकल्पमा छलफल अघि बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *