आगोबाट धन्न जोगिएछ एउटा अमूल्य सम्पदा

विद्वानहरूको निजी पुस्तकालय कस्तो हुँदोरहेछ ? उनीहरू कसरी पढ्दा रहेछन् ? एकाएक मेरा मनमा यस्तो खुल्दुली मच्चियो ।

यो खुल्दुली शान्त पार्न इतिहासकार दिनेशराज पन्तको धुम्बाराहीस्थित घरमा जाने निर्णय गरेँ । पन्तसँग भेट गर्दा केही थाहा पाउनमात्रै होइन, केही सिक्न पनि सकिन्छ भन्ने ज्ञान चाहिँ मैले नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काइँलाबाट पाएको हुँ । यहीँ ज्ञानले मलाई इतिहासकार पन्तको घरसम्म डोर्‍याएर पुर्‍यायो ।

पन्तको निजी पुस्तकालय अवलोकन गर्दै जाँदा दराजभरि पुराना हस्तलिखित कागजहरू पनि देखेपछि उनीसमक्ष बालसुलभ जिज्ञासा राखेँ, ‘गुरु, यति धेरै पुराना हस्तलिखित कागजहरू हजुरको निजि सङ्ग्रहमा कसरी सम्भव भयो ?’ पन्तको जवाफ थियो, ‘यी सबै हस्तलिखित कागजहरू हाम्रा पूर्वजहरूको सङ्ग्रहबाट प्राप्त गरेका हौँ बाबु ।’

यी पुराना कागजपत्रहरूको जोहो देखेपछि आफ्नो घरमा पनि केही त्यस्ता छन् कि भन्ने अर्को खुल्दुली मच्चियो मेरो मनमा । बुबाको पुरानो बाकसमा कागजका केही पोका छन् भन्ने थाहा थियो । ती जम्मै पोकामा केही नपाइए पनि बाजेको पालासम्मका तमसुकसम्म भए पनि पुर्ख्यौली नासोको रूपमा गौरवले जतन गर्नुपर्‍यो भन्ने सोच्दै धनकुटाबाट ती कागजपत्र काठमाडौँ झिकाएँ ।

तर, ती पोकामा बाजेका पालाका त के, मेरा बराजु भगिवन्तका पनि बराजु सिर्देउका पालासम्मका महत्त्वपूर्ण ऐतिहासिक स्रोतका रूपमा प्रयोग गर्न सकिने प्रशस्तै कागजपत्रहरू आजसम्म सुरक्षित रहेछन् । दुई सय वर्षअघि लेखिएको हाम्रो वंशावली पनि फेला पर्दा लाग्यो, मजस्ता पछिल्लो पिँढीको सन्ततिलाई देखेर मेरा पूर्वजहरू कतै मुस्कुराइरहेका होलान् ।

मलाई ती दुई शताब्दी पुराना कागजपत्रहरू पाउँदा गाडधन पाए झैँ अनुभूति भइरहेछ । सम्पत्ति त रूपैयाँ पैसा, सुन चाँदी र घरजग्गा मात्रै होइन रहेछ ।

यसरी इतिहास अध्ययनतिर रुचि बढाउँदै लगिरहेको बेला मैले आफ्नै घरमा पनि महत्त्वपूर्ण ऐतिहासिक स्रोतहरू फेला पार्न सफल भएँ । यसको पृष्ठभूमिमा दिनेशराज पन्तज्यूको निजी पुस्तकालयको अवलोकन र त्यहाँ रहेको पुराना हस्तलिखितहरूको दर्शनले महत्त्वपूर्ण भूमिका खेलेको छ । मेरो लागि प्रेरणा र मार्गदर्शनमा त वैरागी काइलाको अहम् भूमिकाको छँदैछ ।

इतिहास लेखनमा आत्मनिर्भरता

नेपालको इतिहास लेखन परनिर्भरताबाट सुरू भएको छ । विलियम कर्कप्याट्रिकले आजभन्दा २१४ वर्षअघि छापेको “एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाउल” र त्यसको आठ वर्षपछि फ्रान्सिस बुकानन ह्यामिल्टनले लेखेको “एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाल” नेपालको इतिहासबारेमा लेखिएको पहिलो छिमलका पुस्तक हुन् ।

ह्यामिल्टनले लेखेको १०३ वर्षपछि बनारसबाट प्रकाशित अम्विकाप्रसाद उपाध्ययको “नेपालको इतिहास” नेपालीले लेखेको नेपालको इतिहाससम्बन्धी पहिलो पुस्तकका रूपमा देखा पर्‍यो । त्यसैले उपाध्ययले पहिलो नेपाली इतिहासकारका रूपमा कीर्तिमान राखे । कर्कप्याट्रिक र ह्यामिल्टनका कितावमा भर परिए नेपालको इतिहाससम्बन्धी ज्ञानको गङ्गा भने उल्टो बग्न सक्छ ।

यसबीचमा भारत गुजरातका विद्वान भगवानलाल इन्द्राजीले गेओर्ग ब्यूलरसँगको सहलेखनमा वि.सं. १९३७ मा “दि इण्डियन यान्टीक्वटी” मा प्रकाशित गरेको “इन्क्रिप्शन फ्रम नेपाल्” नेपाली इतिहासको प्रामाणिक लेखनका लागि कोशेढुङ्गा सावित भयो ।

भगवानलाल इन्द्राजीको यहीँ अवदानले बाबुराम आचार्यलाई इतिहासको क्षेत्रमा लाग्न ठूलो प्रेरणा प्राप्त भयो ।

संशोधन मण्डलले ७३ वर्षअघि छापेको पर्चा ।

कुरा वि.सं. १९७६ को हो । बाबुराम आफ्ना बुबा धर्मदत्तको निधनपछि धार्मिक परम्पराअनुसार अस्थि अवशेष गङ्गा नदीमा विसर्जन गर्न विहारको आरा सहर पुगेका थिए । संयोगले उनी त्यहाँको एक पुस्तकालयमा छिर्दा उनै भगवानलाल इन्द्राजीले सङ्ग्रह गरेको नेपालका प्राचीन अभिलेखहरूमा उनको आँखा पर्‍यो । त्यो पढेपछि उनले नेपालमा पनि यस्ता अभिलेखहरू पाइदारहेछन् भन्ने ज्ञान पाए । उनी इतिहाससम्बन्धी ठूलो तृष्णा लिएर घर फर्के । अनि लागे, नेपालका प्राचीन अभिलेखहरूको खोजीमा ।

राणाकालमा नेपालको इतिहासको खोजी र प्रकाशनका लागि अम्विकाप्रसाद उपाध्यय, सूर्यविक्रम ज्ञवाली, इमानसिंह चेम्जोङको ठूलो योगदान छ । उनीहरूले प्रवासमा बसेर नेपालको इतिहासको पुस्तक प्रकाशित गरे । यता गुरुज्यू तोत्रराज पाण्डेसँग मिलेर नयराज पन्तले वि.सं. २००४ मा “नेपालको सङ्क्षिप्त इतिहास” लेख्नु चानचुने घटना थिएन ।

राणाकालमा नेपालको इतिहासको खोजीलाई दुस्साहसपूर्ण मानिन्थ्यो । त्यो अन्धकारको समयमा केही लेख लेख्दा बाबुराम आचार्यले राणाहरूबाट ठूलो खप्की खानु मात्रै परेको थिएन, उनलाई आर्थिक जरिवाना पनि गरिएको थियो ।

अग्रजहरूले आफ्नो समयमा जतिसक्दो प्रमाण जुटाएर लेखे, यसको सम्मान र स्मरण गर्नै पर्छ । तर, उनीहरूले लेख्दा लेख्दै कतिपय तथ्य छुटेको पनि हुनसक्छ । वा उनीहरूले लेख्दा गलत तथ्य पेश गरेका पनि हुनसक्छ । नयाँ पुस्ताले खोजी गर्दा नयाँ तथ्य फेला पर्न पनि सक्छ । यस्तो अवस्थामा अग्रजले लेखेको भन्दैमा त्यसैलाई अकाट्य मानिरहनु जरुरी छैन । त्यसैले यस्तो बेला इतिहासको संशोधनको आवश्यकता पर्छ ।

संशोधन मण्डल जन्म

नेपालमा लेखिएका इतिहासका गल्तीहरू औल्याउन “संशोधन मण्डल” को जन्म भयो । संशोधन मण्डलका सक्रिय सदस्यहरूमध्ये अहिले पनि डा. महेशराज पन्त र प्रा. दिनेशराज पन्त मात्रै सक्रिय छन् । संशोधन मण्डलबाट अलग्गिए पनि हालसम्म जिवित रहेका डा. गौतमबज्र बज्राचार्य र नयनाथ पौडेल इतिहासको खोजी, लेखन, ब्याख्या र विश्लेषणमा सक्रिय छन् ।

संशोधन मण्डलका प्रेरक चाहिँ विद्वत ब्यक्तित्त्व नयराज पन्त हुन् । उनी बनारसबाट ज्योतिष विषयमा उच्च शिक्षा हासिल गरी वि.सं. १९९५ मा फर्कदा तत्कालिन शैक्षिक प्रणालीप्रति असन्तुष्ट भएर फर्केका थिए । ३२ प्राप्ताङ्कले परीक्षार्थी उत्तीर्ण हुने शैक्षिक प्रणालीलाई उनी “त्रिखण्डी शिक्षा” भन्थे ।

यस्तो शिक्षाबाट ज्ञानको दृष्टिकोणले मानिस पूर्ण हुन सक्दैन भन्ने उनको धारणा थियो । त्यसैले उनले वि.सं. १९९७ मा महाबौद्धमा गुरुकुलीय पद्दतिमा आधारित एक पाठशाला खोले । आफ्ना विद्यार्थीलाई पूर्ण शिक्षा दिलाउन स्थापित यस पाठशालामा इतिहास, ब्याकरण, गणित, ज्योतिष, दर्शनजस्ता गहन विषय पढाउँदै विद्यार्थीहरूलाई गहन अनुसन्धान कार्यमा लगाइन्थ्यो ।

नयराज पन्तका विद्यार्थीहरूले वि.सं. २००९ साल असोज ५ गते एउटा पर्चा छापेर वितरण गरे । पर्चामा “इतिहासकारहरूको असावधानीले गर्दा छोरा बाबु, बाबु छोरा भएर कान्तिपुरमल्ल राजाहरूको भ्रमको प्रमाणसहित निराकरण” भन्दै इतिहास संशोधन (संख्या १) छापियो । नयराज पन्तका विद्यार्थीहरू केशवमणि आ.दि., महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारी यो पर्चाको लेखक तथा प्रकाशक थिए ।

असोज ५ गतेलाई इतिहास संशोधन सुरू भएको दिन मान्ने हो भने यो कामले निरन्तरता पाएको पनि ७३ वर्ष पुगेछ । त्यो साल असोज ५ गते घटस्थापना परेको थियो ।

वि.सं. २०१८ मा नयराजकै निर्देशनमा काठमाडौँ मजिष्ट्रेड अफिसमा “संशोधन मण्डल” संस्थागत रूपमा विधिवत दर्ता भयो । भोलानाथ पौडेल अध्यक्ष रहेको यो संस्थामा नयराजकै गुरुकुलीय पाठशालाका विद्यार्थीहरू धनबज्र बज्राचार्य सचिव र कोषाध्यक्ष देवीप्रसाद भण्डारी थिए भने सदस्यहरूमा रामजी तेवारी, शंकरमान राजवंशी, गौतमबज्र बज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त थिए ।

नयराजका विद्यार्थीहरूले यसअघि लेखिएका इतिहासका पुस्तकहरूमा भेटिएका अशुद्धि र गल्तीहरू औल्याएर पर्चाका रूपमा “सावधान पत्र” प्रकाशित गरेर धेरै पटक खबरदारी गरे । उनीहरूको खबरदारीमा परेका इतिहासकारहरूमा बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी, रुद्रराज पाण्डे आदि छन् । इतिहास शिरोमणि बाबुराम आचार्यका कमजोरीहरूको विषयमा पनि नयराज पन्त र शंकरमान राजवंशीले “पूर्णिमा” पत्रिकामा प्रार्थना पत्र नै प्रकाशित गरेका थिए । धनबज्र बज्राचार्य तथा ज्ञानमणि नेपालजस्ता अब्बल दर्जाका इतिहासकारहरू नयराज पन्तकै गुरुकुलिय विद्यार्थी हुन् ।

संशोधन मण्डलमा अहिले नयराजका दुई छोरा महेशराज र दिनेशराज पन्त मात्रै सक्रिय छन् । अधिकाँशले स्वयम्सेवी रूपमा विद्याको पूजा गर्दा वृत्ति नचल्ने ठानेर संशोधन मण्डल छाडेर गए । पछि महेशराज पनि जर्मन परियोजनातिर लागे भने दिनेशराज चाहिँ विश्वविद्यालयको प्राध्यापनतिर लागे ।

उनीहरू दुवैले गरेको शोध र विद्वता देखेर महेशराजले सिधै विद्यावारिधि गर्ने अवसर पाए भने दिनेशराज प्राध्यापक पदबाट सेवा निवृत्त भए । दुवैले कुनै मान्यताप्राप्त विद्यालयबाट एकै कक्षा पनि उत्तीर्ण गरेका होइनन् । उनीहरू आफ्नै बुबा नयराजले खोलेको गुरुकुलीय पाठशालाबाट दीक्षित भएका हुन् ।

अंशबन्डामा किताब

नयराज पन्तका मावलीखलक दरबारका राजज्योतिष हुन् । बहादुर शाहकालीन प्रशिद्ध ज्योतिषी लक्ष्मीपति पाँडे नयराजका मावली पुर्खा हुन् । उनको समयदेखिका प्रशस्तै हस्तलिखित ऐतिहासिक सामग्री संशोधन मण्डलको सङ्ग्रहमा छ । उनीहरूको पुस्तकालयमा प्रकाशित पुस्तक मात्रै होइन, पुराना पात्रोहरू, लालमोहर, ताडपत्रलगायत प्रशस्तै हस्तलिखित सामग्रीहरू सुरक्षित छन् । यस्तै घामबाट समय पत्ता लगाउने धुपघडी जस्त यन्त्रहरू पनि उनीहरूले सुरक्षित राखेका छन् ।

संधोधन मण्डलको डल्लुस्थित कार्यालय ।

वि.सं. २०५९ मा बुबा नयराज पन्तको निधनपछि दुवै दाजु भाईमा बुबाले सङ्ग्रह गरेको पुस्तक तथा हस्तलिखित कसले सम्हाल्ने भन्ने विषयमा महेशराज र दिनेशराजमा छलफल भएछ । मैले दिनेशराजबाट सुनेअनुसार बुबाको सङ्ग्रह दुवै भाईले अङ्शवण्डा गर्दा दाजु महेशराजले हस्तलिखित सामग्री सम्हाल्ने र भाई दिनेशराजले पुस्तकहरू सम्हाल्ने निधो भएछ । अध्ययनको आवश्यकतामा दुवैको अधिकार बराबर रहने भएछ ।

एक दिन म महेशराज पन्तको घरमा पुगेको थिएँ । उनको विशाल घरका दुई फ्ल्याट त पुरै पुस्तकालय । निजी खर्चमा कर्मचारी राखेर पुस्तकहरूको क्याटलगिङ भइरहेको देख्दा संशोधन मण्डलको विद्याप्रतिको समर्पण विरलाकोटीको अनुभूत भयो ।

झण्डै जलेको अमूल्य निधि

भदौ २३ र २४ गते देशभर मच्चिएको नवयुवाहरूको आन्दोलनले देशका अपूर्व परिवर्तनको सङ्केत गरेको छ । यसमा ७२ जनाको ज्यान गयो । राज्यको तीन अङ्ग रहेका भवनहरू भष्म भए । आन्दोलनकारीहरूले घुसपैठीयाहरूले भवनमा आगो लगाएको भन्ने स्पष्टीकरण दिएका छन् । राज्यपक्षबाट नवयुवाहरूको ज्यान लिने जुन काम भयो, त्यो अत्यन्तै निन्दनीय छ, राज्यको सम्पदाहरूमा आगो झोस्ने काम पनि कम निन्दनीय छैन ।

जुपिटर प्रधानलगायत साथीहरूले पुरातत्त्व विभाग अविवेकीहरूबाट बडो मुस्किलले बचाएको समाचार सुन्न पाउँदा यस स्तुत्य कार्यको लागि उनीलगायत साथीहरूको खुट्टैमा ढोग्न मन लागेको छ ।

भदौ २४ गते पूर्वप्रधानमन्त्रीहरूको घरमा आगो लगाइएको, पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा पनि आगो लगाइएको र आगोको मुस्लोभित्र खनालकी पत्नी रविलक्ष्मी चित्रकार परेको समाचार पढ्न पर्दा मन असामान्य रूपमा विचलित भयो । अकालमा नवयुवाहरूको मृत्युवरण, जताततै आगोको मुस्लो, ज्यूँदो मानिसको दहनको समाचारले आङ सिरिङ्ग बनायो ।

त्यसैबेला मैले संशोधन मण्डललाई पनि बेस्सरी सम्झेँ । कारण, डा. महेशराज पन्त पूर्वप्रधानमन्त्री झलनाथ खनालका आँगन जोडिएका छिमेकी हुन् । संशोधन मण्डलको कार्यालय पनि पन्तकै घरमा छ । पन्तको डल्लु आवासक्षेत्रमा रहेको घर निजी निवासमात्रै होइन, विशाल ज्ञानको भण्डार पनि हो । त्यहीँ छ, विशाल निजी पुस्तकालय र अमूल्य अनि दूर्लभ ऐतिहासिक सामग्रीहरू । झलनाथ खनालको घरमा झोसिएको आगो पन्तको घरसम्म फैलिएको भए के हुन्थ्यो ?

धन्न भदौ २४ को वितण्डामा धन्न संशोधन मण्डलको कार्यालय र पुस्तकालय जोगिएछ । सम्पदाहरूमा आगो झोसेर खरानीमा खेल्ने अविवेकीहरूलाई ऐतिहासिक गौरवहरूको महत्त्व के थाहा ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *