
हामी त्यो पुस्ता हौं– जसलाई परिवर्तनको कुरा गर्ने बानी त थियो, तर व्यवहारिक कदम चाल्ने साहस न्यून थियो।
वर्षौँदेखि चिया गफको रमाइलोसँगै हामीले देशका समस्याबारे कुरा गरिरह्यौं।
विचार–विमर्श र त्यसको आलोकमा आफ्नो चेतनालाई उद्याइरह्यौं। मथिङ्गलमा समाज सुधारका नूतन नारा सिँगारिरह्यौं।
चाहे त्यो भ्रष्टाचार होस्, नातावाद होस् वा ‘नेपो बेबी’ संस्कृतिको जरा, सबैको गहिरो विश्लेषण गर्यौं।
तर त्यो विश्लेषण र बहस प्रायः क्याम्पसका कोठाभित्र वा चिया पसलका सुरक्षित पर्खालभित्र मात्र सीमित रह्यो। हामीलाई सबथोक थाहा थियो, तर सडकमा उत्रन केले बाधिरह्यो।
हामीले आलोचना त गर्यौं। तर आलोचनाले मात्र रूपान्तरणको तहमा पुर्याउँदैन भन्ने हामीलाई थाहा थियो।
आँखै सामुन्ने खात लागिरहेका बेथितिविरुद्ध प्रत्यक्ष रूपमा कदम चाल्न र आइपर्ने परिस्थितिको सामना गर्ने आँट हामीलाई आएन।
भदौ २३ र २४ दिन काठमाडौंका सडकमा देखिएका घटनाहरू केवल सामान्य विरोध प्रदर्शन मात्र हुँदै होइनन्। ती त हाम्रो मौनता र सुरक्षित पर्खालहरूलाई चिरिँदै आएको तीव्र चेतना थिए। त्यसैको आलोकमा सडक प्रज्ज्वलित बनेको थियो। आवाजहरू मुखरित बनेका थिए। क्षितिजमा परिवर्तनको सुनौलो आभा उदाइरहेको थियो।
हामीलाई थाहा छ–त्यो चेतनाको मूल्य सस्तो थिएन।रगतको मूल्य कल्पनातीत र वर्णनातीत हुन्छ। दुनियाँको परिवर्तनको मूल्य रगतसँगै गाँसिएको छ।
७४ भन्दा बढी युवाको दुःखद मृत्यु, १४–१५ वर्षका किशोर किशोरीहरूको विदारक तस्बिर, र हाम्रा साथीहरू अस्पतालको खाटमा आफ्ना अंगहरू गुमाउँदै सुमसुम्याइरहेका दारुण दृश्य।
यी केवल समाचारका शीर्षकहरू होइनन्। यी हाम्रो सामूहिक चेतनामा रहेको स्थायी घाउ हो। यी युवा योद्धाहरूले आफ्नो व्यक्तिगत भविष्य र सम्भावनाहरूलाई आहुति दिए, किनभने उनीहरूको दृष्टि व्यक्तिगत भन्दा ठूलो थियो। एक राम्रो, स्वाभिमानी र न्यायपूर्ण नेपालको सपना, उनीहरूको मानसपटलमा रहेको साझा र समवेत सपना हो।
उनीहरूले तिरेको अन्तिम मूल्य—आफ्नो जीवन—हामीमाथि एउटा गम्भीर प्रश्न छोडेर गएको छ। त्यो मूल्यले हामीलाई केवल सम्झाउने मात्र होइन, अन्तिम जिम्मेवारीको सामना गर्न बाध्य बनाउँछ। अब हामीलाई चुनाव गर्नु छ, के हामी फेरि सुरक्षित पर्खालभित्र फर्कन्छौं? के उनीहरूले देखेको सपनालाई व्यवहारमा उतार्ने साहस गर्छौं? उनीहरूको बलिदानले हामीलाई दर्शाएको बाटो स्पष्ट छ। तर त्यो बाटो हिँड्ने जिम्मेवारी अब हाम्रो काँधमा छ।
विद्यार्थी राजनीतिमा संलग्न एक व्यक्तिको रूपमा, ‘जनताको लागि’ भन्ने हाम्रो कार्य संस्थागत ढाँचाभित्रै सम्पन्न भइरहेको छ भन्ने विश्वासमा हामी अघि बढिरहेका थियौं। तर आज म एउटा गाह्रो सत्य स्वीकार गर्न बाध्य छु। हामी पर्खालभित्रको औपचारिकता र प्रक्रियामा व्यस्त थियौं। तर पर्खालबाहिर जनताले चिच्याइरहेका गगन भेदी आवाजहरूलाई हामीले सुन्न सकेनौं। हामीले आफ्ना कर्तव्यहरू पूरा गर्ने दाबी त गरिरहेका थियौं, तर वास्तविकतामा हामी जनताको पीडा, आक्रोश र तत्काल आवश्यकताबाट टाढा थियौं।
यो हाम्रो सबैभन्दा ठूलो असफलता हो।र, यसको सम्पूर्ण जिम्मेवारी हामीले नै लिनुपर्छ। त्यसैले, हामी माफी चाहन्छौं। केवल औपचारिक माफी होइन, तर आत्माको गहिराइबाट आएको अथाह माफी। यो माफी केवल शब्दको रूपमा नभएर, अबको हाम्रो कार्य र प्रतिबद्धतामा प्रतिबिम्बित हुनेछ।
हामीलाई थाहा छ—जति वटा माफी मागे पनि एउटा ज्यान फिर्ता ल्याउन सकिँदैन! न त घाइते शरीरलाई तत्काल निको पार्न सकिन्छ। जीवनको मूल्यसँग तुलना गर्दा शब्दहरू सधैं अपर्याप्त हुन्छन्।
तर यति भने निश्चित छ, हाम्रो माफी अन्त्य हुन सक्दैन। यो मात्र सुरुवात हुनुपर्छ। यो शब्दमा सीमित नभई कर्ममा परिणत हुनुपर्छ। यो माफी भविष्यप्रति हाम्रो पवित्र प्रतिज्ञाको आधार बन्नुपर्छ—अब हामी मौन बस्दैनौं। अब हामी टाढा बस्दैनौं। हामी जनताको पीडालाई आफ्नै पीडा मान्छौं। र यो बलिदानलाई खेर जान नदिने अठोट गर्छौं।
चिया पसलका बहसहरू अब सकिएका छन्। अब सडकमा देखिएको ऊर्जा, पीडा, र मागहरू हाम्रो भित्री कार्यको आत्मा बन्नुपर्छ। सहिदहरूको सपनाहरू अब केवल सम्झनाका विषय होइनन्। हाम्रो जिम्मेवारी हुन्। उनीहरूको साहस अब हाम्रो दैनिक कामको प्रेरणा हुनुपर्छ।
अब यो केवल विद्यार्थी राजनीतिसम्म सीमित कुरा होइन। यो राष्ट्रिय उद्धारको प्रश्न हो। भविष्यको निर्णायक मोड हो। त्यसैले, हाम्रा सहिद दाजुभाइ र दिदीबहिनीहरूलाई हामी यो प्रतिज्ञा गर्दछौं; हामीले देख्यौं, हामीले तिमीहरूको आवाज हृदयको गहिराइबाट सुन्यौं। परिवर्तनको
मूल्य र दायित्वबाट सुन्यौं। तिमीहरूको सपनाहरूलाई हामी हरेक बैठकमा, हरेक छलफलमा, हरेक नीति वादविवादमा जीवित राख्नेछौं। हामी रोकिँदैनौं, हामी थाक्दैनौं, हामी निरन्तर रहनेछौं।
उनीहरूको बलिदानले ती अदृश्य पर्खालहरूलाई ढालिदिएको छ। आज, ‘भित्र’ र ‘बाहिर’ भन्ने कुनै भिन्नता छैन। हामी सबै एउटै मोर्चामा छौं। समान लक्ष्यका लागि।
त्यो लक्ष्य हो–त्यो नेपाल निर्माण गर्ने, जसका लागि हाम्रा युवा योद्धाहरूले आफ्नो जीवन आहुति दिए। यो केवल सपना होइन, यो हाम्रो काँधमा परेको पवित्र ऋण हो। र त्यो ऋण तिर्नु, त्यो वाचा पूरा गर्नु, अब हाम्रो अनिवार्य कर्तव्य हो।
(लेखक अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हुन्।)

Leave a Reply