देउवालाई हटाउन आफूनिकट नेताहरूले हस्ताक्षर अभियान चलाएपछि शेखर-गगन नजिकिएका हुन् ?

काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा पार्टी पुनर्गठनको तीव्र बहस चलिरहेको छ। महामन्त्री गगन थापाले अब पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वबाट अघि बढ्न नसक्ने भन्दै पुनर्गठनको बहस छेडेका हुन्।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत युवा नेताहरूको साथ छ । त्यति मात्रै होइन, इतर पक्षका नेता डा। शेखर कोइराला पनि यथास्थितिमा पार्टी नचल्ने भन्दै फागुन २१ गते हुने निर्वाचन अघि नै नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्।

देउवा भने आन्दोलनकारीको आक्रमणबाट घाइते भएर अहिले पनि उपचाररत छन्। पार्टीभित्र तीव्र रूपमा नेतृत्व परिवर्तनको बहस चलिरहेको भएपनि अस्पतालबाटै देउवा पत्नी आरजु राणा आफूनिकट नेताहरूसँग निरन्तर संवादमा छिन्।

उनले अहिले विशेष महाधिवेशनको कुरा नगर्न भनेकी छन्। सभापति घाइते भएर अस्पतालमा हुँदा पनि हटाउन चलखेल गरेको भन्दै संस्थापन पक्षका नेताहरू भने रुष्ट छन्।

तर, इतर पक्षका नेताहरूले भने विशेष महाधिवेशन माग्दै अहिले देशव्यापी रूपमा हस्ताक्षर अभियान चलाइरहेका छन्। असोज ६ गते नेता कोइराला र महामन्त्री थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले वक्तव्य जारी गर्दै हस्ताक्षर सङ्कलन अभियान थालेका थिए।

कांग्रेसको १४ औँ महाधिवेशनमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए। विधान अनुसार महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतको हस्ताक्षर गरेर महाधिवेशन बोलाउन सक्ने प्रावधान छ।

हस्ताक्षर अभियानको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेले अहिले देशव्यापी रूपमा हस्ताक्षर सङ्कलन भइरहेको बताए।

कोइराला निकट नेता घिमिरेले भने, ‘हामीले जिल्ला जिल्लामा फर्म्याट पठाएका छौँ। जिल्ला सभापति, क्षेत्रीय र महाधिवेशन प्रतिनिधिलाई पठाएको छौँ। केही साथीहरूले तुरुन्तै गरिरहेका छन्, कहीँ बैठक राखेर बढीभन्दा बढी हस्ताक्षर गराउने वातावरण बनाउँदै हुनुहुन्छ।’

उनले विशेष महाधिवेशन माग गर्ने जिल्लाहरूमा हस्ताक्षर भइरहेको र नभएका जिल्ला समितिहरूमा छलफल गरेर संस्थागत रूपमा नै गर्ने पनि पहल भइरहेको बताए।

उनले भने, ‘हामीले बुधवार बेलुकाबाट तल्लो तहमा पठाएका हौँ। आजसम्म त्यो जारी छ। कुनै २५ जना महाधिवेशन प्रतिनिधि भएको जिल्लामा कम्तीमा १९/२० जनाले हस्ताक्षर गरेका छन्। अधिकांश जिल्लाहरूमा ५० प्रतिशत भन्दा धेरैले हस्ताक्षर गरेको खबर आइरहेको छ।’

उनले केन्द्रबाटै दबाब गइरहेकाले अहिले हस्ताक्षर गर्नेहरूको नाम खुलाउन सक्ने अवस्था नरहेको बताए। ‘माथिल्लो तहबाट नै हस्ताक्षर नगर्न फोन गइरहेको सूचना हामीले पाइरहेका छौँ। हस्ताक्षर अभियान रोक्ने प्रयास हुँदै छ’ उनले भने, ‘हामीसँग ४७ सय ४३ जना महाधिवेशन हुनुहुन्छ। त्यसको ४० प्रतिशत भनेको १९ सय हाराहारी हो। हामी ३ हजार हाराहारी पुर्‍याउने गरी अघि बढेका छौँ।’

उनले विधान अनुसार नै आफूहरूले अभियान चलाएको जिकिर गरे। नेता घिमिरेले थपे, ‘केहीले नेतृत्व फेर्न हुँदैन भनिराख्नुभएको छ। त्यस्तो विमति पार्टीमा आउनु स्वाभाविक हो। हामीले विधानले नै परिकल्पना गरेको बाटोबाट माग गरेका हौँ। यो अभ्यास हामीले पहिला पनि गरिसकेका छौँ। हामीले संस्थागत रूपबाटै गराउन खोजेका हौँ।’

उनले अहिलेकै नेतृत्वमा कांग्रेस चुनावमा जान सक्ने अवस्था नभएको बताए। नेता घिमिरेले भने, ‘भ्रष्टाचार, बेथिति र दमनको प्रश्न उठेको छ। यो प्रश्नको भारी लिएर चुनावमा जान सकिँदैन। जेनजी आन्दोलनमा भएको दमनको जिम्मा कसले लिने रु पार्टी पनि सरकारमा थियो। हामीसँग जनालाई दिने जवाफ छैन। त्यसैले यथास्थितिमा अघि बढ्न सकिँदैन।’

उनले पार्टी यति बेलासम्म विशेष महाधिवेशनको पक्षमा उभिएर काम थालिसक्नुपर्ने भएपछि ढिलाइ भइरहेको बताए।

त्यसो त १५ औँ महाधिवेशनमा नेतृत्व हत्याउन अलग अलग हिँड्ने प्रयासमा रहेका नेता कोइराला र महामन्त्री थापा पनि नजिकिएको एक नेताले दाबी गरे। जेनजी आन्दोलनपछि बदलिँदो परिस्थितिबारे बुधवार दुई नेताबीच छलफल पनि भएको थियो।

अहिले व्यक्तिगत आकाङ्क्षालाई छाडेर पार्टी बचाउन एकजुट भएर बढ्ने समझदारी भएको ती नेताले दाबी गरे। भेटबारे उनले भने, ‘उहाँहरुबीच अहिले व्यक्तिगत आकाङ्क्षा भन्दा पनि पार्टी र संस्था जोगाउने कुरा प्राथमिकता दिनुपर्छ। त्यसैले अहिले संकटको बेलामा मिलेर जानुपर्छ भन्ने समझदारी भएको छ।’

अहिले नियमित महाधिवेशन गर्नसक्ने अवस्था नभएकाले नरहेकाले विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा दुवै नेता सहमति रहेको दाबी गरे।

तर, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने पार्टी नियमित महाधिवेशनको लागि अगाडि बढिरहेको बेलामा विशेष महाधिवेशनको कुनै सान्दर्भिकता नहुने तर्क गर्छन्। उनी भन्छन्, ‘महाधिवेशन गर्ने जिम्मेवारी पार्टी पदाधिकारी कै हो। अहिले सभापति बिरामी हुनुहुन्छ। विशेष महाधिवेशन गर्दा पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्नबाट वञ्चित हुन्छ। त्यसैले विशेष महाधिवेशन पनि भन्ने समय पुगेकाले अर्ली महाधिवेशन पनि भन्न परेन त्यसैले नियमित महाधिवेशन मै जानुपर्छ भन्नेमा नेताहरू एकमत नै देखिनुहुन्छ।’

दसैँ लगत्तै केन्द्रीय कमिटी बैठक बसेर साझा धारणा तय गर्ने उनले बताए। ‘फागुनमा हुने चुनाव अगाडि नै गर्न पनि सकिन्छ त्यसका लागि हामीले पार्टीका केही विधानका धाराहरूलाई परिमार्जन गर्नुपर्छ। अब दसैँ लगत्तै केन्द्रीय कमिटी बैठक बस्छ’ उनले भने, ‘देउवालाई हटाइहाल्नुपर्छ भनेर जिम्मेवार नेताहरूले बोल्नुभएको छैन। केही साथीहरूको व्यक्तिगत अभिव्यक्ति आइरहेको छ।’

अब सभापतिलाई ठिक हुनासाथ केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको मोडेल अगाडि बढाउने बताए। नियमित महाधिवेशन गर्ने बेलामा हस्ताक्षर अभियान चलाएर बाहिर अनावश्यक हल्ला चलाइएको बताए।

प्रवक्ता प्रकाशशरण महत पनि विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउने तर्क गर्छन्। उनी भन्छन्, ‘यस्ता अभियानले पार्टीलाई कमजोर बनाउँछ, त्यसैले पार्टीभित्र गुटगत गतिविधि रोक्नुपर्छ। यथाशक्य चाँडो केन्द्रीय समिति बैठक बसेर साझा धारणा बनाएर अघि बढ्नुपर्छ।’

अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको भन्दै महामन्त्री थापाप्रति तीव्र आक्रोश पोखेका थिए। आइतबार आफ्नो घरको भग्नावशेषबाटै सम्बोधन गर्दै सभापति देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठिक नभएको उनको भनाइ थियो।

उनले भनेका थिए, ‘अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?’

महामन्त्री विश्वप्रकाश शर्मा पनि पार्टीभित्र फरक फरक विचारहरू आउनु स्वाभाविक भएको बताउँछन्। ‘महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने बहस पार्टीमा चलिरहेको छ। हामी चाँडै केन्द्रीय समितिको बैठक बसेर चाँडै साझा धारणा बनाउँछौँ’ शनिवार मकवानपुर पुगेर उनले भने, ‘कसैले फरक मत राख्दैमा कोहीले रातोपिरो अनुहार लगाउन आवश्यक छैन।’

उनले अहिले पार्टीभित्र रूपान्तरणको चाहना तीव्र पाइएको बताए। उनले थपे, ‘यो प्रतिकुलताकै बेलामा जसले रूपान्तरणको आवाज उठाउँछ त्यसैलाई अघि बढाउने हो। अब जो बद्लिन्छन् त्यसले नेतृत्व गर्छन्, जो बदलिन्न उनीहरू बिदा हुन्छन्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *