नेकपा एसमा अर्को झमेला- अहिलेकै स्थितिमा एकता नमान्ने ‘पुनर्गठन पक्षधर’ को अडान

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले शुक्रवार जारी गरेको अपानि- १० अनुसार ११ वटा सैद्धान्तिक आधारसहित वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता गर्ने भनेको छ । तर, त्यसका निम्ति गठित वार्ता टोलीकै सदस्य तथा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला यथास्थितिमा हुने एकताको पक्षमा छैनन् ।

जेनजी आन्दोलनपछि पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले ‘पहिले पुनर्गठन त्यसपछि विचार मिल्नेसँग एकता’ भन्दै आएको थियो । तर, पर्याप्त छलफलबिनै र पुनर्गठनको एजेन्डालाई बेवास्ता गर्दै शुक्रवार सैद्धान्तिक आधारसहित वार्ता टोली घोषणा भएपछि पुनर्गठनपक्षधर नेता रुष्ट छन् ।

‘पुनर्गठनपछि एकता’ का पक्षधर नेतामा सम्मानित नेता खनाल, महासचिव भुसालसहित नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, प्रकाश ज्वाला, उपमहासचिव गरिमा शाह, स्थायी कमिटी सदस्यहरू हरि पराजुली, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, पोलिटब्युरो सदस्य धर्म निरौला, दीर्घ सोडारी, नरेश शाही, लक्ष्मण लम्साल, बलदेव चौधरी, अशेष घिमिरेसहित ९७ जना केन्द्रीय सदस्य छन् ।

केन्द्रीय सदस्य अशेष घिमिरे अब हुने एकताले पुनर्गठन र नेतृत्व हस्तान्तरणको छनक दिनुपर्ने बताउँछन् । ‘लामो समय एउटै व्यक्ति प्रमुख नेतृत्वमा हुनु, तर त्यसले समाजको आर्थिक सामाजिक रूपान्तरण र आजको ज्वलन्त मुद्दा सुशासन र रोजगारीलाई समाधान दिन नसक्नु जनताका लागि, खासगरी गरिखाने वर्गका मान्छेलाई प्रिय नभएको कुरा हामीले बुझ्नुपर्छ’, उनले भने ।

पार्टीले वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग गर्ने भनेको एकता र त्यसका लागि सार्वजनिक गरेको ११ बुँदे सैद्धान्तिक आधार स्पष्ट नभएको भन्दै उनी एकताको उद्देश्य र स्वरूपमाथि प्रश्न उठाएका छन् । उनले भने, ‘अहिले गर्ने भनेको एकता किन र के को लागि ? क्रान्तिका लागि एकता कि सत्ताका लागि ?’ राजनीतिक वैचारिक कुराभन्दा सत्तास्वार्थले गरिने एकता गर्दा जनताले नपत्याउने खतरा रहेको उनले बताए । ‘जनता विगतको नेकपा एकता र त्यसपछि धोखा भयो भन्ने बुझाईँमा छन्, त्यसैले ०७५ सालमा भएको एमाले-माओवादी एकताबाट पाठ सिक्नु पर्छ’, उनले भने ।

पार्टीकै आन्तरिक एकता मजबुत नभएको स्थितिमा गरिने एकता निश्चित नेताका पद सुनिश्चित गर्ने र थुप्रैलाई अलपत्र पार्ने कुत्सित मनसायबाट प्रेरित रहेको एक पदाधिकारीले बताए । ‘आफ्नै युवा, विद्यार्थीको झगडा मिलाउन सकिएको छैन, अपानिबाट वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता गर्ने कुरा आउँछ’, उनले भने, ‘एकतामा आउन मन भए आओ, नआए जेसुकै गरेको शैलीमा माधव नेपाल अगाडि बढ्नुभयो ।’

ती पदाधिकारीको कुरालाई केन्द्रीय सदस्य घिमिरे पनि स्वीकार गर्छन् । उनले भने, ‘आफैँभित्र भने अनेक बेमेल हुने, सँगै बस्न सक्छन् कि सक्दैनन् भन्ने संशय उत्पन्न हुने, अनि अरूसँगचाहिँ एकता-एकता भन्ने कुरा आफैँमा राम्रो होइन, त्यसलाई जनताले पत्याउँदैनन् ।’

आफूभित्रका अन्तर्विरोध हल नगर्ने, बरू चर्काउने, तर फरक पार्टीबीच एकता भन्नु भनेको खास खास नेताको संकट टार्न खोज्नुभएको उनको भनाइ छ ।

घनश्याम नेतृत्वमा पुनर्गठन

नेकपा एसभित्र महासचिव घनश्याम भुसालको नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्ने र त्यसका निम्ति विशेष महाधिवेशन आयोजना गर्नुपर्ने स्वर बलियो बनेको छ । तर, अध्यक्ष माधव नेपाल पक्ष यस्तो कुरा सुन्न चाहँदैनन् । त्यसैले हत्तपत्त एकताका ११ आधारसहित वार्ता टोली बनाइएको उक्त पक्षको आरोप छ ।

स्रोतका अनुसार महासचिव घनश्याम भुसाललाई अगाडि बढाउने र क्रान्तिकारी पार्टी निर्माण गर्ने विषयमा सम्मानित नेता खनाल सकारात्मक छन् । तर, पार्टी अध्यक्ष नेपाल दशैं बिदाकै बीचमा समाजवादी मोर्चालाई राजनीतिक दलमा परिणत गराउने गरी एकता सम्पन्न गर्ने हतारोमा छन् ।

माओवादीले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुअघि दशैंअगावै विचार मिल्ने वामपन्थी शक्तिबीच एकताको आह्वान गरेका थिए । लगत्तै एकीकृत समाजवादीले असोज २ गतेको केन्द्रीय सचिवालयको दशौँ बैठकको निर्णय भन्दै अपानि जारी गरेको थियो ।

यदि पुनर्गठन नगरी नेपाल पक्षले हतार हतार माओवादीसँग एकता गरेमा नेकपा (एकीकृत समाजवादी) लाई पुनर्गठन गरेर पार्टीलाई ‘क्रान्तिकारीकरण’ गरिने झलनाथ-पक्षधरको तयारी छ । शुक्रवार वार्ता टोली नै तोकेर अपानि जारी गरेपछि हालसम्म नेपाल पक्षमा रहेका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडाबीच केही गोप्य छलफल भएको स्रोतले जनाएको छ ।

रनभूलमा वामदेव समूह

वरिष्ठ नेता वामदेव गौतमले भर्खरै पार्टी एकता राष्ट्रिय अभियानलाई एकीकृत समाजवादीमा एकता गराई आफूले पद त पाए । तर, अध्यक्ष नेपालले बिनासल्लाह माओवादीसँग एकता गर्ने तयारी थालेपछि उनी रनभूलमा परेका छन् । तर, कुनै प्रतिक्रिया दिन चाहेनन् । वामदेव समूहको तर्फबाट स्थायी कमिटी सदस्य बनाइएका डीबी कार्की यही अन्यौलताका कारण शपथमा नभएको बताउँछन् । ‘खै, के गर्ने, के गर्ने’, उनले नेपाल प्रेससँग भने ।

को–को छन् माधवसँग

बिनापुनर्गठन र आफ्नो पार्टीभित्रका विवाद हल नगरी हुने एकतामा सामेल नहुने नेताभन्दा अध्यक्ष नेपालको साथमा लाग्ने नेताको संख्या पार्टीभित्र बढी छ । उनीसँग हालसम्म वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टारई, नागेन्द्र चौधरीसहितका पदाधिकारी छन् । केन्द्रीय कमिटीमा उनको बहुमत छ । यद्यपि, उक्त केन्द्रीय कमिटीलाई निर्वाचन आयोगले हालसम्म मान्यता भने दिएको छैन ।

उपाध्यक्ष भानुभक्त जोशी, धर्मनाथप्रसाद साह, केन्द्रीय नेता विरोध खतिवडासहित तटस्थ छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *