
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको क्रममा २४ गते आफूलाई मार्ने योजना बनेको दाबी गरेका छन् ।
गुण्डु पुगेका पार्टी निकट आदिवासी जनजाति नेता कार्यकर्तामाझ उनले बालुवाटारबाट भाग्दाको क्षण सुनाएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा नेतृत्वको टोलीलाई ओलीले कांग्रेस सभापति देउवालाई घाइते बनाउने र ५ मिनेटमात्र ढिला भएको भए आफूलाई मार्ने योजना भएको बताएका छन् ।
सुरक्षाकर्मीमाथि भरोसा भएपनि ‘हामी केही पनि गर्न सक्दैनौं’ भनेर बालुवाटारबाट निकालेको उनले सुनाए ।
ओलीको भनाइ जस्ताको तस्तै
जीवनमा यस्ता उतारचढाव, मारिने परिस्थिति कति आए, कति मारिँदा-मारिँदै उम्केको । यसपल्ट पनि पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए । शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाई चाहिं मार्ने खालकै योजना रहेछ । र, मार्न खोजेका हुन् तर पाएनन् । अर्को मैले आफ्नो तयारी पनि गर्न पाइनँ । सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो तर हामी केही पनि गर्न सक्दैनौं भनेर अन्तिममा सेनाले भगाइसम्म दियो । त्यहाँबाट निकाल्यो भनौं न। नत्र त पाँच मिनेटभित्र मार्ने नै रहेछ । त्यो अवस्थाबाट पनि जोगिया छ ।
उनले आफ्नो मनोबल कहिल्यै कमजोर नभएको भन्दै थपे, ‘कमजोर मनोबल भएर हामी केही गर्न सक्दैनौं । यसका विरुद्ध ठूलो षड्यन्त्र भइराख्या छ । षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ, हरेस खानु हुँदैन । एकजुट भएर अगाडि बढ्नुपर्छ। देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरु यो त महाअपराधिक घटना, क्रियाकलाप हो । यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौं हामीले । एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउने, यसपल्ट त हाम्रो चाहिँ अलिकति कमजोरी भयो । यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन तर देशद्रोही तत्वहरु, अपराधि तत्वहरु विभिन्न ठाउँ-ठाउँमा पनि पुग्या रहेछन् ।’
अहिले पनि फलानालाई मार्नुपर्छ, घरमा आगो लगाउनुपर्छ भनिरहेको बताउँदै ओलीले भने, ‘कस्तो वाक स्वतन्त्रता, कस्तो अधिनायकवाद हो, तानाशाही हो ? यिनले कस्तो व्यवस्था ल्याउन चाहेको ?’
भेटमा महासंघका अध्यक्ष शेर्पाले सबै आदिवासी जनजाति एकजुट भएर सामना गर्न साथमै रहेको ढाडस दिएका छन् ।

Leave a Reply