
मुस्ताङ । प्रतिकूल मौसम र जेनजी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।
अनुकूल मौसमसँगै पर्यटकीययाम सुरु भएपछि सञ्चालनमा आएको पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसम र प्रदर्शनको प्रभावका कारण स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको हो ।
सो क्षेत्रमा उडान भर्दै आएका निजी वायु सेवा कम्पनी समिट एयरलाइन्स र तारा एयरलाइन्स कम्पनीले उडान स्थगित गरेकामा करिब एक महिनापछि समिट एयरको ट्वीनअटर जहाजले नियमित उडान सञ्चालनमा ल्याएको समिट एयरलाइन्सका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीले जानकारी दिए ।
प्रतिकूल मौसम र जेनीद्वारा गरिएको प्रदर्शनपछि तीन हप्ता उडान स्थगन गरिएकामा आजदेखि नियमित सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।
पोखरा–जोमसोम नियमित हवाई सेवा सञ्चालनमा आएसँगै पहिलो दिन समिटका जहाजले दुईवटा उडान भरेका छन् । यहाँ १० भारतीय पर्यटकसहित अन्य तेस्रो मुलुकका २४ जना विदेशी पर्यटक बोकेर सेवा सञ्चालनमा ल्याइएको स्टेशन इन्चार्ज थकालीले जानकारी दिए ।
‘जेनजी प्रदर्शन हुनुअघि पोखरा–जोमसोम हवाई सेवा प्रतिकूल मौसमका कारण उडान हुनसकेको थिएन । प्रर्दशनपछि भारतीय सीमानाका बन्द गरिएपछि टिकट बुकिङ गरेका पर्यटकले पनि टिकट रद्द गरेसँगै हवाई सेवा प्रभावित बनेको थियो’, उनले भने ।
हवाई सेवाका लागि पर्यटक टिकट बुकिङ भइरहेकाले नियमित उडानमा कुनै समस्या नहुने स्टेशन इन्चार्ज थकालीले जनाए । ‘प्रदर्शनपछि परिस्थिति सामान्य बन्दै जान थालेको छ, विदेशी पर्यटकको बुकिङ पनि भइरहेको छ, अब समिट एयरलाइन्सको जहाजले नियमित सेवा रोक्दैन, यहाँ हवाई पर्यटक बढेपछि उडानसमेत वृद्धि हुँदै जानेछ’, उनले बताए ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले स्थगित पोखरा–जोमसोम हवाई सेवा आजदेखि नियमित सञ्चालनमा आएको उल्लेख गरे ।
समिट एयरलाइन्सका जहाजले दुई उडान र माउन्टेन वायर फायर तालिम सकिएर फर्किन लागेका स्वदेशी तथा विदेशी सेनालाई लिन नेपाली सेनाको ट्वीनअटर जहाज जोमसोम अवतरण भएका उनले जानकारी दिए ।
तारा एयरलाइन्सले पनि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जोमसोमस्थित स्टेशन इन्चार्ज सुजन लालचनले बताए । उनका अनुसार यहाँ तारा एयरलाइन्सले आगामी अक्टोबर १ देखि सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रतिकूल मौसम र जेनजी प्रदर्शनले उत्पन्न परिस्थितिका कारण प्रभावित बनेको पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएसँगै यहाँका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । जोमसोमस्थित होटल मेजस्टीका सञ्चालक निसान तुलाचनले प्रदर्शनका कारण सुस्ताएको यहाँका पर्यटन व्यवसाय हवाई उडान सुरु भएसँगै चलायमान हुने विश्वास व्यक्त गरे । -रासस

Leave a Reply