
काठमाडाैं । भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आचारसंहिता उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ । उनलाई सेप्टेम्बर १४ मा एसिया कपको समूह चरणको खेलपछि भारत र पाकिस्तानबीच भएको सैन्य भिडन्तबारे टिप्पणी गरेको आरोप लागेको हो ।
आईसीसी म्याच रेफ्री रिची रिचर्डसनले सूर्यकुमारले आफू दोषी नभएको भनी गरेको अपिललाई खारेज गरेका थिए । उनलाई कस्तो कारवाही गरियो भन्ने यकिन नभए पनि डिमेरिट अंक र÷वा जरिवाना हुन सक्ने सम्भावना छ । भारतले यो फैसलाविरुद्ध पुनरावेदन गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सूर्यकुमारमाथि आईसीसी आचारसंहिताको सबैभन्दा गम्भीर उल्लंघनका लागि गरिने तह-४ को कारबाही गर्न माग गरेको थियो । पीसीबीले विगतमा राजनीतिक सन्देश दिएको भन्दै खेलाडीलाई रोक लगाइएको वा जरिवाना गरिएको उदाहरणहरू प्रस्तुत गरेको थियो ।
साथै, पीसीबीले आईसीसीले इजरायल–गाजा युद्धले निम्त्याएको मानवीय संकटबारे दिइने सन्देशलाई पनि राजनीतिक मानेको र हालसालै उस्मान ख्वाजालाई ‘स्वतन्त्रता मानव अधिकार हो’ लेखिएको जुत्ता लगाउनबाट रोकेको कुरा पनि उल्लेख गरेको छ ।
भारतले गरेको पुनरावेदनमाथि सुनुवाइ भयो वा भएन भन्ने कुरा यकिन हुन सकेको छैन ।
सामान्यतया, म्याच रेफ्रीले नै समय र स्थान तय गर्छन्, तर भारतले शुक्रबार साँझ श्रीलंकासँग सुपर फोरको अन्तिम खेल खेल्दैछ भने आइतबार पाकिस्तानसँग फाइनल खेल्दैछ । यदि पुनरावेदनपछि पनि सूर्यकुमार दोषी ठहर भएमा उनको सजाय थप बढ्न सक्नेछ ।
के थियो घटना ?
सेप्टेम्बर १४ को खेलपछि सूर्यकुमारले पुरस्कार वितरण समारोह र पत्रकार सम्मेलनमा ‘आजको जित हाम्रो सशस्त्र बललाई समर्पित छ’ भनेर टिप्पणी गरेका थिए ।
पछि उनले यो समर्पण मे महिनामा पाकिस्तानविरुद्धको अपरेशन सिन्दूरमा भाग लिने भारतीय सशस्त्र बलका लागि भएको स्पष्ट पारेका थिए, जसले दुई देशबीच भिडन्त निम्त्याएको थियो ।
पाकिस्तानका दुई खेलाडी पनि अनुसन्धानको दायरामा
यसैगरी, पाकिस्तानका दुई खेलाडी साहिबजादा फरहान र हरिस रउफले पनि शुक्रबार अनुशासनात्मक सुनुवाइको सामना गरेका छन् ।
उनीहरूलाई सेप्टेम्बर २१ मा भएको सुपर फोरको खेलमा गरेको व्यवहारका लागि कारवाहीको माग गरिएको हो । फरहानले अर्धशतक बनाएपछि बन्दुक चलाएको जस्तो इशारा गरेका थिए भने रउफले फिल्डिङ गर्दा विमान खसालेको जस्तो संकेत गरेका थिए ।
ईएसपीएन क्रिकइन्फोका अनुसार, फरहान र रउफले पनि आफूहरू दोषी नभएको र आफ्नो इशारा राजनीतिक प्रकृतिको नभएको दाबी गरेका छन् । यद्यपि, उनीहरूबारे कुनै आधिकारिक फैसला नआए पनि पीसीबीले उनीहरूलाई पनि जरिवाना हुन सक्ने कुरालाई निजी रूपमा स्वीकार गरेको छ ।
बढ्दो तनाव
सेप्टेम्बर १४ को खेलअघि नै भारत र पाकिस्तानबीच तनाव बढेको थियो । भारतले टस गर्दा र खेलपछि पाकिस्तानसँग हात मिलाउन अस्वीकार गरेको थियो । उक्त खेल भारतले सात विकेटले जितेको थियो ।
सुपर फोरको खेलमा पनि पाकिस्तानका बलर र भारतका ओपनरहरूबीच पटक–पटक भनाभन भएको थियो । पछि अभिषेक शर्माले पाकिस्तानले ‘बिनाकारण जाइलागेको’ आरोप लगाएका थिए ।

Leave a Reply