दसैँको मुखमा चिनियाँ पक्षले कन्टेनर कम छाड्दा तातोपानी नाकाका व्यापारी मारमा

काठमाडौं । दसैँ नजिकिँदै गर्दा चीनबाट नेपाल प्रवेश गर्ने कन्टेनरको संख्या न्यून भएपछि तातोपानी नाकाका व्यापारीहरू मारमा परेका छन्। विगत दुई महिनादेखि पहिरोका कारण अवरुद्ध रहेको तातोपानी नाका भदौ ६ गते मात्रै खुलेको हो।

तर, सडक खुले पनि चिनियाँ पक्षले अपेक्षाअनुसार कन्टेनर पठाउन नमान्दा दसैँ लक्षित सामान अभाव हुने व्यवसायीको गुनासो छ। नेपाल चाइना चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रमेश शेर्पाले भने, ‘पहिरोका कारण पहिला सामान ल्याउन सकेनौं, अहिले नाका खुले पनि चीनले कम कन्टेनर छाडेको छ। नेपाली भन्सार प्रशासनले पनि पर्याप्त पहल नगरेकाले समस्या थपिएको हो।’

ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरूद्र थापाले सामान्यतया चाडपर्वको समयमा दैनिक २५–३० कन्टेनर आउनुपर्नेमा हाल ५–७ मात्र आइरहेको बताए। उनका अनुसार चीनमा कन्टेनर जामका कारण ढुवानी प्रभावित भएको हो।

हिमालय सिमापार वाणिज्य संघका सदस्य बलराम ढकालले चीनले कन्टेनर रोक्नुको ठोस कारण नबताएको बताए। ‘दसैँ केन्द्रीत सामान भनेर चीनलाई थाहा छ, तर पनि सहज रूपमा कन्टेनर छाडिरहेको छैन’ उनले भने।

व्यवसायी शारदा प्रसाद पराजुलीले चीनमा झन्डै २०० कन्टेनर जाम भएको जानकारी प्राप्त भएको बताए। ‘भेँडा–च्याङग्रा ढुवानी र चीनको आन्तरिक व्यवस्थापनका कारण कन्टेनर रोकिएको हुन सक्छ’ उनले भने।

तातोपानी भन्सारका सूचना अधिकारी रमेश शाहले चीनतर्फ जनशक्ति कम भएको सम्भावनासहित केही दिन कम कन्टेनर आएको स्वीकार गरे। ‘हामीले चीनको भन्सारसँग निरन्तर समन्वय गरिरहेका छौं’ उनले भने, ‘अब केही दिनमा २०–२५ कन्टेनर आउने अपेक्षा गरिएको छ।’

चिनियाँ पक्षले आफूहरूको जनशक्ति अनुसार कन्टेनर पठाइरहेको र नेपाली चाडपर्वको महत्त्वबारे पनि आफूहरू जानकार रहेको जानकारी दिएको शाहले बताए।

यसअघि साउन १७ गते राति खसेको पहिरोले अवरुद्ध तातोपानी–कोदारी भदौ ६ गतेदेखि खुलेकाे थियाे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *