माओवादी बैठकमा १० समूहको निष्कर्ष- प्रचण्डमात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पेश भएका प्रस्तावहरूमा समूहगत धारणा राख्ने क्रम सकिएको छ । जारी बैठकमा अब बोल्न बाँकी पदाधिकारीले आफ्नो कुरा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सक्ने तयारी छ ।

बैठकमा कोसीबाट अजम्बर काङमाङ, मधेशबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, लुम्बिनीबाट सुदर्शन बराल, कर्णालीबाट महेन्द्र शाही, सुदूरपश्चिमबाट हरि ज्ञवाली ‘अखण्ड’, उपत्यका विशेष प्रदेशबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगबाट आरबी खड्काले समूहगत धारणा राखेका हुन् ।

बैठकमा समूहगत धारणा राख्ने सबै नेताहरू अध्यक्ष प्रचण्ड निकटका हुन् । उनीहरूले प्रचण्डको प्रस्तावको समर्थन गर्दै मंसिरमा विशेष महाधिवेशन, केन्द्रीय कमिटी विघटन र प्रचण्ड नेतृत्वमा आयोजक समिति गठन गर्नुपर्ने धारणा राखेका छन् ।

उनीहरूको साझा भनाइ थियो, ‘पार्टी रूपान्तरण गर्नुपर्छ तर, प्रचण्ड मात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ। सबै दोष अध्यक्षलाई देखाएर अरू उम्कन मिल्दैन ।’

समूहगत धारणा राख्ने बेलामा नेताहरूले ९५ प्रतिशतभन्दा धेरै प्रचण्डको प्रस्तावमा उभिएको एक नेताले दाबी गरे । प्रचण्डलाई नेतृत्व छाड्न भन्दै प्रस्ताव अघि सारेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको पक्षको प्रस्तावको पक्षमा केही कुरा उठे पनि धेरैले आलोचना भएको ती नेताले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *