
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा समूहगत रूपमा नेताहरूले धारणा राख्नेछन्।
छलफलका लागि हिजो १० वटा समूहका विभाजन गरिएको थियो। समूहगत धारणा राखेपछि प्रचण्डसहित शीर्ष नेताहरूले जवाफ दिएर बैठक आजै सक्ने तयारी छ।
बैठकले महाधिवेशन र प्रतिनिधि सभाको चुनावमा जाने निर्णय गर्ने तयारी गरेको छ। प्रचण्डले केन्द्रीय कमिटी भङ्ग गरेर आफ्नो संयोजकत्वमा मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। त्यो प्रस्ताव आजको बैठकले अनुमोदन गरेपछि माओवादी विशेष महाधिवेशनमा जानेछ।
यी हुन् विशेष महाधिवेशनमा प्रतिनिधित्वको व्यवस्था
१. प्रत्येक पालिका र शाखाहरूबाट एक-एक जना ।
२. जिल्ला र महाशाखाहरूबाट पार्टी सदस्य संख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गर्ने । जसमा १००० सदस्य बराबर एक जना प्रतिनिधित्व हुनेछ। सदस्य संख्याका आधारमा प्रतिनिधि चयन गर्दा प्रति तीन जनामा एकजना महिला प्रतिनिधि हुनुपर्ने । हरेक जिल्लाबाट एकजना दलित र एकजना युवाको प्रतिनिधित्व अनिवार्य गराउने । जिल्ला र महाशाखाहरूबाट थप एक एक जना जेनजी समूहको प्रतिनिधित्व रहने ।
३. सात वटा भौगोलिक प्रदेशहरूबाट २५ जनाका दरले प्रतिनिधित्व गराउने । हरेक प्रदेशबाट सात जना महिला, दुई जना दलित र एक जना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने । गैर भौगोलिक दश जनामध्ये तीनजना महिला एकजना दलित एक जना युवा अनिवार्य हुनुपर्ने । प्रवासका तीनवटा प्रदेशहरूबाट सात जनाका दरले प्रतिनिधित्व हुनुपर्ने । यसमा दुई जना महिला र एकजना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने ।
४. हरेक विभागबाट दुई दुईजना प्रतिनिधि रहनेछ ।
५. सबै आयोगहरूबाट १०र१० जना प्रतिनिधि रहनेछ ।
६. ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट १०र१० जना प्रतिनिधित्व रहने ।
७. केन्द्रीय कार्यालयबाट १० जना प्रतिनिधित्व रहने ।
८. केन्द्रीय तहका जन वर्गीय संगठनबाट एक महिला अनिवार्यसहित दुई दुई जना, जातीय तथा क्षेत्रीय मोर्चाहरूबाट १र१ जना, केन्द्रीयस्तरका प्रतिष्ठान, फाउन्डेसन, समाज, सामाजिक संगठनबाट १, १ जना र पार्टीको सहायक सङ्गठन (वाइसिएल)बाट ५ जना प्रतिनिधित्व रहने ।
९. केन्द्रीय सचिवालयले ५ प्रतिशतमा नबढ्ने गरी मनोनयन गर्न सक्ने ।
१०. संयोजक लगायत आयोजक समितिका सम्पूर्ण सदस्यहरू माथि निर्धारित प्रतिनिधि क्षेत्रबाट निर्वाचित हुनुपर्नेछ । आयोजक समितिको कुनै सदस्य चुनिन नसकेको अवस्थामा आयोजक समिति सदस्यका रूपमा चुन्न र चुनिनेबाहेक महाधिवेशनका सम्पूर्ण गतिविधिमा सहभागी हुनेछन्।
११. सबै प्रदेश समितिहरू प्रदेश अधिवेशन आयोजक समितिमा रूपान्तरित हुनेछन्, प्रदेश अध्यक्षले संयोजकको भूमिका र पदाधिकारीहरू अधिवेशन आयोजक समिति सचिवालयको भूमिकामा रहने ।

Leave a Reply