
काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाउन हुँदैन भनेर अडान लिएबापत उर्जा राज्यमन्त्री पद गुमाएका कांग्रेसका निवर्तमान सांसद कान्छाराम तामाङ आफैं जेनजी आन्दोलनबाट पीडित भए ।
काठमाडौंको मैजुबहालस्थित उनको घर आन्दोलनकारीका नाममा गएका व्यक्तिले तोडफोड र लुटपाट गरे । जबकी उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र उर्जामन्त्री दिपक खड्काका सबैभन्दा आलोचक थिए ।
आन्दोलनकारीले घर ध्वस्त पारेपछि पनि उनी नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङलाई बधाइ दिन गए । त्यसपछि मलामी गएको बेला भएको भेटमा आफ्नो घर ध्वस्त भएको कहानी सुनाए । अहिले सामाजिक संजालमा भाइरल भइरहेको भिडिओमा उनले कुलमानलाई आफ्नो घर कसरी तोडफोड भयो भन्ने सुनाएको देखिन्छ ।
जवाफमा कुलमान भन्छन्- पछि मेरो पनि त भत्काउने त होला नि ।
रामेछापका कांग्रेस र माओवादी नेता कार्यकर्ताले कुलमानलाई अपनत्व लिएका छन् ।
उनीहरुको जमघटमा कान्छारामले बुहारी र श्रीमतीले धेरै प्रयास गर्दा पनि घर जोगाउन नसकेको कुलमानलाई सुनाएका थिए । बरु आगो लगाएको भए बीमा आउँथ्यो भन्ने उनको भनाइ थियो । आन्दोलनमा घरमा तोडफोड र लुटपाट हुँदा उनी भने मन्थलीमा थिए । कान्छाराम रामेछाप कांग्रेसको सभापति समेत हुन् भने कुलमान रामेछापकै बासिन्दा हुन् ।

Leave a Reply