
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिशाेधात्मक व्यवहार र उक्साउने गतिविधि देखिएको भन्दै असन्तुष्टी जनाएका छन् । आफूलाई प्रहारको निशाना बनाइएको टिप्पणी पनि उनले गरे ।
आज आफ्नो निवासमा आएका प्रेस चौतारीका पत्रकारहरुसँग कुरा गर्दै ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको प्रष्टीकरण दिए ।
उनले भने, ‘मलाई थाहा छ, मलाई अहिले प्रहारको निशाना बनाइएको छ । के हो मेरो अपराध ? मैले भ्रष्टाचार गर्दिनँ र गरेको छैन । विकासको खाका कोर्न नेतृत्व गरेको हुँ । हिंसा र पृथकतावादी शक्तिलाई ल्याएर एकता गर्नु अपराध हो ?’
‘अहिले सुन्छु, मानिसहरूसँग प्रतिशोध साँध्ने कुरा भइरहेको छ । अराजनीतिक, प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिरहेको छु । यो कहाँ पुगेर रोकिने ? शान्ति हुनुपर्दैन ?’, ओलीले थपे ।
देश त्रासमय बनेको र मान्छेसँगै डराउनुपर्ने स्थिति आएको भन्दै ओलीले चिन्ता व्यक्त गरे ।
‘युवा पुस्ताको नाममा झण्डा ओढेर सिंहदरबार जलाइयो । जेनजी पुस्ताको जायजै माग थिए, भ्रष्टाचार अन्त्य, शान्ति सुव्यवस्था, सुशासन आदि । तर त्यहाँभित्र अरू तत्व आए, हतियार बोकेर । सुत्ली बम बोकेर जेनजी आएका थिएनन् । धेरै दु:खद घटना घटे । विद्यार्थी भाइबहिनी मर्ने-मार्ने स्थिति भयो’, उनले भने ।
गोली चल्ने स्थिति कहाँबाट आयो र कसले गोली चलायो भन्ने निष्पक्ष छानबिन हुनुपर्नेमा ओलीले जोड दिए ।
‘जनप्रतिनिधि संस्था खोजी-खोजी आगो लाउनु भजेको लोकतन्त्र हुनु हुँदैन भनेको हो, यसको छानबिन हुनुपर्छ’, उनले भने ।

Leave a Reply