राजेन्द्र लिङ्देनलाई कमल थापाको आह्वान- पार्टी एकता गरौँ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टी एकताको आह्वान गरेका छन् ।

राप्रपा नेपाल काठमाडौं उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्षसहित पार्टीका संस्थापक नेताहरू लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीलाई एकताको आह्वान गरेका हुन्।

उनले भने, ‘मुलुकमा हाल विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रको सुरक्षा तथा पार्टीले अवलम्बन गरेको हिन्दु राष्ट्र, राजसंस्था र सुशासनको एजेन्डाको रक्षाका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनु जरुरी छ।’

देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण अहिलेको आवश्यकता भएको उनले बताए। उनले थपे, ‘यो आवश्यकता परिपूर्ति गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तथा सो पार्टीका संस्थापक नेताहरू लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीलाई म एकताको निमित्त आह्वान गर्न चाहन्छु।’

देशमा देखिएको सङ्कट र जनआक्रोशको मूल कारण सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रको असफलता भएको बताए।

भदौ २४ गते मध्यरातमा जेनजी युवा पुस्ताको आन्दोलनलाई देशी विदेशी शक्तिहरूले हाइज्याक गरेको बताए।

उनले थपे, ‘ठुलो जुक्ति लगाएर व्यवस्था जोगाएको गर्व गर्दै गणतन्त्रका अवशेषहरूले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिने घोषणा गरे। जनता र युवा पुस्ताको परिवर्तनको चाहना माथि तुसारापात गरे।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *