कोमल ओलीले दोस्रोपटक खेपेको प्रहार- पुर्ख्यौली घर क्षतिग्रस्त, नवनिर्मित रिसोर्ट ध्वस्त

काठमाडौं । जेनजी आन्दोलनमा भएको विध्वंसको मारमा धेरै नेताहरुसँगै गायिका कोमल ओली पनि परेकी छन् । उनको पुर्ख्यौली घर र व्यवसाय २४ भदौमा आन्दोलनकारीले ध्वस्त पारिदिए ।

कलाकारिता र सञ्चार क्षेत्रबाट नाम कमाएकी कोमल पछि मात्रै राजनीतमा लागेकी हुन् । उनले राजनीतिकै लागी संचार पेशा छाडेकी थिइन । २०७३ साल फागुन ६ गते रेडियो नेपालबाट राजीनामा दिएर ७ गते राप्रपाको केन्द्रिय महाधिवेशनमा उम्मेदवारी दिन पुगिन् । तर, राप्रपामा लामो समय टिकिनन् ।

उनी छोटो समयमै राप्रपाबाट विरक्तिइन् र एमालेमा प्रवेश गरिन् । राजनीतिबाटै केही गर्छु भनेर लागेकी उनी अहिले आफ्नो घर र व्यापार-व्यवसाय खरानी भएपछि फेरि विरक्तिएकी छन् ।

भदौ २४ गते भएको विध्वसांत्मक जेनजी आन्दोलनमा ओलीको दाङमा अवस्थित घरका साथै गत वर्ष मात्र सञ्चालनमा आएको रिसोर्ट र अन्य व्यवसायहरु क्षतविक्षत भए । राजनीतिमा आवद्ध भएकै कारण उनको निजी सम्पत्ति आन्दोलनकारीको निशानामा पर्यो ।

जेनजी आन्दोलनको बेला कोमल काठमाडौँमै थिइन् । आन्दोलनकारीहरु आफ्नो घरतिर जाँदैछन् भन्ने खवर उनले छिमेकीबाट पाएकी थिइन् । उनले तुरुन्तै पुलिसलाई फोन गरिन् । कोमलका अनुसार धेरैलाई उनको घरको लोकेसन थाहा छैन । तर, उनको घरबाहिर ‘कोमल वली फाउन्डेसन’ लेखेको ठूलो बोर्ड छ । त्यही बोर्ड देखेपछि आन्दोलनकारीले आफ्नो घरमा तोडफोड गरेको हुनसक्ने कोमलको अनुमान छ ।

आन्दोलनकारी आफ्नो घरतर्फ जादैछन् भन्ने थाहा पाउँदा–पाउदै पनि त्यो दिन कोमलले केही गर्न सकिनन् । प्रहरीले आन्दोलनकारीसामु हात उठाइसकेको थिए । हेर्दाहेर्दै आन्दोलनकारीले उनको घर पुरै ध्वस्त पारिदिए । कोमलको घरमा उनको दिदी पर्नेकी छोरी र उनको भाइको श्रीमती (बुहारी) बसिरहेका थिए । कोमलका बुवा भने बजार गएका थिए ।

आन्दोलनकारीको हुलले घरमा ढुङ्गा हान्न थालेपछि कोमलकी बुहारी घरबाहिर गेटमा आएर सबैलाई कराउन थालिन् । बुहारीले ‘किन ढुंगा हानेको ? कोमल वलीले के भ्रष्टाचार गरेको छ ?’ भनेर गाली गरेपछि ती आन्दोलनकारीहरु हिँडेको कोमलको भनाई छ ।

कोमल भन्छिन्, ‘मेरो घरमै कोमल वली फाउन्डेसनको अफिस छ, जहाँबाट धेरै छोरीहरुलाई पढाउन र जागिर खान सहयोग गर्ने काम हुन्थ्यो । उनीहरुले त्यहाँ सटर भत्काएर भित्र कोठामा आगो लगाइदिए । घरमा चाहिँ झ्यालको सिसाहरु मात्रै फुट्यो ।’

‘जब त्यस्तो सुनेँ, दिमाग एकछिन लाटो भयो । आन्दोलन अब विध्वंसतिर गयो भन्ने लाग्यो । व्यक्तिलक्षित र यसमा घुसपैठ छ भन्ने मलाई थाहा भयो, किनभने त्यहाँ जेनजीका कम हुनुहुन्थ्यो । उहाँहरुले बरु नगरौँ नगरौँ भनिरहनुभएको थियो । तर त्यहाँ केही मान्छेहरु थिए, जसले तोडफोड गर्नुपर्छ भन्दै थिए । उहाँहरु को हो भन्ने पनि मैले चिनिसकेँ । त्यसपछि मैले बुझेँ, त्यो सरासर व्यक्तिगत र राजनीतिक रिसइवी थियो ।’

कोमलले यसअघिका कैयौं आन्दोलनहरु प्रत्यक्ष देखेकी छन् । कुनैमा प्रत्यक्ष सहभागी भइन् । तर यसपटकको आन्दोलन नेपालको इतिहासकै विनाशकारी आन्दोलन भएको उनको निष्कर्ष छ ।

कोमल भन्छिन्, ‘जेनजी भनेको एउटा एजेन्डामा हिँडेका मान्छेहरु हुन् । उहाँहरुको स्वरुप नै फरक थियो । तर जेनजीको आन्दोलनलाई दुरुपयोग गरेर भोलिपल्ट राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याइयो । व्यक्तिगत घरहरुमा आक्रमण भयो । आगो लगाइयो । पुर्णरुपमा घुसपैठ भयो । अगाडी एक–दुईजना जेनजी थिए होलान् । उमेरको कुरा पनि हो, लहैलहैमा लागे होलान् । तर उनीहरुको एजेन्डा आगजनी, लुटपाट वा सिंहदरबार जलाउने थिएन ।’

कोमलले गत वर्ष फागुनमा मात्र दाङको तुल्सीपुरमा एउटा रिसोर्ट सञ्चालनमा ल्याएकी थिइन् । १२ वटा रुम भएको उक्त रिसोर्ट अहिले जलेर ध्वस्त भएको छ । रिसोर्टमा २ करोड २१ लाखको क्षति भएको कोमल बताउँछिन् ।

‘मान्छेले कसरी यत्रो गरी भन्छन् । दिनरात एक गरेर अहिलेसम्म कमाएको पैसाले त्यो रिसोर्ट खोलेकी थिएँ । मेरो बजारमा मात्र ५० लाख रिन तिर्न बाँकी छ । कमाउँदै तिर्दै गरिरहेकी थिएँ । तर सबै जलाइदिनुभयो । अहिले केही बाँकी छैन । त्यस्तो आक्रमण भएको देख्दा मन थाम्न सकिनँ । त्यो रातभर रोएर बसेँ । आफैलाई कति प्रश्न गरेँ,’ कोमलले भक्कानिँदै सुनाइन् ।

आन्दोलनकारीहरु रिर्सोटतर्फ गइरहेको खबर पनि कोमलले पाएकी थिइन् । आफ्नो रिसोर्ट जोगाइदिन उनले दाङका डिएसपीलाई फोन गरिन् । तर डिएसपीले आफूहरुलाई रोक्ने आदेश नभएकाले केही गर्न नसक्ने भन्दै लाचारी दर्शाए । फलतः कोमल रिर्सोट जलेको टुलुटुलु हेर्न बाध्य भइन् ।

उनी भन्छिन्, ‘म त्यहाँ भएको भए सायद केही गर्थेँ होला । म एउटा कलाकार हुँ, मैले यत्रो वर्ष काम गरेर एक–एक रुपैँया जोडेर यो होटल बनाएको हो भनेर सम्झाउथेँ होला । स्टाफहरुले त भन्नु भएको थियो, तर कसैले सुन्नुभएन । घुसपैठ र बदलाको भावना भएपछि के नै गर्न सकिन्छ र ? केपी ओलीको नाम लिँदै जलाइदिनु भयो रे ।’

आगजनी नगरिदिएको भए सायद त्यत्रो क्षति नहुने कोमल बताउँछिन् ।

‘आगो नलगाइदिएको भए हुन्थ्यो । आगो लगाएपछि राती पनि कतिले सानो अटो र भ्यान ल्याएर सामान लानुभयो रे । कतिले राती हाम्रो होटलमै बसेर फ्रिजमा भएको मासु पकाएर खानुभएछ । प्रभुको कृपाले मानवीय क्षति भने केही भएन’, उनी सुनाउँछिन् ।

कोमल ओलीको जिन्दगीमा पहिरो ल्याइदिने यो पहिलो विध्वसांत्मक घटना भने होइन । २०६१ सालमा पनि उनले यस्तै गाह्रो परिस्थितिको सामना गर्नु परेको थियो । त्यो बेला उनी नेपाल टेलिभिजनमा काम गर्थिन् । सञ्चार पेशामा भएकाले उनी तत्कालीन राजा ज्ञानेन्द्रको एक कार्यक्रममा उद्घोषण गर्न गएकी थिइन् ।

त्यसपछि ‘राजावादी’ भन्दै माओवादीले उनको घरमा बम पड्काइदिए । आफ्नो भाउजु र दुई भदालाई घरभित्रै थुनेर घरमा आगो लगाइदिएको यादहरु अहिले पनि आफ्नो मनमा ताजै रहेको कोमल बताउँछिन् ।

घर जलाइदिएपछि छिमेकीहरु आएर कोमलको भाउजु र भदालाई उद्दार गरेका थिए । घर भने बचेन । घरसँगै उनको सबै सम्पत्ति जलेर ध्वस्त भयो । घर जलेर सकिएपछि उनको गाउँको घर र जग्गा माओवादीले कब्जा गरे । लामो समय ती घरजग्गा माओवादीकै कब्जामा रहिरह्यो । ५ वर्षपछि कोमलले लेखराज भट्ट, कृष्णबहादुर महरा र प्रचण्डसँग कुरा गरेर आफ्ना घरजग्गा फिर्ता लिइन् ।

राजनीति र आन्दालनबारे कोमलसँग गरिएको संक्षिप्त कुराकानी-

-तपाईं खासमा के सोचेर राजनीतमा आउनुभएको थियो ?

म देशको परिस्थिति केही बदल्न सकिन्छ कि भन्ने सोचेर अनि बुझेर आएको थिएँ । आखिरमा सबैले लोकतन्त्रमा नै विश्वास गर्ने हो । गत वर्ष चुनावमा हारेँ । सायद त्यसमा मेरै कमजोरी भयो । तर जसले मेरो यत्रो क्षति गर्नुभयो, उहाँहरुले नबुझेर हो । सायद उहाँहरुले मलाई केन्द्रिय सदस्य र पूर्वसांसद मात्र सोच्नुभयो । यो ठाउँमा मैले गरेको दुख सोच्नु भएन ।

हामी सामान्य परिवारको मान्छे हो । न मैले कहिले भ्रष्टाचार गरेकी छु, न कहिले कुनै लाभको पद लिएकी छु । कसैलाई झुट आश्वासन देखाएकी छैन । बरु केही काम परेर कोही आउनुभयो भने म आफ्नो काम छाडेर उहाँहरुको काम गर्दिन्थेँ । न मेरो बिजनेस भाटभटेनी, चौधरी गु्रप र हिल्टनजस्तो ठुलो नै हो । कमाउँदै, तिर्दै गरेको व्यवसाय थियो ।

सानै भएपनि रिर्सोट राम्रो चलिरहेको थियो । सबैलाई सोचेर, सबैलाई हुने खालको होटल बनाएको थिएँ । सायद धेरैको आँखामा पनि परिरहेको थियो । जे होस्, व्यक्तिगत रिसइवी पनि पोख्नुभयो ।

-यस्तो भोग्नु परेपछि बेकारमा राजनीतिमा आएजस्तो महसुस भएन ?

त्यस्तो त लागेन । देश निर्माण गर्ने भनेको राजनीतिले नै हो । जेनजीहरुले पनि राजनीति नै राम्रो होस भनेर आफ्नो आवाज उठाउनुभएको हो । मैले खासमा कसैलाई नराम्रो गरेको छैन । कोमल ओली फाउन्डेसन चलाइरहेको छु, तर कतिबेला आफैसँग पैसा हुँदैन ।

दाङमा ६ जना छोरीहरुलाई पढाइरहेकी छु । पढ्न नसक्नेलाई मेरो फाउन्डेसनबाट स्कलरसीपको व्यवस्था गरिदिएकी छु । पैसा नभएकाहरुको लागी फ्री एम्बुलेन्स सेवा दिइरहेकी छु । कोमल ओली फाउन्डेसकनको च्यारिटी भनेर अस्ति भर्खर युके गएर १०, १५ वटा कार्यक्रम गरी अलिकति पैसा जम्मा गरेर ल्याएँ ।

अहिलेसम्म गीत गाइरहेकी छु । केही वर्ष अघिसम्म कार्यक्रम उद्घोषण गर्न हिँड्थेँ । चुनाव हार्दा पनि मलाई दुख लागेको थिएन । आफैले कमाएको पैसाले किनेको थोरै जग्गा बेचेर चुनावमा उठेकी थिएँ । तर यसपटक भने मलाई साह्रै नरमाइलो लाग्यो । दुख पसिना एक गरेर खोलेको व्यवसाय थियो । मलाई ट्रमा नै भयो । दाङको मान्छेसँग मलाई अहिले पनि चित्त बुझेको छैन । म उहाँहरु एक–एकलाई सोध्छु यो कुरा… (भक्कानिदै)।

-आगजनी र तोडफोड गर्नेहरुविरुद्ध उजुरी गर्नुभयो ?

पुलिसलाई हामीले खबर गरिसकेका छौं । मलाई उपलब्ध भएका तस्बिरहरु, टिकटक भिडियोहरु अनि त्यहीँका लोकल पत्रकारहरुले खिचेका भिडियोहरु सबै दिएको छु । सरकारले भर्खरै काम सुरु गरेको छ । पुलिसको पनि मनोबल घटेको अवस्था छ । यसरी व्यक्ति र सरकारको सम्पत्ति क्षति हुनु भनेको राष्ट्रकै समस्या हो । सरकारकै समस्या हो । बिस्तारै न्यायसेवाले काम सुरु गर्ला । सरकारले पनि यसको दायित्व लेला । कारवाही गर्ला । मैले जोजो चिनेको छु, उहाँहरुलाई थाहा दिएको छु ।

-जेनजी आन्दोलनपछि करिश्माजीले एमाले छोड्नुभयो, तपाईंलाई छोडौँ भन्ने लागेन?

पार्टी छोडेर समस्या समाधान हुने होइन । हामीले आफूलाई समय र युगको माग अनुसार परिवर्तन गर्दै जानुपर्छ । समय र युवाहरुको चाहना अनुसार राजनीतिक दलहरुले पनि आफूलाई सच्याउँदै, परिवर्तन गर्दै जानुपर्छ । परिवर्तन गर्दै जाने हो सबैथोक ।

-यो क्षति कसरी रिकभर गर्ने सोच्नुभएको छ ?

हाम्रो इन्स्योरेन्स थिएन । खै के गर्नु अब ? अब सरकारले सहुलियतमा ऋण दियो भने लिएर फेरि बनाउने त होला । मेरो धेरै क्षति भयो । मेरै नाममा ‘कोमल जल’ भन्ने पानी कम्पनी थियो । त्यो कम्पनीको पनि दुईवटा गाडी जलाइदिनुभयो । कम्पनीमा तोडफोड गर्दिनुभयो । पानी ट्याङ्की फोर्दिनुभयो ।

२०० वटा बोतल बोक्ने एउटा ठूलो मिनी ट्रक, घरघर बोतल पुर्याइदिने एउटा टाटा भ्यान, जार बोक्ने एउटा ट्रक, मेरो भाइ चढ्ने कार, एउटा ओपेलको मोटर, एउटा मोटरसाइकल र हाम्रो सामान ल्याउने एउटा इलेक्ट्रिक अटो सबै जलाइदिए । अब यो रिकभर हुन धेरै समय लाग्छ । हामीले यो वर्ष केही सोचेकै छैनौँ । अहिले सरसफाइ गर्दैछौँ ।

-आफ्ना सबै सम्पत्ति यसरी खरानी भएको देख्दा कसरी मन थाम्नुभयो ?

म अहिले काठ्माडौँमै छु । अस्ति दाङ गएकी थिएँ, तर हेर्न सकिनँ । मलाई एकदम प्रेसर हाई भयो अनि भोलिपल्टै काठमाडौँ फर्कें । मलाई एकदमै बिसन्चो भयो ।

-अहिले होटेलमा काम गर्ने स्टाफहरु सबै बेरोजगार हुनुभयो ?

कतिले आफैं काम छाड्नुभयो । हामीसँग दुईजना सेफ हुनुहुन्थ्यो । एकजना सेफ म अब के बसिराख्नु भनेर आफैँ छोडेर जानुभयो । अब एकजना सेफ र ६ जना स्टाफहरु हुनुहुन्छ । उहाँहरु अहिले होटेल हेरेर, सामान र किचेन सफा गरेर बसिरहनु भएको छ । मैले पनि ठिकै छ, जहिलेसम्म यो होटल सञ्चालनमा रहन्छ, त्यतिन्जेल बस्नुस, म हेर्छु भनेकी छु ।

-यसपालि दसैँमा यतै हुनुहुन्छ कि उतै जानुहुन्छ ?

दशैँको त के कुरा गर्नु र ? यो पटकको मेरो दसैँ आँसु र पीरले डुब्यो । तर बाँच्नु नै छ, अगाडि बढ्नु नै छ । कुनै बेला उनीहरुले पनि महसुस गर्लान् । दाङको मान्छेलाई जरुर महसुस हुनेछ । हामीले गल्ती ग¥यौँ भन्ने अवश्य लाग्नेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *