
काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोष अर्थ मन्त्रालयको नियन्त्रणमा सहरी विकास मन्त्रालयले सञ्चालन गर्ने भएको छ । बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री रामेश्वर खनालले यस्तो जानकारी दिएका हुन् ।
उनले भने, ‘कोषको सन्तुलन र नियन्त्रण मिलाउनका निमित्त नीतिगत र व्यवस्थापकीय पक्षको नेतृत्व अर्थ मन्त्रालयले गर्नेछ । यसको सञ्चालन पक्षेको नेतृत्व सहरी विकास मन्त्रालयले गर्नेछ । कोषको समग्र सञ्चालन केन्द्रीय कोष प्रणालीबाट हुन्छ ।’
उनका अनुसार भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन सरकारले उक्त कोष स्थापना गरेको हो । उक्त कोषमा आर्थिक योगदानका लागि स्वदेश तथा विदेशमा रहेका सबैलाई आह्वान गरिएको छ ।
‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड गरिएका र क्षतिग्रस्त भौतिक संरचनाहरूको मर्मत तथा पुनर्निर्माणका लागि यही कोष प्रयोग गरिनेछ । सरकारले यस अभियानमा सहभागी भई राष्ट्र निर्माणमा योगदान पुर्याउन नेपाली नागरिक, गैर–आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदारहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आह्वान गरेको छ ।
योगदान रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार, काठमाडौंमा रहेको खाता नम्बर १९६०१००१००२०७०००४ मा जम्मा गर्न सकिनेछ । यसका लागि क्युआर कोड पनि प्रयोग गर्न सकिन्छ ।
कोष स्थापना गर्नु अगाडीदेखि नै पुनर्निर्माणको काम शुरु गरिएको उनले जानकारी दिए । आन्दोलनकाक्रम्मा क्षति भएका भवनहरूको पुनर्निर्माण गर्नका लागि सरकारले कोषको मात्रै आश नराखेको उनले बताए ।
‘पुनर्निर्माण भनेको सरकार र राज्यको प्राथमिकता हो । कसैले सहयोग गर्छ भने सहयोग नकुरी काम शुरु गरिसकेका छौँ । रकम आउँला र पुनर्निर्माण शुरु गरौला भनेर पर्खेर बसेका छैनौँ । कतिपय प्रहरी कार्यालय, न्यायालयहरू तुरुन्तै शुरु गर्ने भएकोले आफ्नै बजेटबाट शुरु गर्नु र पुगेन भने थप अर्थले दिन्छ भनेर निर्देशन दिएकोले काम शुरु भइसकेका छौँ’, अर्थमन्त्री खनालले भने ।

Leave a Reply