प्रचण्डको आशंका- नेतालाई जेल हालेर संविधान मास्ने र दलमाथि प्रतिबन्ध लगाइन सक्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनपछि देश झनै अन्यौलको अवस्थामा आएको भन्दै धेरैखाले चलखेलहरू भइरहेको दाबी गरेका छन् ।

केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले संविधान मास्ने, अन्तरिम सरकार जारी गर्ने र देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हावी गराउने खेल हुनसक्ने आशंका गरिएको छ ।

प्रचण्डले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा समेत रहेको औंल्याएका छन् । उनले सबै परिस्थितिलाई गम्भीरतासाथ लिएर फागुन २१ मै चुनाव गराउन लाग्नुपर्ने बताएका छन् ।

प्रचण्डको प्रतिवेदनमा भनिएको छ- जेनजी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरू माथिको संकट भने टरेको छैन । विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थसिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन् ।

यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन जोड दिनुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *