नेवानीको गोन्जाओ उडान तामझामसाथ उद्घाटनको तयारी, ‘नर्तकी’ सहितको जम्बो टोली चीन जाँदै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि चीनको गोन्जाओ सिधा उडान भर्दैछ । फ्लाइट नम्बर आरए ४१७ को एयर बस ३२० राति १० बजे त्यसतर्फ उड्नेछ । तर, उडान सेवा विस्तारको खुशियालीमा निगमले गरिरहेको तामझामको तयारीले आन्तरिकरूपमै असन्तुष्टि र आलोचना बढेको छ ।

उडान सुरू भएकोमा सांस्कृतिक कार्यक्रम गर्ने योजनासहित निगमको जम्बो टोली पहिलो उडानमा गोन्जाओ जाने तयारी रहेको स्रोतले बतायो । नर्तकीहरूसहितको टीममा अध्यक्ष युवराज अधिकारीसहित, मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल, अन्य कर्मचारीहरू सुष्मा तामाङ, करिश्मा मालाकार, संगीता प्रजापती, रशु शाक्य, स्पर्श न्यौपाने, सोनिया तामाङ्ग, पासाङ लामा, स्वस्तिका चौलागाईँसमेत छन् । केही विमान परिचारिकालाई नै कलाकार बनाएर लैजाने तयारी भइरहेको स्रोतको भनाइ छ ।

‘चौतर्फी बेथिति र सुशासनको लागि आवाज उठिरहँदा अर्बौं रूपैयाँ ऋण र घाटामा डुबेको संस्थाले यसरी ढुकुटी झन् रित्याउने काम गर्नु राम्रो सन्देश जाँदैन’, निगमका एक अधिकारी भन्छन् ।

अवकाशमा घर जान लागेका अधिकारीले आफूले करारमा भर्ना गरेका कर्मचारीलाई विदेशस्थित कार्यालयमा सेटिङमा पठाउन लागेको विषय पनि सार्वजनिक भइरहेको छ ।

नेवानीमा बेथिति बढेपछि जेनजी कर्मचारीहरू एकजुट भई हिजैमात्र कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न माग गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा दर्ता गरिएको निवेदनमा अधिकारीको कार्यशैलीप्रति आपत्ति जनाउँदै बर्खास्तीको माग गरिएको छ ।

अधिकारीले अन्तर्राष्ट्रिय टिकट बिक्रीमा निश्चित ट्राभल एजेन्सीसँग मिलेमतो गरेको र आवश्यक नभएका ठाउँमा समेत जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेर करोडौँ घोटाला गरेको उनीहरूको आरोप छ ।

आफ्नो कार्यकाल सकिदै गर्दा अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतको लागि ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया सुरु नगरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरेको पनि ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै एनडीए गरी अनुसार यो प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको लगायतका १० विषयमा पनि छानबिन गर्न भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *