अर्थतन्त्रलाई लयमा फर्काउन सहयोग गर्नेछौँ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताएका छन् । बुधवार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् ।

उनले भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घसपैठबाट व्यापक तोडफोड एवं आगजनीका घटनाले सरकारी तथा निजी उद्योग प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा अकल्पनीय क्षति भएको र यसले आम मानिस तथा उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको बताए ।

‘त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोबल चाहिन्छ । मनोबल उकास्न शान्ति सुरक्षा चाहिन्छ’, उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजश्वको सदुपयोग जस्ता युवाहरूको चाहना निर्वाध पेशा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवर्द्धनको कारणले मात्र सम्भव हुने भएकोले यसको लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ ।’

अध्यक्ष ढकालले जेनजी आन्दोलन पछि क्षति भएका पूर्वाधार निर्माणमा सरकारले स्रोत संकलनलाई आव्हान गरेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम ल्याउन सकिने तर त्यसको लागि सिएसआरको रकम खर्च लेख्न पाउने व्यवस्था आवश्यक रहेको धारणा राखे ।

यस्तै उनले भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली लागू हुनु सकारात्मक भएको र यसले मिय र कागजी प्रक्रियाको झन्झट समाप्त हुने बताए । भन्सार मुल्यांकनको हकमा हेर्ने हो भने नयाँ चरणमा प्रवेश गरेको र अहिलेसम्म सन्दर्भ मूल्यका आधारमा भन्सार मुल्यांकन हुने गरिएको उनको भनाई छ ।

उनले सरकारले निजी क्षेत्रको सुझाव अनुसार छोटो समयमा नै धेरै सकारात्मक काम शुरु गरेको र यसले विस्तारै अर्थतन्त्रलाई लयमा फर्काउन सहयोग गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *