नेप्से र सेबोनमा एकै पटक किन चर्कियो आन्दोलन ? 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवैमा एकै पटक आन्दोलन चर्किएको छ । तीन दिन यता नेप्से र सेबोनका कर्मचारीहरूले कार्यालयमै आन्दोलन गरेका हुन् ।

नेप्से र सेबोनमा आन्दोलन चर्किएपछि यी दुबैमा अहिले कामकाज ठप्प हुन पुगेको छ । दुबै संस्थामा एकैपटक आन्दोलन हुनुको कारण हो– सेवा सुविधा । यहाँका कर्मचारीहरू सेवा सुविधाका विषयलाई लिएर आन्दोलित बनेका हुन् ।

अर्थ मन्त्रालयको एउटा पत्रका कारण सेबोनका कर्मचारीहरू असन्तुष्ट बनेका छन् । उनीहरूले पाइरहेको सेवा सुविधा कटौती हुने र यसअघि लिएको पनि फिर्ता गर्नु पर्ने भएपछि उनीहरू रुष्ट बनेका हुन् ।

‘प्रचलित कानुन विपरीत बनेको कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असूल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्ने’, अर्थले सेबोनमा पठाएको पत्रमा भनिएको छ ।

अर्थको निर्देशन सेबोनमा पुगेपछि त्यहाँका कर्मचारीहरूले कार्यालयमा ताला लगाएर आन्दोलनमा उत्रिए । अर्थले सेबोनमा असोज २ गते नै पठाएको शाखा अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले जानकारी दिए । बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा मन्त्रालयको भदौ ३१ गतेकै राजस्व सचिव स्तरीय निर्णय रहेको समेत उनले बताए ।

उक्त पत्र अनुसार सेबोनका कर्मचारीहरूले खाइपाइ आएको सेवा सुविधा कटौती हुने मात्रै नभएर यसअघि खाइपाइ आएको रकम समेत फिर्ता गर्नुपर्नेछ ।

अर्थमन्त्री रामेश्वर खनालले व्यापक खर्च गरिरहेका छन् । ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विद्यालय ऐन २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली २०७४, नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरीत जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ तत्काल खारेज गर्ने समेत निर्णय भइसकेको छ ।

सरकारबाट स्वीकृत बोर्डको कर्मचारी सेवा शर्त नियमावली बमोजिम सञ्चालनमा रहेको कार्यविधि धितोपत्र बोर्डबाट स्वीकृत दस्तावेज हो । बोर्डको सञ्चालक समितिमा अर्थ मन्त्रालयको समेत प्रतिनिधित्व हुन्छ । पत्रमा उल्लेख भएको भाषा प्रचलित कानुन विपरीत बनेका दस्तावेज नभएकोले यिनको खारेजी गर्ने निर्णय त्रुटिपूर्ण रहेको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुङ्गाना बताउँछन् ।

‘धितोपत्र बोर्डमा नयाँ दरबन्दी सृजना तथा पारिश्रमिक र भत्ता वृद्धिमा मात्रै अर्थ मन्त्रालयको सहमति लिनु पर्ने हुन्छ । कर्मचारी कल्याण कोष, सुरक्षण कोषको विषय नयाँ दरबन्दी सृजना तथा पारिश्रमिकको विषयमा पर्दैन । यो मन्त्रालयको सहमति लिनुपर्ने विषय नै होइन । सेबोन सरकारको बजेटबाट स्रोत प्राप्त गर्ने संस्था नभई आफ्नै स्रोतबाट सञ्चालनमा रहेको संस्था हो । बोर्डलाई हरेक विषयमा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने भए बोर्डलाई छुट्टै संस्था बनाई राख्न आवश्यक छैन’, अध्यक्ष ढुङ्गानाको तर्क छ ।

धितोपत्र बोर्डका कर्मचारीहरूलाई मात्रै भ्रष्टाचार गरे जसरी प्रस्तुत गर्ने र स्थापनाकालदेखि नै प्राप्त गरेको सुविधा सरकारी बाँकी सरह असुल उपर गर्ने निर्णय अस्वीकार्य रहेको उनको भनाई छ ।

सत्तरी लाख लगानीकर्ताको हक हितका लागि क्रियाशील रहनुपर्ने बोर्डमा क्रियाशील कर्मचारीहरूमा दिनदिनै मनोवैज्ञानिक त्रास सृजना गर्ने काम भएको समेत कर्मचारीको आरोप छ । धितोपत्र सम्बन्धी ऐन अनुसार प्रदत्त बोर्डको स्वायत्तता कायम राख्दै अर्थ मन्त्रालयको गैरकानूनी आदेश खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

अर्थको निर्देशन खारेज नहुँदासम्म बोर्डका दुवै कर्मचारी युनियन÷संगठनहरूले संयुक्त रूपमा चरणबद्ध संघर्षका कार्यक्रम तय गरेका छन् ।

यहिबेला नेप्सेका कर्मचारीहरू पनि आन्दोलनमा छन् । आन्दोलित कर्मचारीहरूले मंगलबार नेप्सेका अध्यक्ष मेहनत बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले मङ्गलबार रातिसम्म कार्यालयमै थुने ।

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले मङ्गलवार रातिसम्म अध्यक्ष र सीईओलाई कार्यालयमै थुनेको नेप्से स्रोतले बतायो । ‘मंगलबार दिनभर कर्मचारीहरू आन्दोलनमा थिए । उनीहरूले कार्यकक्षमै धर्ना दिँदै अध्यक्ष र सीईओलाई थुने’, स्रोतले भन्यो, ‘राति १२ बजे प्रहरी आएर उद्धार गरेको हो ।’

राति प्रहरीले उद्धार गरेका अध्यक्ष र सीईओ बुधवार कार्यालयमा उपस्थित भएनन् । उनीहरू बिहीबार पनि कार्यालय आएका छैनन् ।

तर, नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापा भने कार्यालयमै थुनेको कुरामा इन्कार गर्छन् । उनी भन्छन्, ‘हामी कर्मचारीहरू सबै कार्यालयमै थियौँ । उहाँहरूसँग नेप्से सुधारका लागि विभिन्न माग राख्दै धर्नामा बसेका हौँ । छलफल गर्दा पनि निष्कर्ष ननिस्किएपछि हामी कार्यालयमै बसेका हौँ । त्यहाँ उहाँहरुपनि हुनुहुन्थ्यो पछि प्रहरीले आएर उहाँहरूलाई लगेको हो ।’

नेप्सेका अध्यक्ष र सीईओले राजनीति गरेर नेप्से नै बेच्न लागेपछि आफूहरू नेप्से जोगाउने लागिपरेको उनको दाबी छ । सेवा सुविधाको विषयलाई लिएर आन्दोलन सुरु गरेका नेप्सेका कर्मचारीहरूले अध्यक्ष र सीईओका राजीनामा समेत माग गरेका छन् । नेप्से कर्मचारी संघले बुधवार विज्ञप्ति जारी गर्दै नेप्सेका अध्यक्ष हेमन्त बस्याल सीईओ चूडामणि चापागाईँको राजीनामा माग गरेका हुन् ।

राजनीतिक दलको कार्यकर्ता, राजनीतिक प्रभाव र भागबन्डाका आधारमा नेप्सेको सञ्चालक समितिको अध्यक्षमा बस्याल र सीईओमा चूडामणि चापागाईँ नियुक्त भएको उनीहरूको आरोप छ । धितोपत्र बजारप्रति अविश्वास फैलाउने र संस्थाको छवि धुमिल पार्ने काम उनीहरूले गरेका भनाइ छ ।

‘कन्फिक्ट अफ इन्ट्रेसको कुरा गर्ने स्वयम् बस्यालले तत्काल राजीनामा दिनुपर्छ । साथै उनलाई नियुक्त गर्ने प्रक्रियामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन आवश्यक छ’, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेप्सेलाई भित्रैबाट कमजोर बनाई बजारमा सक्रिय स्वार्थी समूहलाई मार्ग प्रशस्त गर्नु उनको अर्को उद्देश्य हो । सो उद्देश्य अनुरूप उनले कर्मचारीबिच फुट ल्याउने, कसैलाई अपमान गर्ने, कसैलाई उक्साउने, धम्क्याउने, र महँगा तालिमको प्रलोभन दिने जस्ता कार्य गर्दै कार्य वातावरण बिगार्न थालिसकेका छन् ।’

त्यस्तै, २०८० साल मंसिरमा नेप्से सञ्चालक समितिले अर्थ मन्त्रालयमा पेश गरेको पुनर्संरचना प्रस्तावलाई असफल बनाउन पनि उनी सक्रिय देखिएको सङ्घले आरोप लगाएको छ । नेप्से सुधारको नाममा सतही परिवर्तन मात्र गर्ने तर मूल समस्यालाई जस्ताको तस्तै राख्ने रणनीति अपनाइएको सङ्घले जनाएको छ ।  यसले सर्वसाधारणमा ‘नेप्सेले केही गर्न सक्दैन’ भन्ने सन्देश जाने र स्वार्थी व्यापारी समूहलाई फाइदा पुग्ने स्पष्ट सङ्केत गर्ने संघको भनाई छ ।

‘ठूला खरिद प्रक्रियामा अनावश्यक हस्तक्षेप गर्ने, सोबाट प्राप्त कमिसन तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई चढाउने स्वार्थसहित बस्याल नेप्सेमा प्रवेश गरेको आशङ्का बलियो छ । नयाँ प्रणाली भित्राउन नसक्ने, विद्यमान प्रणालीलाई स्तरोन्नति गर्न पनि असमर्थ बनाउने गरी नेप्सेलाई जटिलतामा पार्ने खेल उनले सुरु गरिसकेका छन् । छ महिनाअघि नियुक्त प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँ एक्लैले गर्न नसकेको कामलाई समर्थन गर्न बस्याल ‘अतिरिक्त शक्ति’का रूपमा नेप्सेमा आएको देखिन्छ’, सङ्घको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएन इन्फाइन्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृतका रूपमा मासिक ५ लाख रुपैयाँ तलब र अन्य सुविधा छोडेर नेप्सेमा प्रति बैठक २५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुले नै उनको नियतप्रति ठूलो प्रश्न खडा गरेको सङ्घको तर्क छ । यसरी आर्थिक चलखेल गर्ने, कर्मचारी फुटाउने, प्रविधि बिगारेर सर्वसाधारणमा आक्रोश बढाउने नियतले प्रवेश गरेका हेमन्त बस्याललाई नेप्सेका कर्मचारीहरूले अध्यक्षका रूपमा स्वीकार गर्न नसकिने संघको ठहर छ ।

प्रमुख कार्यकारी अधिकृत चापागाँइको कार्यकाल ६ महिना बितिसक्दा पनि नेप्सेको पुनर्संरचना, अन्तर्राष्ट्रिय प्रविधि ल्याउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने तर्फ भन्दा पनि बिचौलियाको अनुचित दबाब, प्रभाव र निर्देशनमा काम गर्दै आएको संघको आरोप छ ।

संस्थाको स्पष्ट कार्य योजना तयार गर्न असक्षम र असमर्थ भई कमजोर निर्णय क्षमताको कारण उनीबाट आगामी दिनहरूमा संस्था सुधार गर्ने तर्फ कुनै पहल कदमीको सम्भावना समेत शून्य प्राय देखिएले तत्काल राजीनामा लागि संघले माग राखेको छ ।

नेप्सेका कर्मचारीहरूले चरणबद्धरुपमा संघर्ष कार्यक्रमहरू समेत घोषणा गरेका छन् । तीन दिनदेखि जारी आन्दोलन जारी राख्ने र सम्पूर्ण कर्मचारीहरूले हातमा कालो पट्टी बाँध्ने, धर्नामा बस्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने  र नेप्से सञ्चालक समितिका अध्यक्ष र सीईओको राजीनामा माग गर्ने कर्मचारी संघले जनाएको छ ।

सम्बन्धित समाचारः– 

अर्थ मन्त्रालयको एउटा पत्रले सेबोनमा हलचल, कानूनविपरीत कार्यविधिबाट लिएको पैसा फिर्ता गर्नुपर्ने

नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष र सीईओलाई कार्यालयमै थुने, प्रहरीले राति गर्‍यो उद्धार

नेप्से कर्मचारी संघले माग्यो अध्यक्ष र सीईओको राजीनामा 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *