
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी रूपान्तरणबारे अब बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै पार्टीलाई युवाहरूको भावनासँग जोडेर गतिशील बनाउनको लागि केन्द्रीय समितिमा छलफल गर्ने बताए।
उनले भने, ‘हामी गम्भीर समीक्षा गर्छौँ, हामी कहाँ कहाँ चुक्यौ ? यो अवस्था सिर्जना हुने अवस्था आउनेसम्मको परिस्थिति बन्न कहाँ कहाँ ढङ्ग पुर्याएनौँ यो सबै कुराको समीक्षा गर्छौँ।’
उनले राज्य सञ्चालनमा रहँदा पनि जेनजी पुस्ताको आन्दोलनको यत्रो तयारीबारे पनि थाहा नपाएको विषयमा पनि गम्भीर छलफल गर्नुपर्ने बताए।
उनले थपे, ‘अब अरूलाई दोष लगाउने होइन, व्यक्ति, संस्था पार्टी सबैले आत्मसमीक्षा गर्न आवश्यक छ। आत्मालोचना गर्दै फेरि जनताको अगाडि नयाँ सङ्कल्प गरेर जानुपर्छ।’
उनले पार्टीका नेता कार्यकर्तालाई पनि अहिले उत्तेजना ल्याउने कुरा नगर्न आग्रह गरे।
उनले थपे, ‘अहिले हामीले संयम र धैर्यता अपनाउन जरुरी छ। संविधान बनाउने दलहरूको ठुलो जिम्मेवारी छ। हामीले भड्किने कुरा गर्न हुँदैन। जे हुनु भइसक्यो। फेरि हामीले उठाउनुपर्छ।’
उनले देशमा ध्वंस गर्ने तत्त्व र षडयन्त्रकारी पत्ता लगाउन राजनीतिक दल एक भएर लाग्नुपर्ने भन्दै यो डिजाइनले भयो ? पत्ता लगाउनुपर्ने बताए।

Leave a Reply