सिन्धुपाल्चोकमा पहिरोले पुरिएर दुई बालिका बेपत्ता

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका-१ जलबिरेस्थित भित्री सडक खण्डमा पहिरो खस्दा दुई बालिका बेपत्ता भएका छन् ।

बुधबार दिउँसो करिब पाैने ५ बजे पहिरो जाँदा चौतारा साँगाचोकगढी नगरपालिका–२, भोटेफुल्पिङ घर भई जुगल गाउँपालिका–२, गोल्छेस्थित मामाघरतर्फ हिँडिरहेका १७ वर्षीया फुलमाया लामा र उनकी पाँच वर्षीया बहिनी मनमाया लामा सडक माथिबाट खसेको लेदोसहितको पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलभन्दा तल ब्रह्मायणी नदी बगिरहेको र बालिकाहरू पहिरोसहित नदीमा बगिएको आशंका गरिएको छ ।

घटनापछि ईलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेर खोजतलास कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म दुवै बालिका फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय प्रशासनले थप उद्धार टोली पठाउने तयारी गरेको जनाइएकाे छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *