राप्रपाका अन्डर ४० नेताहरु बोलाएर लिङदेनले भने- जेनजीहरु हामीप्रति सकारात्मक छन्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मुख्य दलका अधिकांस नेताहरुको घरमा आगजनी र तोडफोडहरु भए । तर, राजा र राजावादी नेताहरुप्रति भने आन्दोलनकारी शक्तिहरुको स्पष्ट सदासयता देखियो ।

आन्दोलनमा नारायणहिटी राजदरबार र पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा आन्दोलनकारीले कुनै पनि क्षति पुर्याएनन् । यति मात्र होइन, काठमाडौंमा राप्रपाका नेताहरुको निवासमा कतै पनि आक्रमण भएन । दमकका मेयर राम थापा र कोशी प्रदेशका उपसभामुख मेनुका खाँडको निवासमा बाहेक काठमाडौं बाहिर पनि राप्रपा नेताहरु सुरक्षित रहे ।

राप्रपाले नेताहरुको घरघरमा गरिएको आगजनी र तोडफोडप्रति दुख व्यक्त गरे पनि जेनजी युवाहरु आफ्नो पार्टीप्रति सकारात्मक देखिएको निस्कर्ष निकालेको छ । आज राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनल पार्टीका युवा नेताहरुसँगको छलफलमा यही भाव व्यक्त गरे ।

जेनजी आन्दोलनपछि उब्जेको नेतृत्व पुस्तान्तरणको बहसबीच लिङदेनले ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरुलाई छलफलमा डाकेका हुन् । राप्रपामा ४० मुनिका ५३ जना केन्द्रीय सदस्य छन् । संस्थापन इतरका केही केन्द्रीय सदस्यहरुलाई भने खबर गरिएको थिएन ।

छलफलमा अध्यक्ष लिङदेनले केही समयअघि मात्रै आफूले ‘प्रधानमन्त्रीलाई हेलिकोप्टर चढेर भाग्ने सुविधा दिइन्छ’ भनेर गरेको भाषण सम्झिएका थिए ।

उनले भने, ‘नेताहरुमाथि यो अवस्था आउनु दुखद हो । तर, पहिले मैले जे भनेको थियो आज त्यही नै भएको छ । ३ वर्षअघि नै मैले नेताहरुले घरमा पैसा थुपारेका छन् भनेको थिएँ, त्यो पनि सत्य सावित भयो । नविन सम्झौता नगर्ने हो भने देश गम्भीर दुर्घटनामा जान्छ भनेर पनि मैले चेतावनी दिएकै हो, कसैले गम्भीरतासाथ लिएनन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *