
विराटनगर । जेनजी आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएपछि सेवा स्थगित भएको यातायात व्यवस्था कार्यालयल सवारी कोशीले निजी गाडी कम्पनीसँगको सेटिङमा नयाँ सवारी दर्ता गरेको छ ।
व्यक्तिको घरमा कार्यालय खडा गरेर कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता गरिदिएका हुन । उनले असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीले जनाएको छ ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा यातायात कार्यालय सुनसरीमा तोडफोड र आगजनी भएको छ । आगजनी पछि कार्यालयबाट काम गर्न सक्ने अवस्था छैन । सेवा सञ्चालन गर्न नसक्ने अवस्थापछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले मातहतका सबै यातायात कार्यालयलाई सेवा रोक्न परिपत्र गरेको छ ।
मन्त्रालयको परिपत्रलाई उल्लंघन गर्दै कार्यालय प्रमुख लुइँटेलले गाडी कम्पनीको स्वार्थका लागि सवारी दर्ता गरेका छन् । दशैँका बेला नयाँ सवारी साधन खरिद अत्यधिक हुने गर्छ ।
कार्यालयले सेवा दिन नसक्ने भएपछि कार्यालय प्रमुखसङको सेटिङमा नयाँ सवारी साधनको दर्ता गरिएको स्रोतले बतायो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीका अनुसार असोज ५ गते ५ सय र ७ गते १ सय चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीका साधन दर्ता गरिएको छ । कुन-कुन कम्पनीका कति नयाँ सवारी दर्ता भए भन्ने रुजु भइरहेको बताइएको छ ।
नयाँ सवारी दर्ता गर्न बैंकमा राजस्व जम्मा भए पनि सवारी कार्यालयले सफ्टवेयरबाट अनुमति दिनु पर्छ । नयाँ सवारी दर्ताका लागि यातायात व्यवस्था कार्यालय सवारी कोशीको युजर आईडी प्रयोग भएको देखिएको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय सवारी सुनसरी कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता भएको स्वीकार गरे । उनले गाडी कम्पनीले बैंकमा राजस्व जम्मा गरेका कारण नयाँ सवारी दर्ता भएको जिकिर गरे ।
उनले सवारी दर्ता गर्ने यातायात व्यवस्था विभागको सफ्टवेयर रिम्स र मन्त्रालयको सफ्टवेयर भीआरएस प्रयोग भएको बताए । कहाँबाट र कसले सफ्टवेयर सञ्चालन गरेको विषयमा चाहिँ भेटेर भन्ने बताए । उनले भने ,भोली दाजु भाइ बसेर कुरा गरौला । अहिले म घरमा छु ।
लुइँटेल यातायात व्यवस्था कार्यालय बिर्तामोडमा विवादमा परेपछि मन्त्रालय तानिएका थिए । केही महिना मन्त्रालयमा बसेपछि सवारी कार्यालय इटहरीमा खटाइएको थियो । यसअघि यातायात व्यवस्था कार्यालय धनकुटामा रहँदा उनलाई अनियमितता गरेकव भन्दै मोसो दलेर दुर्व्यवहार गरिएको थियो ।
आन्तरिक मामिला तथा योजना मन्त्री रेवतीरमण भण्डारीले नयाँ सवारी दर्ता भएको जानकारी पाएको बताए । मन्त्रालयले लुइँटेलसँग जवाफ मागेको छ । यतायात व्यवस्था कार्यालयहरूलाई पत्र लेख्दै मन्त्रालयले कहाँबाट के सेवा दिइएको हो र सेवा दिन कुन युजर आईडी प्रयोग भएको खुलाउन निर्देशन दिएको छ ।


Leave a Reply