
विराटनगर । इटहरी चोक हुँदै कोशी प्रदेशका विभिन्न जिल्लाका लागि सवारी साधन छुट्छन् । मुख्य मार्ग भएका कारण यहाँ सधैँ सवारीसाधनको भिडभाड भइरहन्छ । त्यसैले ट्राफिक व्यवस्थापन गर्न इटहरी चोकमै १५ जनाभन्दा बढी ट्राफिक एकैसाथ चेकिङमा खटिन्थे ।
सडकको हिसाबले इटहरी चोक प्रदेशकै गौँडा भएका कारण सडक व्यवस्थापनमा चुनौती थपिएको होइन । यो पूर्वकै ठुलो होलसेल बजारको रूपमा पनि परिचित छ । किनमेलका लागि मधेश प्रदेशबाट पनि यहाँ व्यापारी आउँछन् ।
चाडबाड समेत नजिकिँदै गर्दा व्यस्त यो बजारमा अहिले ट्राफिक प्रहरी निस्किन सकेका छैनन् । प्रदेशकै राजधानी विराटनगरमा पनि ट्राफिक देखिँदैनन् । यसको मूल कारण- जेनजी आन्दोलनका क्रममा ट्राफिक र प्रहरी कार्यालय अराजक समूहको निशानामा पर्नु ।

इटहरी चोकदेखि केही पश्चिमस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । यहाँ कार्यालय परिसरका सबै सवारी जलाइयो । ब्यारेकमा आगजनी, तोडफोड र लुटपाट मच्चिँदा उनीहरूको पोशाकसम्म छैन ।
भदौ २४ मा कार्यालयहरू ध्वस्त पारिएकाले ट्राफिक प्रहरी सडकमा आउन नसकेको डीएसपी सन्तोष श्रेष्ठ बताउँछन् ।
उनले नेपाल प्रेससँग भने, ‘केही दिनमा फिल्डमा खटिने तयारीमा छौं । आवश्यक व्यवस्थापन भइरहेको छ ।’
इटहरीको इलाका प्रहरी कार्यालय पनि आगजनीबाट पूर्ण ध्वस्त छ । प्रहरीका बन्दोबस्ती सामान जलेर नष्ट भएका छन् । त्यहाँ लुटपाट भएको छ । यहाँ प्रहरीहरू भागेर ज्यान जोगाएका थिए । विस्थापित सबै प्रहरी सम्पर्कमा आए पनि बर्दी जलेपछि नियमित ड्यूटीमा फर्किन समय लागेको प्रहरी अधिकारी बताउँछन् । भवन कामै नलाग्ने भएकाले कहाँ कार्यालय राख्ने पनि अन्योल छ ।
इप्रका इटहरीका प्रहरी तरहराको चौकीमा आश्रय लिएर बसेका छन् ।
‘ड्यूटीमा खटिएका प्रहरीहरू हतियार छाडेर भाग्नु परेको छ । बर्दी उतारेर आन्दोलनकारीले लखेटेका प्रहरीले कसरी कार्यालय फर्किएर कुन मनोबलले काम गर्छन् भन्ने चिन्ता छ’, ती अधिकारीले भने ।
सडकमा प्रहरीको उपस्थिति नहुँदा मुख्य चोकमै जुवाजन्य खेलहरू खेलाइन थालेको छ । इटहरीका चोकचोकमा लंगुर बुर्जामा युवाहरू झुम्मिएका छन् ।

आन्दोलनको मौका छोपेर विध्वंस मच्चाइँदा कोशीका ५७ वटा प्रहरी कार्यालय भवनमा आगजनी र तोडफोड गरिएको छ । तीमध्ये २४ वटा पूर्ण क्षति भएको प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोखरेलले नेपाल प्रेसलाई बताए । ३३ वटा प्रहरीका भवनहरूमा आंशिक क्षति पुगेको छ ।
आन्दोलनका क्रममा अराजक समूहले उत्पात मच्चाउँदा ८४ वटा प्रहरीका सवारीसाधनमा पूर्ण रूपले क्षति पुगेको छ । ती मध्ये ८ वटा हेभी सवारी साधन रहेका छन् ।
क्षतिग्रस्त प्रहरी कार्यालय पुनर्स्थापना हुन नसके पनि नियमित काममा फर्किएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बताए । तोडफोड र आगजनी भएका कार्यालयमध्ये सुनसरीको पकलीस्थित प्रहरी चौकीमात्रै पुनर्स्थापित भएको छ । अन्य चौकीहरू पुनर्स्थापनाको पहल भइरहेको उनले सुनाए ।

कार्की भन्छन्, ‘प्रहरीले यस्ता आन्दोलनहरू धेरै देखेको छ । यसअघि भएका आन्दोलनपछि जसरी प्रहरीले काम गरेको छ यसपटक पनि त्यसरी नै काम गर्नेछ । पूर्वाधारहरू नष्ट हुँदा काम केही प्रभावित त छ नै । तर, हामी सुरक्षा दिन सक्षम छौं ।’
समुदायसँग मिलेर काम गरिरहेको भन्दै डीआईजी कार्कीले प्रहरीलाई पुन:स्थापित गर्न स्थानीयले सहयोग गरिरहेको बताए ।
आन्दोलनका क्रममा प्रहरीका हतियारसमेत खोसिएका थिए । केही हतियार जलेका छन् । खोसिएका मध्ये धेरैजसो हतियार प्राप्त भएको कार्कीले बताए । चाडबाड लक्षित सुरक्षा योजना लागू भइसकेको भन्दै कार्कीले चोरी तस्करी रोक्न सुरक्षा योजना बनेको जानकारी दिए ।

Leave a Reply