प्रदीप पौडेललाई ५० बढी क्षेत्रीय सभापतिको सुझाव- पार्टी पुस्तान्तरणमा लाग्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन थालेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताहरूको सुझाव संकलन थालेका हुन् ।

अहिले कांग्रेसका महामन्त्रीद्वयले पार्टी पुनर्गठनको बहस पार्टीमा चलाइरहेका छन् । इतर पक्षका नेताहरूले शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्नको लागि हस्ताक्षर अभियान चलाइरहेका छन् ।

पार्टी पुनर्गठनको बहस चलिरहेको बेलामा नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थालेका छन् । नेता पौडेलले स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तासँग औपचारिक संवादसमेत अघि बढाएका छन् ।

हालै नेता पौडेलले जुममार्फत गरेको अन्तर्क्रियामा सातै प्रदेशका करिब ५० क्षेत्रीय सभापतिहरू सहभागी थिए । उनीहरूले कांग्रेसको सुधारका लागि आत्मालोचनासहित नेता पौडेलले सारेको धारणामा सहमत रहेको भन्दै पार्टी रूपान्तरण तथा पुस्तान्तरण आवश्यक रहेको बताए ।

बैठकमा २६ क्षेत्रीय सभापति सहभागी थिए। नेता पौडेलले अबको केही समय निरन्तर सुझाव संकलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने योजना बताए ।

उनले भने, ‘नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रूपान्तरण आवश्यक छ। कसरी र कस्तो रूपान्तरण आवश्यक हो भनेर अन्तर्क्रिया गरेको हुँ ।’

नेता पौडेलले आफू पार्टी सुधारका पक्षमा उभिएको भन्दै कार्यकर्ता तथा नेताबाट प्राप्त सुझाव र विज्ञहरूसँगको थप छलफलपछि दस्तावेजसहित आउने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *