रातभर किन सलबलाए ज्ञानेन्द्र ? के थियो भित्री खेलो ?

०८२ भदौ २३ र २४ गते नेपालको राजनीतिमा एउटा फरक पृष्ठभूमिको इतिहास कोरिएको छ । कोत पर्व, भण्डारखाल पर्व, २००७ सालको राणा विरोधी आन्दोलन, २०१७ सालको ‘कू’ र त्यसपछिको पञ्चायती व्यवस्था, २०४६ को जनआन्दोलन, २०६२/०६३  को लोकतान्त्रिक आन्दोलन र २०७२ सालमा जारी भएको संघीय गणतान्त्रिक संविधानपछि राजसंस्थाले विधिवत् रूपमा बिदा लिएको क्षण भन्दा फरक रह्यो भदौ २३ र २४ गतेको जेनजी आन्दोलन ।

जेनजी पुस्ता र जेनजी आन्दोलनलाई धेरैले एउटा उमेर समूहको लहडको रूपमा मात्र बुझेको देखिन्छ । खासमा यो एउटा निश्चित उमेर समूहको लहडमात्र पक्कै हैन । यो त एउटा विचार पनि हो । दृष्टिकोण, सोच र सक्रियता पनि हो ।

‘जेनेरेसन जेड’, अर्थात् जेनजी सन् १९९७ देखी २०१५ को बीचमा जन्मिएका पुस्ता हुन् । यो हिसाबले जेनजी समूहमा १० देखि २८ वर्ष उमेर समूहका किशोर र युवा पर्दछन् ।

यो नै पहिलो पुस्ता हो, जो सानैदेखि इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किए । जेनजी अभियान स्मार्ट, इन्टरनेट, रचनात्मकता, बोल्ड, रंगीन र सहभागितामूलक हुने गर्छ । जेनजी समूह सामाजिक न्याय, वातावरण, लैङ्गिक समानता र विविधताको विषयमा बढी नै सचेत रहने विश्वास गरिन्छ । त्यसैले पनि जेनजी पुस्ता उमेर समूहसँग मात्र सम्बन्धित छैन, यो विचार, दृष्टिकोण, सोच र सक्रियतासँग पनि सम्बन्धित छ ।

एउटा निश्चित उमेर समूह र विचारको गठजोडले अघि बढेको जेनजी आन्दोलनको कारण भदौ २३ र २४ गते र त्यसपछि धेरैले धेरै चिज गुमाए । कसैले आफ्ना बालबच्चा गुमाए, कसैले अभिभावक गुमाए, कसैले पद, प्रतिष्ठान गुमाए, राष्ट्रले ऐतिहासिक धरोहरहरू गुमायो र मैले दुई रातको निन्द्रा गुमाएँ ।

यो कुरा धेरै कमलाई थाहा होला, भदौ २३ र २४ गते जेनजी आन्दोलनले उत्पन्न गरेको विषम परिस्थिति लगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि केही समय मुलुक सरकारविहीन अवस्थामा पुग्यो । भलै, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गरी उनैलाई कामचलाउ सरकारको प्रधानमन्त्री तोकेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राजनीतिक दलको समर्थनबेगर राजगद्दीमा फर्कन्न भनेर नागरिक शक्तिलाई आत्मसात् गरे जसरी नै राजनीतिक दल र त्यसका नेतृत्वकर्ताले पनि अधिकतम नैतिकता देखाउँदै नागरिक शक्तिलाई आत्मसात् गर्छन् भन्ने विश्वास गरौँ ।

यसबीचमा सत्ता प्रयोगको लागि धेरै ठाउँबाट, धेरै खालका प्रयत्न भए । आन्दोलनरत जेनजी अगुवासँग प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २५ गतेबाट नयाँ सरकार र प्रधानमन्त्रीको विषयमा छलफल सुरु गरेका थिए ।

दुर्गा प्रसाईँ र धरानका मेयर हर्क साम्पाङ प्रधानमन्त्री चलाउने दाबीका साथ सैनिक मुख्यालय पुगे । काठमाडौंका मेयर बालेन शाहले फेसबुकमार्फत सेनासँग वार्ताको लागि तयार रहन जेनजी अगुवालाई अनुरोध गरे । प्रधानमन्त्री को भन्ने विषयमा एकमत हुन नसकेपछि नेपाली सेनाले माइकिङ गरेरै भदौ २६ गते बिहानसम्म साझा नाम सुझाउन जेनजी अगुवालाई उर्दी नै जारी गर्‍यो ।

प्रधानमन्त्रीको साझा नाम आउन नसकिरहेको अवस्थामा जेनजी आन्दोलनको विषयमा सामाजिक सञ्जालमा विभिन्न कोणबाट चर्चा, बहस र आशंका सुरु भएका थिए । आन्दोलनमा भारतको संलग्नता, काठमाडौँका मेयर बालेन शाह पश्चिमाहरूको चाहनाअनुसार अघि बढेको जस्ता हल्लाले परिस्थिति थप जटिल बन्दै गएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आन्दोलनमा घुसपैठ भएको आशंका गरिरहेको खबर मिडियाहरूले प्रचार गरिरहे ।

जेनजी आन्दोलनको क्रममा उत्पन्न विषम परिस्थितिपछि म भदौ २३ गते रातिदेखि नै राम्रोसँग निदाउन सकिरहेको थिइनँ । राति ११/१२ बजेसम्म मेरा आँखा सामाजिक सञ्जालका वालहरू र विभिन्न अनलाइनका खबर हेर्न चनाखो भइरहेका थिए ।

प्रधानमन्त्री को हुन्छ भन्ने रस्साकस्सीका बीच भदौ २६ गते (बिहीबार) राति ९/१० बजेतिर भने एउटा अर्को हल्ला फैलियो- राजा फर्काउनेबारे । नारायणहिटी दरबार सरसफाइ सुरु भयो । अब पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा ल्याएर राजा घोषणा गरिँदैछ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पूर्वयुवराज पारस शाहले बिहीबार राति नै फेसबुकमा ‘वार्तामा हुनुपर्ने अनिवार्य सर्तहरू’ भन्दै १२ बुँदाको एउटा नोट सार्वजनिक गरे । जसको अन्तिममा ‘बरु यही संविधानमा राष्ट्र प्रमुखको रूपमा राजा वा बेबी किङ स्वीकार गरौँ, तर वैदेशिक हस्तक्षेप स्वीकार नगरौँ है’ भन्दै राजाको पक्षमा जनमत बुझ्ने काम गरे ।

लगत्तै उनकी छोरी पूर्णिका शाहले ‘आज मध्यरातसम्म ठूलै निर्णय आउन सक्ला’ भन्दै फेसबुकमा स्ट्याटस लेखिन् । उनले बिहीबार राति नै एउटा ग्रुपमा राजा फर्कने भन्दै तयारी अवस्थामा रहन साथीहरूलाई सन्देश छोडेकी थिइन् । तर, अहिले त्यो सन्देश ग्रुपबाट हटाइएको उनी निकटस्थले बताएका छन् ।

केही राजावादी नेता-कार्यकर्ताले फेसबुकमा यो हल्लालाई बल मिल्ने गरी राजा ज्ञानेन्द्र शाह फर्कने आशयको स्ट्याटससमेत लेख्न भ्याए ।

भदौ २६ गते बिहीबार राति ९ः५० बजे मैले पनि फेसबुकमा एउटा स्ट्याटस लेखेँ, ‘नेताहरूलाई नजरबन्दमा राखेको कुरा आयो । रातिसम्ममा केही नतिजा निस्कन्छ कि के हो ? !’

यसरी नयाँ प्रधानमन्त्री को ? भन्ने रस्साकस्सीकै बीचमा कहीँ, कतैबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरेर नारायणहिटी प्रवेश गराउने तयारी गरिएको कुरा पुष्टि हुने धेरै आधार भेटिएका छन् । नेपाली सेनाले विदेशी हस्तक्षेपभन्दा राजा फर्काउनु ठिक हुने आशय व्यक्त गरेको र नारायणहिटीमा सरसफाइ गर्न बिहीबार राति सेनालाई खटाइएको चर्चा पनि चलेकै हो ।

तर, पूर्वराजा ज्ञानेन्द्र शाहले कहीँ, कतैबाट आएको राजा बन्ने प्रस्तावलाई अस्वीकार गरेका थिए रे ! उनले नेपाली जनताले नभनी सुटुक्क राजा नबन्ने जवाफ फर्काएका थिए रे !

पूर्वराजा ज्ञानेन्द्र शाहको बारेमा म अरु धेरै कुरा लेख्न चाहन्नँ, तर उनले २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन तथा २०७२ सालको गणतान्त्रिक संविधानपछि राजगद्दी छोड्दा अपनाएको शान्तिको बाटो र अहिले पुनः राजगद्दी सम्हाल्न आएको प्रस्तावलाई अस्वीकार गर्दै सार्वभौम नेपाली जनतालाई भरोसा गरेको विषय प्रशंसनीय छ ।

राजनीतिक दलका कुरा

जेनजी आन्दोलनपछि राजनीतिक दल पुनर्गठनको बहस चर्को ढङ्गले उठिरहेका छन् । मुख्य दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षले राजीनामा गरेर नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने दबाब बढ्दै गएको देखिन्छ ।

विशेषतः पार्टीभित्रकै प्रतिपक्ष (विभिन्न कारणले मुख्य नेतृत्वसँग असन्तुष्ट रहेका) ले नेतृत्व परिवर्तनको मुद्दालाई मुख्य रूपमा उठाइरहेका छन् । यसमा केही ठूला मिडियाले पनि साथ दिइरहेको देखिन्छ ।

तर, के जेनजी आन्दोलनको उद्देश्य ठूला दलको नेतृत्व परिर्वतनमात्र हो त ? दलमा नेतृत्व परिवर्तनपछि भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम हुने र प्रत्यक्ष निर्वाचित कार्यकारीमार्फत सरकारको स्थायित्व सम्भव छ ? यसको लागि पार्टीले अवलम्बन गरेको नीति परिवर्तन गर्नुपर्दैन ?

जेनजी अभियन्ताले आफ्नो आन्दोलनको मुख्य मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारी (प्रधानमन्त्री वा राष्ट्रपति) र सरकारको स्थायित्वलाई बनाएका हुन् । उनीहरूको मान्यताअनुसार यी दुई कुरा सम्भव भएपछि सुशासन, दिगो शान्ति, भ्रष्टाचारको अन्त्यजस्ता कुरा सम्भव हुन्छ भन्ने नै हो । र, यो अहिलेको आवश्यकता पनि हो ।

तर, मुलुकले यति ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्दासम्म पनि राजनीतिक दलहरूको ध्यान भने नेता परिवर्तन तर्फ मात्र केन्द्रित देखिन्छ । नीति परिवर्तनमार्फत जेनजी आन्दोलनका माग सम्बोधन हुनुपर्छ भन्ने तर्फ कुनै पनि नेताको ध्यान पुगेको देखिएको छैन । बरु, नेताहरू त आन्दोलनको रापमा आफ्नो स्वार्थको रोटी सेक्न मात्र उद्धत देखिएका छन् ।

जेनजी आन्दोलनको क्रममा उत्पन्न विषम परिस्थितिपछि म भदौ २३ गते रातिदेखि नै राम्रोसँग निदाउन सकिरहेको थिइनँ । राति ११/१२ बजेसम्म मेरा आँखा सामाजिक सञ्जालका वालहरू र विभिन्न अनलाइनका खबर हेर्न चनाखो भइरहेका थिए ।

नेताको यस्तो मानसिकताले अझै पनि मुलुकमा राजनीतिक परिवर्तन सम्भव देखिँदैन । दलका युवा नेताले नीति परिवर्तनमा जोड दिँदै जनसमर्थन जुटाउन सके अहिले नेतृत्व गरिरहेका नेताहरू आफैँले आत्मालोचनासहित पद हस्तान्तरणको घोषण गर्छन् भन्ने लाग्छ ।

अहिलेको परिस्थिति आउनमा दलका नेताहरूको कमी-कमजोरी पनि मुख्य हो भन्ने विषयमा द्विविधा छैन । तर, मुलुकमा राजनीतिक परिवर्तनका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतको भूमिकालाई कम आँक्न सकिँदैन । त्यसैले यो विषम परिस्थितिमा दलका युवा नेताहरूले पनि आगोमा घ्यू थप्ने हैन, नेतृत्वमा रहेका नेताको आत्मसम्मान जोगाउँदै नीति परिवर्तनमार्फत् नेतृत्व हस्तान्तरणको वातावरण बनाउने कुरामा जोड दिनुपर्छ ।

लगभग ४८ घण्टाको अवधिमा मुलुकमा आमूल परिवर्तन गर्न सकेको जेनजी आन्दोलनलाई दलका नेतृत्वकर्ता र युवा नेताले नजिकबाट नियालेका छन् । जनताको शक्ति आँकलन गरेका छन् । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राजनीतिक दलको समर्थनबेगर राजगद्दीमा फर्कन्न भनेर नागरिक शक्तिलाई आत्मसात् गरे जसरी नै राजनीतिक दल र त्यसका नेतृत्वकर्ताले पनि अधिकतम नैतिकता देखाउँदै नागरिक शक्तिलाई आत्मसात् गर्छन् भन्ने विश्वास गरौँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *