
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार, जगन्नाथदेवल) बाट भागेका टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागार कार्यालयमा हाजिर भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रायमाझी विघठित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद पनि हुन् । कारागार व्यवस्थापन विभागले विभिन्न कारागारबाट निस्किएका कैदी, बन्दीलाई अनुकूल हुने कारागारमा आफैँ उपस्थित हुन सूचना निकालेको थियो ।
उनले आफू काठमाडौंभित्रै रहेको, तर सेन्ट्रल जेलमा बस्ने वातावरण नभएका कारण उक्त कारागारमा बस्न इच्छा गरेको कारागार प्रशासनका एक कर्मचारीले बताए ।
‘उहाँले यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर सोध्नुभयो’, ती कर्मचारीले भने, ‘पहिला पहिला भए मिल्दैन थियो, अहिले जुनसुकै कारागारमा सम्पर्कमा आए पनि राख्नु भन्ने निर्देशन भएकोले यतै बस्नुस् भन्यौँ ।’
उनले भदौ २४ को तोडफोड र आगजनीका कारण सेन्ट्रल जेलमा रहेका आफ्ना सम्पूर्ण बन्दोबस्तीका सामान नष्ट भएको कारागार प्रशासनलाई बताउँदै लुगाफाटो पनि लिएर आएको जानकारी दिएका थिए ।

Leave a Reply