
काठमाडौं । अभिनेता हरिवंश आचार्यको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले यो चलचित्रलाई मंगलबार युनिभर्सल सर्टिफिकेट दिएको हो। युनिभर्सल सर्टिफिकेट पाएसंगै अब यो चलचित्र सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्।

यहीँ आउँदै गरेको फुलपाती अर्थात असोज १३ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्रको केही दिन अघिमात्र ट्रेलर सार्वजनिक गरिएको थियो। सार्वजनिक ट्रेलरलाई दर्शकको सुखद प्रतिक्रिया मिलिरहेको छ।
दिपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्यको अलावा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ।
चलचित्रमा प्रकाश सपुतले अभिनय मात्र गरेका छैनन्, उनले यो चलचित्रको गीतहरुमा संगीत पनि भरेका छन् । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। भने कृष्ण बहादुर थापाले खिचेको चलचित्रमा नकुल खड्काको सम्पादन छ।

Leave a Reply