
काठमाडौं । यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को गीतलाई युट्युबबाट हटाइएको छ । हिजो मात्रै सार्वजनिक भएको नयाँ गीतलाई दर्शकहरुले रुचाइरहेका थिए । तर, अहिले उक्त गीत युटयुबबाटै हटाइएको छ ।
यस विषयमा अभिनेता अनमोल केसी स्वयंले गीत हटाउनु परेकोमा दर्शकसँग माफी मागेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सबैसँग माफी चाहन्छु, हाम्रो गीत कस्तुरी प्राविधिक कारणवश युट्युबबाट हटाउनु परेको छ।’
तर, आफूहरुले चाँडै नै नयाँ भर्सनको गीत पुनः सर्वजनिक गर्ने उनले बताएका छन् । हटाइएको गीतमा अभिनेता केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड थिए । मुस्ताङदेखि भारतको राजस्थानसम्मका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको थियो ।
आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीतलाई संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।

Leave a Reply