
काठमाडौं । अभिनेता केदारप्रसाद घिमिरे माग्ने बुढाको चलचित्र ‘माइतीघर’ आउँदो फूलपातीबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा माग्ने बुढाको अलावा प्रकाश सपूत, धिरज मगर र उपसना सिंह ठकुरी मुख्य भूमिकामा छन् ।
केही समयअघि माग्ने बूढाको चलचित्र ‘माग्ने राजा’ प्रदर्शन भएको थियो । चलचित्रले बक्स अफिसमा पनि राम्रो व्यापार गर्यो । चलचित्रको प्रमोसनताका पारिश्रमिकको विषयले माग्ने बूढा चर्चाको केन्द्रमा रहे । उनले ६१ लाख पारिश्रमिक लिएको विषयमाथि यति धेरै चर्चा भयो कि अन्ततः माग्ने बूढाले आफूले ६१ लाख पारिश्रमिक लिएकै होइन भन्न बाध्य हुनुपर्यो ।
अहिले माग्ने बुढा यस्तो अवस्थामा पुगिसके कि पारिश्रमिक भन्नसाथ तर्सिन्छन् । हामीले ‘माइतीघर’मा चाहिँ कति पारिश्रमिक लिनु भयो भनेर प्रश्न गरेका थियौँ । उनले सीधै भनिदिए, ‘यो पारिश्रमिकको कुरै नगरौँ । अब म यसपछि कहिल्यै पनि पारिश्रमिकको कुरा गर्ने छैन । जहाँसम्म मलाई लाग्छ, पारिश्रमिकको कुरा गर्नु नै ठिक होइन रैछ ।’
‘पारिश्रमिकको लफडा मेरो जिन्दगीमा एउटा सिकाई भयो । त्यसवेला आवेगमा आएर समाचार बाहिरियो । अब म फेरि आवेगमा आउन चाहन्नँ,’ माग्ने बुढाले थप भने ।
साथै ‘माइतीघर’ चलचित्र आफ्नो नोस्टालजियासँग समेत जोडिएको उनले बताए । आफू तामाङ समुदायमै हुर्किएकाले फाट्टफुट्ट तामाङ भाषा बोल्ने गरेको पनि बताए । ‘मेरा एकदमै मिल्ने तामाङ साथीहरू छन् । सानोमा खुट्टामा काँडा पस्दा झिकिदिने मान्छेहरू तामाङहरू नै थिए । भकुण्डो खेल्दाखेरि पैठेजोरी खेल्ने साथीहरू पनि तामाङ नै थिए । अनि यही संस्कृतिमा भिजेको कथामाथि मैले काम गर्न पाउनु धेरै खुसीको कुरा हो,’ माग्ने बूढाले भने ।
तर यस चलचित्रमा पनि आफूले माग्ने बूढाको लवजलाई भने छाड्न नसकेको बताए । अहिले आफूले केही पात्रहरु निर्माण गरिरहेको र ती पात्रले माग्ने बूढालाई रिप्लेस गर्न सक्ने उनको अनुमान छ ।

Leave a Reply