‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ किन हेर्ने ? यस्ता छन् निर्मातात्रयले दिएको पाँच–पाँच कारण

काठमाडौं । आउँदो दशैं फूलपातीको छेको पारेर तीन नेपाली चलचित्र एकसाथ प्रदर्शन हुँदैछन्, ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’। ‘माइतीघर’मा केदारप्रसाद घिमिरे (माग्ने बूढा), प्रकाश सपूत, धिरज मगर, उपासनासिंह ठकुरी लगायत कलाकार छन् ।

सँगै यो चलचित्रसँग २०२३ सालमा प्रदर्शन भएको ‘माइतीघर’को लिगेसी समेत छ । झण्डै छ दशकअघिको चलचित्रको गीत ‘मेरो प्यारो माइतीघर’मा माला सिन्हा नाचेकी थिइन् । त्यही गीतमा अहिले उपासना र श्यामाश्री शेर्पाले ठुम्का लगाएका छन् । दर्शकको नोस्टालजिया पनि जोडिएकाले यो चलचित्र दर्शकका लागि प्रतिक्षित बनेर गएको छ ।

‘हरिबहादुरको जुत्ता’ पनि दर्शकको नोस्टालजियासँगै जोडिएको चलचित्र हो । टेलिभिजनमा दर्शकसँग परीचित हरिवशं आचार्यले निर्वाह गरेको बहुचर्चित पात्र ‘हरिबहादुर’को विस्तारित रुप हो यो चलचित्र । चलचित्रले दर्शकलाई नोस्टालजियामा मात्रै नलग्ने, भरपूर मनोरन्जन दिने निर्माण पक्षको दाबी छ । हरिवंशको अलवा स्वस्तिमा खड्का, प्रकाश सपूत लगायत कलाकार पनि छन् ।

त्यस्तै ‘बलिदान’ ठूलो क्यानभासमा निर्माण गरिएको चलचित्र हो । बलिउड र साउथबाट प्राविधिक ल्याएर निर्माण गरिएको यस चलचित्रले सिनेम्याटिक एक्सपेरियन्स दिने निर्माण पक्षको दाबी छ । यो चलचित्रको अर्को आकर्षण हो, अभिनेता समीर भट्ट । गत वर्षको ब्लकबस्टर ‘१२ गाउँ’बाट चर्चामा आएका समीरको दोस्रो चलचित्र भएकाले पनि ‘बलिदान’ प्रतिक्षित छ ।

यी तीन प्रतीक्षित चलचित्र फूलपातिमा प्रदर्शन हुने भएकाले बक्स अफिसमा रोचक भिडन्त हुने देखिन्छ । घरेलु बक्स अफिसको बजार सानो भएकाले तीन चलचित्रबीच दर्शक तान्न कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसै पनि चलचित्र विकास बोर्डको तथ्यांक अनुसार नेपालमा १६५ वटा मात्रै हलहरु छन् । यी हलहरुमा चानचुन छ सयको हाराहारीमा दैनिक शोहरु वितरण गर्न सकिन्छ । त्यसैले करोडौं लगानी गरिएका यी चलचित्रले सानो बजारमा सघन प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

तीन चलचित्रको आ–आफ्नै विशेषता भएकाले तिनै चलचित्र चल्नुपर्ने ‘माइतीघर’का निर्माता रोहित अधिकारी बताउँछन् । अन्य दुई चलचित्र पनि नेपाली चलचित्र नै भएकाले सबै चलचित्र चल्नुपर्ने र विदेशी चलचित्रसँग भिड्नुपर्ने उनको भनाइ छ ।

‘दशैंमा तीनवटा चलचित्र भनेको सामान्य हो । अब हाम्रो चलचित्र राम्रो छैन भने हाम्रो व्यापार कम हुन्छ । राम्रो नभएकाले नै चलचित्र नचल्ने हो, अगेराबगेरा बहाना हुँदैन,’ अधिकारीले भने, ‘दर्शकले स्वीकार गर्नुभयो भने ठिकै छ । उहाँहरुको अस्वीकार्य पनि हामीलाई स्वीकार्य छ । हामीले आफ्नो ठाउँबाट राम्रो कोसिस गरेका छौँ। जुधाएकाले गर्दा चलचित्र चलेन भनेर रोईकराई गर्ने पक्षमा हामी छैनौँ।’

‘हरिबहादुरको जुत्ता’का निर्देशक सरोज वली पनि सबै चलचित्रको दर्शक आ–आफ्नै हुने भएकाले तनाव नभएको बताउँछन् । सबै दर्शकले आ–आफ्नो हिसाबले चलचित्र छानेर हेर्ने भएकाले आफूहरुलाई केही सुर्ता नभएको बताए । ‘बलिदान’का निर्माता तथा निर्देशक सन्तोष सेन पनि आफूहरु कुनै प्रतिस्पर्धामा नभएको बताउँछन् । आफूहरुले नेपाली माटो र धरातललाई साक्षी राखेर चलचित्र बनाएको तर, अन्य चलचित्रहरुसँग लडाइँ गर्ने उद्देश्यले फूलपातिको प्रदर्शन मिति नराखिएको बताउँछन् ।

उनले भने, ‘समीर भट्ट १० वर्ष सिकेर १२ गाउँबाट चलचित्र क्षेत्रमा प्रवेश गरेको हिरो हो । ऊसँग हिरोमा हुनुपर्ने हरेक गुण छ । हामीले अन्तर्राष्ट्रिय प्रविधिमा नेपाली माटो र आमाको मुद्दालाई उठाएका छौं । मेकिङवाइज पनि एकदमै मिहेनत गरेका छौं, तर हामीले आफ्नो धरातल बिर्सिएका छैनौं, माटोको सुगन्ध बिर्सिएका छैनौं ।’ आफू दशैं कहिले आउला भनेर उत्साहित रहेको सेनले बताए ।

फूलपातिमा एकै दिन प्रदर्शन हुन यी तीन चलचित्रहरु हेर्नैपर्ने कारण के के हुन् त ? अधिकारी, वली र सेनले हामीलाई पाँच पाँच कारण बताएका छन् –

अधिकारीका अनुसार ‘माइतीघर’ हेर्नैपर्ने ५ कारण–

– यो पारिवारिक र सामाजिक चलचित्र हो, दशैं बिदाको राम्रो सदुपयोग हुनसक्छ
– माग्ने बूढा, प्रकाश सपुत, धिरज मगरजस्ता स्टार कलाकार एउटै चलचित्रभित्र छन् । सबैको भूमिका महत्वपूर्ण छ ।
– सहरिया बन्ने चक्करमा मौलिक संस्कृति बिर्सँदै गएको पुस्ताका लागि ‘माइतीघर’ अर्थपूर्ण छ । तामाङ समुदायको संस्कृतिलाई त गम्भीर तरीकाले प्रस्तुत गरिएको छ ।
– ५९ वर्ष अगाडिको ‘माइतीघर’को इमोसनलाई ठ्याक्कै पक्रिएका छौँ । त्यो इमोसनले दर्शकलाई च्वास्सै छुने गरी कथा भनेका छौँ ।
– कालजगी गीत ‘मेरो प्यारो माइतीघर’लाई प्रस्तुत गरेका छौँ ।

वलीका अनुसार ‘हरिबहादुरको जुत्ता’ हेर्नैपर्ने ५ कारण –

– दर्शकको नोस्टालजियामा कहिल्यै नमेटिने गरी बसेको बहुचर्चित पात्र हरिबहादुरलाई ठूलो पर्दामा हेर्न ।
– परिवारका सदस्यहरु एकै ठाउँमा बसेर दशैं बिदाको सदुपयोग गर्न ।
– टिकटको पैसा भरपूर मात्रामा असूल गर्न, भरपूर मात्रामा मनोरन्जन लिन ।
– सामाजिक र पारिवारिक कथाको सरल र मन छुने प्रस्तुति हेर्न ।
– हरिवंशको जीवन्त अभिनयको स्वाद चाख्न । साथै स्वस्तिमा, प्रकाशको फरक स्वादको अभिनय हेर्न ।

सेनका अनुसार ‘बलिदान’ हेर्नैपर्ने ५ कारण –

– बलिउड र साउथमा प्रयोग हुने प्रविधिमा नेपाली माटोको सुगन्ध बोकेको चलचित्रको स्वाद लिन ।
– ठूलो क्यानभासमा गरिएको एक्सपेरिमेन्ट हेर्न, भव्य सेटअपमा सृजना गरिएको नयाँ दुनियाँ हेर्न ।
– समीर भट्टले अभिनयमा गरेको मिहेनत हेर्न ।
– आमालाई जिउँदो भगवान ठान्नेले मातृत्व र समर्पण थाहा पाउन ।
– ‘बलिदान’ सिंगो देशको मुद्दा हो । देशमा जनताहरुलाई धेरैपटक नेताहरुलाई भोटको रुपमा मात्रै प्रयोग गरेका छन् । नेताहरुको यस्तो प्रवृत्तिबाट आजित भएपछि युग पुरुष कसरी जन्मन्छ, त्यो हेर्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *