‘जेरी अन टप’ को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक, भिडियाेमा अनमोल र आँचलको रोमान्स

काठमाडौं । यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’ को पहिलो गीत सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारी निर्माण कम्पनी ‘अनन्या फिल्मस्’ले सोमबार चलचित्रको ‘कस्तूरी’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानसम्मका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको छ। भिडियाेमा अनमोल र आँचललाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ।

आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीतलाई संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अर्का अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख भूमिकामा छन् । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो चलचित्रको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् ।

सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित यो चलचित्रको कथा हेमराज बिसीले लेखेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *